राष्ट्रघाती सम्झौताहरु हुने संकट टरिसकेको छैन:४ कम्युनिस्ट पार्टी

डेली न्युजराप्ती       १५ श्रावण २०७९ ०८:१६ मा प्रकाशित     196 No Comments


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेपालका श्रमिक जनता, देशभक्त शक्ति तथा क्रान्तिकारी शक्तिहरूको संघर्षको कारण राष्ट्रघाती एसपीपी सम्झौता पारित गर्न राज्य असफल भएको र बाध्य भएर अमेरिकी सरकारलाई पत्र लेख्न पुगेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताका पक्षमा संघर्ष गर्ने सबै शक्तिहरूलाई धन्यवादसमेत दिएका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ ले आज एक संयुक्त बिज्ञप्ति जारी गर्दै सबैलाई धन्यवाद दिएका हुन्। साथै उनीहरुले राज्यलाई कुनै पनि स्थितिमा राष्ट्रघाती सम्झौतामा नफस्न र नगर्न चेतावनी दिएका छन।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले जारी गरेको संयुक्त बिज्ञप्ति यस प्रकार रहेको छ – ‘आज मिति २०७९ श्रावण१४ गते हामी जिम्मेवार चार कम्युनिस्ट पार्टीले एसपीपी (राज्य स्तरीय सैन्य साझेदारी कार्यक्रम) लाई खारेज गर्न यो प्रेस विज्ञप्ती जारी गरेका छौं।
१) हामी चार जिम्मेवार कम्युनिस्ट पार्टीहरू विगतका एमसीसी विरोधी संघर्षदेखि राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेकाछौं । सवैलाई थाहा छ, राष्ट्रघाती एमसीसी सम्झौतापछि अमेरिकी साम्राज्यवाद नेपालमा सेना भिœयाउने वैधानिकता खोजिरहेको छ र यो उद्देश्यले जसरी पनि एसपीपी पास गराउन चाहन्छ । यसको लागि दोस्रो पटक यही श्रावण १२ गते दक्षिण एशियाली मामिला हेर्ने अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु नेपाल आएका छन् र राजनीतिक तथा कुटनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । हामी चार जिम्मेवार कम्युनिस्ट पार्टी यो हस्तक्षेपको घोर विरोध गर्दछौं ।
२. नेपालका श्रमिक जनता, देशभक्त शक्ति तथा क्रान्तिकारी शक्तिहरूको संघर्षको कारण राष्ट्रघाती एसपीपी सम्झौता पारित गर्न राज्य असफल भएको छ र बाध्य भएर अमेरिकी सरकारलाई पत्र लेख्न पुगेको छ । यसका लागि राष्ट्रिय स्वाधीनताका पक्षमा संघर्ष गर्ने सबै शक्तिहरूलाई हामी धन्यवाद दिन चाहन्छौं । साथै राज्यलाई कुनै पनि स्थितिमा यो राष्ट्रघाती सम्झौतामा नफस्न र नगर्न चेतावनी दिन चाहन्छौं ।
३. गठबन्धन सरकारले विगतमा पनि एमसीसी सम्झौता यसरी नै षड््यन्त्रपूर्ण ढंगले पास गर्न पुगेको हो । अहिले पनि नेपाल सरकारले बाध्यतामा अमेरिकी सरकारलाई चिठ्ठी लेख्न पुगेको छ । साम्राज्यवादी अमेरिकाले कुनै पनि हालतमा नेपाललाई आफ्नो प्रभुत्वभित्र लिने रणनीति अन्तर्गत कामहरू गरिरहकोले राष्ट्रघाती सम्झौताहरू हुने संकट टरिसकेको छैन । यस स्थितिमा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षका पक्षधर क्रान्तिकारी कम्युनिस्ट, देशभक्त सबै नागरिकहरूमा सचेत र जागरुक भइरहन हार्दिक आग्रह गर्दछौं । साथै, हामी चार कम्युनिस्ट पार्टीले चलाइरहेको संघर्षमा सक्रिय सहभागी बन्न र यो राज्यसत्ताको विकल्प निर्माणमा सहयोगी हुन विशेष अपील गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार