काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएयता पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका हुन् । पौडेल २०७९ फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
आज राति मुटुमा समस्या देखा परेपछि शनिबार बिहानै उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ । उनका स्वकिय सचिव चिरञ्जिबी अधिकारीका अनुसार राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएको छ । चिकित्सकको निगरानीमा रहेका पौडेलको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिएका छन् ।
तीन दिन अघि पनि राष्ट्रपति पौडेललाई शहिद गंगालाल हृदय रोग केन्द्र, बाँसबारी लगिएको थियो । मुटुमा समस्या देखा परे पछि गंगालाल लगिएका पौडेलको त्यहाँ दुई दिनसम्म उपचार गरिएको थियो । डिस्चार्ज हुनु अघि सो अस्पतालको निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।
गत बैशाख ६ गते उनको नयाँदिल्लीको न्याम्स अस्पतालमा भर्ना गरिएको थियो । दुई सातासम्म नयाँदिल्लीमा उपचार गरेर फर्केका राष्ट्रपति पौडेलको छात्तिमा जमेको पानीमा संक्रमण फैलिएपछि एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको हो । उनले नयाँ दिल्ली जाँदा लागेको खर्च आफैले ब्योर्होनेसमेत जनाएका थिए ।
नयाँ दिल्ली जानुअघि राष्ट्रपति पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । छात्तिमा संक्रमण देखा परे उनलाई अस्पताल भर्ना गरिएको हो ।
सो अघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षण गरिएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.