क्रोएसियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।
कतारको लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरी क्रोएसियालाई ३–० ले निराश पार्यो । २०१४ पछि अर्जेन्टिना फाइनल पुगेको हो । ब्राजिलमा भएको सन् २०१४ को फाइनलमा अर्जेन्टिना जर्मनीसँग भिडेको थियो ।
अर्जेन्टिनाले अब उपाधिका लागि भोलि मध्यरात हुने फ्रान्स र मोरक्कोबीचको विजेतासँग आउँदो आइतबार भिड्नेछ ।
सन् १९८६ मा विश्वकप जिते यता अर्जेन्टिना उपाधिविहीन छ । सर्वकालीन महान् खेलाडी मानिएका लियोनल मेसीले पुनः एकपटक आफ्नो सपना साकार पार्ने अवसर पाएका छन् ।
यो अवसर सिर्जना गर्न मेसी आफैँको पनि निकै ठूलो मेहनत लागेको छ । आज क्रोएसियालाई सेमिफाइनलमा पन्छाउन पनि मेसीले उत्कृष्ट खेल प्रदर्शन गरे ।
३४औँ मिनेटमा मेसीको पेनाल्टीबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । लगत्तै ३९औँ मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।
क्रोएसियाले प्राप्त गरेको फ्रिकिक सटिक हुन नसक्दा प्राप्त गरेको बल लिएर मेसी अघि बढेका थिए । उनले पास दिएको बललाई करिब मध्यभागबाट एक्लै अघि बढाउँदै अल्भारेजले गोल गरेका थिए ।
अल्भारेजले नै ६९औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा देशका लागि तेस्रो गोल गरे । क्रोएसियाका डिफेन्डरहरूलाई छक्याउँदै मेसीले दिएको उत्कृष्ट पासमा अल्भारेजले गोल गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.