चिसोले कठ्यांग्रिएर सर्लाहीमा ४ र सप्तरीमा १ गरी ५ जनाको मृत्यु भएको छ । एक साताअघि सर्लाहीको बसबरिया गाउँपालिका–५ मा ७९ वर्षीया श्रीपतीदेवी पासवानको मृत्यु भएको परिवारजनले जनाएको छ । त्यसअघि हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय रामभगत माझी र हरिपुर–९ पिडारीका ४० वर्षीय रमेश माझीको चिसोले ज्यान गएको थियो । यस्तै हरिवन बजारमा मागेर खाने करिब ६५ वर्षीय एक पुरुषको पनि कठ्यांग्रिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यालादारीमा मजदुरी गर्ने सर्लाही कविलासी नगरपालिका–७ गैरकी शान्ति माझी चिसोकै कारण काममा जान सकेकी छैनन् । ‘अत्यधिक चिसो छ, काम खोज्न जाने हिम्मत पनि छैन,’ उनले भनिन्, ‘काम नपाएकाले बालबच्चाको पालनपोषणमा समस्या भइरहेको छ ।’ उनले घरमा आगोको सहारामा चिसो छलिरहेको बताइन् । अति विपन्न, मुसहर तथा डोम समुदायले चिसोबाट बच्न जुटको बोरा जोडेर भित्र पराल हाली सिरक तथा डसना बनाएका छन् । उनीहरू जाडोबाट बच्नका लागि परालले बुनेको चटाइ तथा पराल राखेको सिरक ओढ्ने गर्छन् । घाम नलागेकाले पराल सुकाउनसमेत नसकिएको स्थानीय मरणीदेवी माझीले बताइन् । ‘चिसोले ओछ्यानमा हालेको पराल ओसिएको छ, घाम नलागेकाले सुकाउन सकिएको छैन,’ उनले भनिन्, ‘दिउँसो त जेनतेन कटाउँछौं, रात त कटाउनै मुस्किल छ ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.