नेपाल एसिया कपमा छनोट , खुसियालीमा घोराहीको भिएन स्कुलद्वारा बिजय र्याली

डेली न्युजराप्ती       १९ बैशाख २०८० १५:४९ मा प्रकाशित     174 No Comments

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ । सोमबार र मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सोमबार टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । खेल स्थगित भएपछि मंगलबार त्यहिँ अवस्थाबाट खेल सुरू भएको थियो । मंगलबार थप ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट भयो ।
युएईका लागि आसिफ खानले ५४, आर्यान लाक्राले २३, कप्तान मुहम्मद वासिमले ११ तथा वसिल हमिदले १० रन बनाए ।
नेपालका लागि ललितनारायण राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए । युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका गुल्शन झाले अविजित ६७ र भिम सार्कीले अविजित ३६ रन बनाए । युएईका लागि रोहन मुस्तफाले २ तथा आयान खानले १ विकेट लिए ।
युएईलाई पराजित गरेर नेपालले पहिलो पटक एसिया कप खेल्ने भएको छ । एसिया कपमा स्थान बनाएको नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता नेपाल समूह ‘ए’ मा तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।

क्रिकेटमा नेपालले सानदार जीत निकालेको भन्दै भिएनद्वारा घोराहीमा विजयी र्‍याली
दाङको घोराही – १५ मा रहेको भिएन स्कुल एण्ड कलेजले एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईविरुद्ध नेपालले सानदार जित हासिल गरेको खुसीयालीमा विजयी र्‍याली निकालेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको खुसीयालीमा स्कूलले घोराहीमा विजयी र्‍याली निकालेको हो ।कोणसभालाई सम्बोधन गर्दै भिएन स्कुल एण्ड कलेजका प्रवन्ध निर्देशक द्रोणले नेपालमा नेपाली क्रिकेट खेलाडीहरुले क्रिकेट खेलमा एतिहासिक शानदार जित हासिल गर्दै एसिया कपमा छनोट भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । उनले खेल र शिक्षा एक आपसमा परिपुरक भएको भन्दै हरेक विद्यार्थीहरुले खेलसँगै पढाइलाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।
विद्यार्थी स्वस्थ र तन्दुरुस्त भएमात्र मनसिक रुपमा पढाइलाई राम्रो बढान सक्ने भन्दै प्रवन्ध निर्देशक खड्काले विद्यार्थीलाई खेलकुदमा सक्षम बनाउनका लागि विद्यालयमा खेलकुद शिक्षकको व्यवस्था गरेको र विद्यार्थीहरुलाई यस्तै ब्यबहारिक क्रियाकलाप सहभागी गराउदै लैजाने बताए । आजको खेलबाट विद्यार्थीहरुले केही सिक्नुपर्ने र खेलबाटै समाज, जिल्ला र राष्ट्रलाई चिनाउन सके आफ्नो सफलता मिल्नेसँगै विद्यालयको लक्ष्य समेत पूरा हुने खड्काको भनाइ थियो ।
विद्यालयकै प्रांगणबाट सुरु भएको उक्त विजयी र्‍याली बजारका विभिन्न ठाउँमा परिक्रमा गर्दै विद्यालयमै पुगेर कोणसभामा परिणत भएको थियो । उक्त र्‍यालीमा विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो ।
उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार