के हो राप्ती प्रादेशिक अस्पतालको डाइलासिस विवाद?कांग्रेसका हमाल र एमालेका वलीले दिए यस्तो चेतावनी!

डेली न्युजराप्ती       ६ जेष्ठ २०८० १०:१२ मा प्रकाशित     217 No Comments

जेष्ठ ६ , तुलसीपुर । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ओम प्रसाद अर्याललाई कांग्रेस र एमालेका नेताहरुले कडा चेतावनी दिएका छन् ।
मेसु अर्यालले अस्पतालमा रहेका डाइलासिस मेसिन मध्य ३ वटा मेसिन नेपालगञ्ज मेडिकल कलेजलाइ दिएको खुलेपछी कांग्रेस र एमालेका नेताहरुले चेतावनी दिएका हुन्।

नेकपा एमालेका नगर कमिटी अध्यक्ष माधव वलीले राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा. ओम प्रसाद अर्यालले अस्पतालको हित विपरित काम गरेको बताएका छन् ।
तुलसीपुरका केहि सिमित मेडिकल माफियाकाे घेराबन्दीमा परेर पदको दुरुपयोग गर्दै मनपरि गरिरहेको सूचना आफुले प्राप्त गरेको बताउँदै तुलसीपुर उपमहानगरका प्रवक्ता समेत रहेका वलीले सचिन आग्रह गरेका छन् । हजारौ जनताको आशा र भरोशाको केन्द्र रहेको अस्पताललाई वेवास्ता गरेर निश्चि व्यक्तिलाई पोष्ने काम गरेकाले आफुहरु टुलुटुलु हेरेर बस्न नसक्ने वलीले बताएका छन्।
‘उहाँलाई जिम्मेवारी दिएको अस्पतालको प्रशासनीक कार्य सुधार गर्नलाई हो । छिटोछरितो सहज रुपमा जनतालाई उपचार सेवा दिनलाई हो । डाक्टर ११ बजे आएर १२ बजे घर जाने प्रवृतिको अन्त्य गर्नलाई हो । सरकारको तलब खाएर निजी मेडिकलमा बोलाउने रोगको अन्त्य गर्नलाई हो । नकि अस्पतालमा भएका उपकरण बाहिर वितरण गर्नलाई मेसुको जिम्मेवारी दिइएको होइन् ।’ अध्यक्ष वलीले भने ।
अत्यन्तै संवेदनशिल मानिने मिर्गौला रोगिहरुको उपचारलाई थप व्यवस्थित गर्न छाडेर उपकरण बाड्ने मेसुबाट अस्पतालको उन्नती र प्रगति हुन नसक्ने अध्यक्ष वलीको निश्कर्ष छ । कुनै समन्वयबिना अस्पतालमा गरिएको मनपरितन्त्र प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताउँदै वलीले अस्पतालको बाधक नबन्न आग्रह गर्दै मार्ग प्रसस्त गर्न आग्रह समेत गरेका छन् ।

के भन्छन् कांग्रेस तुलसीपुर नगर सभापति शुरेश हमाल?
नेपाली काँग्रेसका नगर सभापति सुरेश हमालले डाइलासिसकाे उपचार नपाएर मिर्गाैलाका बिरामीहरुले ज्यान गुमाइरहेका बेला अस्पतालमा आएका मेसिन अन्यत्र दिनु गैरजिम्मेर कार्य भएको बताएका छन् । राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. ओम प्रसाद अर्यालले तीनवटा डाइलासिस मेसिन नेपालजञ्ज मेडिकल कलेजलाइ दिएको कुरा बाहिर आएपछि सभापति हमालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

संवेदनशील विषयमा गम्भिर नबन्नु अस्पताल प्रशासन र विकास समितिको चरम लापरबाही भएको सभापति हमालले बताएका छन् । उपकरणहरु ल्याएर अस्पताललाई थप व्यवस्थित गर्दै बिरामीको उपचार गर्नुको साटो उल्टै भएका उपकरण अन्यत्र दिनु तुलसीपुरबासी सहित सिंगो दाङबासी माथिको कुठाराघात भएको हमालले बताएका छन् ।

सरकारले दिएका उपकरण बाहिर गएको कुरा संचारमाध्यम मार्फत जानकारी पाएको बताउँदै नगर सभापति हमालले जसरी दिएको हो त्यसैगरी तत्काल डाइलासिस मेसिन फिर्ता ल्याएर यथासिघ्र सेवा विस्तार गर्न उनले माग समेत गरेका छन्। जनताको पहलमा स्थापना भएको अस्पतालका सम्पति मनपरी ढंगले बाड्ने अधिकार मेसुलाई नभएको उनको भनाई छ ।

के छ अस्पताल विकास समितिको प्रतिक्रिया?
राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. ओम प्रसाद अर्यालले अस्पताल विकास समितिको निर्णयविना डाइलासिस मेसिन नेपालगंज दिएको खुलाशा भएको छ । उनले चिठ्ठीको भरमा ३ वटा डाइलासिस मेसिन नेपालगंज मेडिकल कलेजलाई दिएका थिए । अस्पताल विकास समितिमा लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदले अध्यक्ष र एक जना महिला सदस्य सहित २ नियुक्त गर्ने कानुनी व्यवस्था छ भने सम्बन्धित पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी र मेसु पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

सोही मुताविक गठन भएको अस्पताल विकास समितिमा अध्यक्ष पदम प्रसाद न्यौपाने, सदस्य भागवती शर्मा, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खडका र प्रमुख जिल्ला अधिकारी पदेन सदस्य र मेसु डा.ओम प्रसाद अर्याल सदस्य सचिव रहने व्यवस्था छ । निमित्त प्रमुख अर्यालले विकास समितिबाट निर्णय नगराएरै डाइलासिस मेसिन दिएपछि अहिले उनको तिब्र आलोचना भइरहेको छ । अस्पताल विकास समितिका पदेन सदस्य समेत रहेका तुलसीपुर उपमहानगरपालिका नगर प्रमसख टीकाराम खड्का र तत्कालीन प्रमुख जिल्ला अधिकारी(सिडीयो) हिरालाल रेग्मीलाई समेत यो विषयमा थाह छैन ।

यता राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले पनि विकास समितिको निर्णयविना नै डाइलासिस मेसिन दिएको स्वीकार गरेका छन् । ‘स्वास्थ्य विभागबाट डाइलासिस मेसिन दिने भनेर दबाब आएको छ । स्वास्थ्यमन्त्रीले पनि भन्नु भएको छ । अध्यक्ष ज्यु मेसिन नेपालगञ्ज पठाउनु पर्ने भयो भनेर मलाई निमित्त मेसु ओम अर्यालले फोन गर्नुभयो । त्यतिबेला म जिल्ला बाहिर थिए । सबैले दिनुपर्छ भनेको भए मैले एक्लै रोकेर रोकिने कुरा पनि भएन । दिने भए दिने त हो भनेको हुँ। अहिले पछुतो लागेको छ ।’ अध्यक्ष न्यौपानेले भने ।
निमित्त मेसु अर्यालले सबै चाजोपाजो मिलायर २०७९ मंसिर २३ गते नेपालगञ्ज मेडिकल कलेजलाई चिठ्ठीको भरमा ३ वटा डाइलासिस मेसिन दिएका थिए ।

तत्कालिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २०७९ साउन १६ गते पठाएका डाइलासीस मेसिन मध्य ३ वटा नेपालगञ्ज मेडिकल कलेजलाई २०७९ मंसिर २३ गते अर्यालले दिएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार