बुटवलमा नेकपाको राजनितिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       २५ श्रावण २०७८ ०६:१४ मा प्रकाशित     630 No Comments


प्रतिबन्धको बेला राज्यद्वारा बन्दी बनाइएका १० राजबन्दीहरूलाई सम्मान
प्रदीप राहादी मगर,बुटवल । नेपाल कम्युनिस्ट पार्टी बुटवल उप–उपमहानगरपालिका रुपन्देहीको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त कार्यक्रममा प्रतिबन्धको बेला राज्यद्वारा बन्दी बनाइएका १० राजबन्दीहरूलाई सम्मान समेत गरिएको थियो ।प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले अहिले जनताको अपेक्षा निर्विकल्प वैज्ञानिक समाजवाद भएको बताए । उनले वैज्ञानिक समाजवादबिना किसान, मजदुर, सुकुम्बासी, युवा, विद्यार्थी लगायतका समस्याहरू र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत जनसरोकारका विषयहरू समाधान नहुने बताए । उनले समाजमा भइरहेका तमाम विकृति, विसङ्गति, हत्या, हिंसा र युवाहरूमा पैदा भएको निराशाजनक परिस्थिति दलाल संसदीय व्यवस्थाको उपज भएको बताउँदै यसको निस्तेज पार्नुपर्ने बताए । कृतिले शैक्षिक माफिया, भूमाफिया, मेडिकल माफियाहरूलाई जनकारबाही र वैदेशिक हस्तक्षेप तथा सिमा अतिक्रमणविरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्ने धारणा व्यक्त गरे । उनले दलाल संसदीय व्यवस्थाले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, र जनजीविकाको समस्या समाधान नगर्ने बताए । उनले उत्पीडित जनताको मुक्ति र विकास तथा समग्र मानव सभ्यताको विकास र जनताको व्यवस्था नै वैज्ञानिक समाजवाद भएको बताए ।नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले जनमत सङ्ग्रह पनि एउटा शान्तिपूर्ण क्रान्ति भएको बताउँदै जनताले वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको पक्षमा मत दिने विश्वास व्यक्त गरे । उनले संसदीय व्यवस्थाले जनता आक्रान्त भएको बेला जनमत सङ्ग्रहले निकास दिने बताए । विश्वासले पुँजीवादलाई बचाउन उत्तर साम्राज्यवादद्वारा अगाडि सारिएको दीर्घकालिन सुरक्षा रणनीति एमसीसी भएको बताउँदै आफ्नो पार्टीले यसको शसक्त प्रतिकार गर्ने बताए । उनले वैदेशिक हस्तक्षेप आफूहरूलाई स्वीकार्य नभएको बताउँदै त्यसको विरुद्ध निर्मम सङ्घर्ष गर्ने, संसद्वादी दलालहरूलाई निस्तेज पार्ने र देशमा जनताको व्यवस्था अर्थात् वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए ।

नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल नगर सेक्रेटरी विरेन्द्र विकले सर्वपक्षिय राजनैतिक समिक्षा सभा गर्दै सबै राजनीतिक पार्टीले आफ्ना कमजोरीबाट शिक्षा लिएर प्रगतिशील संयुक्त सरकार निर्माण गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए । उनले वैज्ञानिक समाजवाद ठिक कि दलाल संसदीय व्यवस्था ठिक भन्ने विषयमा जनमत सङ्ग्रह गराएर जनतालाई देशमा कस्तो व्यवस्था चाहिन्छ भनेर फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने बताए । उनले संसदीय व्यवस्थाले देशमा भ्रष्टाचार, महँगी, हत्या, हिंसा बढेको भन्दै सुशासन र समृद्धिका लागि संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य भएको बताए । नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य नविन थारूले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउनु गलत साबित भएको बताउँदै अहिले संसद्वादी दल र दलका नेताहरूले घुँडा टेकेको बताए । उनले जेल र हिरासतका आफ्ना अनुभूतिहरू सुनाउँदै जेल र हिरासत पनि एउटा क्रान्तिको बाटो तय गर्ने नयाँ मोर्चा भएको बताए । उनले क्रान्तिकारीहरू जस्तोसुकै कठिन परिस्थितिको पनि सामना तयार रहनुपर्ने बताउँदै दृढतापूर्वक एकीकृत जनक्रान्तिको कार्यदिशामा इमान्दार भएर समाहित हुन अपिल गरे ।सहिद परिवारकी मिना पौडेलले प्रचण्ड–बाबुरामहरूले सहिदहरूको सुन्दर सपनाहरूमाथि कुठाराघात गरेको बताइन् । उनले नेपाली कम्युनिस्ट आन्दोलमा वर्गीय मुक्ति, जातीय मुक्ति, राष्ट्रिय स्वाधीनताका निमित्त सहादत प्राप्त गरेका सहिदहरूको उच्च मूल्याङ्कन गर्दै एकीकृत जनक्रान्तिले उनीहरूको सपना साकार पार्ने विश्वास व्यक्त गरे ।उक्त प्रशिक्षण कार्यक्रममा नेकपाका जिल्ला स्तरीय नेता–कार्यकर्ताहरू, युवा, विद्यार्थी, बुद्धिजीवि, सञ्चारकर्मी लगायतको ठूलो मात्रामा उपस्थिति रहेको बताइएको छ । नेकपाका रुपन्देही जिल्ला सदस्य तथा बुटवल नगर सेक्रेटरी विरेन्द्र विकको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रेखा खनालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार