आहुतिसितको सहकार्य र संयुक्त मोर्चाबारे

डेली न्युजराप्ती       २६ जेष्ठ २०८० १५:०८ मा प्रकाशित     212 No Comments

अन्तरविरोधको प्रधान पक्षलाई बुझेर आगामी रणनीति र कार्यनीति बनाउन सक्नु नै नेतृत्वको दुरदर्शिता हो’
रामलाल सी ।

क. आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल को सहकार्य र संयुक्त मोर्चा सम्बन्धि धारणा माथि हाम्रो थप धारणा ।
१) जनताले भन्दा पहिला नै परिस्थिति लाई बुझ्न सक्नु अनि त्यही अनुसार रणनीति र कार्यनीति बनाएर अघि बढ्न सक्नु नै कुशल नेतृत्वको क्षमता हो । प्रचण्ड र बाबुराम लगायतका साथीहरूले २०६४ सालमा जुन राजनीतिक बाटो लिइरहनु भएको थियो त्यसले कालान्तरमा पार्टीलाई एमाले पथमा लान्छ भन्ने कुरा हामीले २०६४ सालमा नै बुझेर पार्टीलाई क्रान्तिकारी बाटोमा हिंडाउन अंतरसंघर्ष गरिरहेका थियौँ तर यही कुरा क. आहुती लगायतका साथीहरूले १० वर्ष पछि २०७४ मा माओवादी र एमालेको एकता भैसके पछि मात्र बुझ्नुभयो जतिखेर सामान्य जनताले पनि सजिलै बुझ्न सक्थ्यो ।

२) आजको साम्राज्यवाद लेनिन र माओको पालामा जस्तो उपनिवेश तरिकाले प्रत्यक्ष आउँदैन । यो विभिन्न आर्थिक प्रोजेक्ट, विकास निर्माण, आर्थिक लगानी, गैरसरकारी संस्था, ऋण-अनुदान, धर्म-संस्कृतिको प्रचार एवं राजनीतिक-प्रशासनिक-नागरिक समाज-उद्दोगीहरु लगायतका व्यक्तिहरुलाइ दलाल बनाएर आदि माध्यमबाट आउँछ । यति मात्र होइन आज नेपालमा अमेरिकी साम्राज्यवाद सैन्य माध्यमबाट पनि आइसक्यो । स्वभाविक रुपमा साम्राज्यवादले नेपालमा रहेका सबै संसदवादी पार्टीहरुलाइ आफ्नो दलालीमा लपेटेकाे छ तर यति हुँदाहुदै पनि उसको प्रधान र सहायक दलालहरु रहेका र हुन्छन भन्ने कुरा माओको अन्तरविरोधको नियम अनुसार बुझ्न सक्नुपर्दछ । अहिले अमेरिका आफ्नो असली दलाल पार्टी र नेतालाई मात्र बचाएर अरु सबै सहायक दलाल पार्टी र नेताहरूलाई सिद्द्याउन लागेको छ । सहकार्य र संयुक्त मोर्चा निर्माणको प्रश्न आज देश र जनताको अस्तित्व र रक्षाको प्रश्न मात्र होइन कि प्रधान दलाल बाहेक अन्य संसदवादी पार्टी र नेताहरूको पनि अस्तित्व रक्षाको प्रश्न भैसक्यो । किनकि अमेरिकाले आफ्नो स्वभाविक नियत र नीति अनुसार के भनिसक्यो र गर्दैछ भने या त मेरो भनेको मान नत्र सिद्दिनको लागि तयार होऔ । आजको विकसित राजनीतिक परिस्थिति र अन्तरविरोधको प्रधान पक्षलाई बुझेर आगामी रणनीति र कार्यनीति बनाउन सक्नु नै नेतृत्वको दुरदर्शिता हो र हुनुपर्दछ ।

३) क. आहुतिले अहिले हामीले निर्माण गर्न खोजेको साम्राज्यवाद विरुद्धको समाजवादी मोर्चालाई प्रतिक्रान्तिकारी र संसदवादको पुच्छर बन्न खोजेको भन्नुभएको रहेछ । हो क्रान्तिकारीहरुले संयुक्त मोर्चा र सहकार्यको राजनीतिक रणनीति र कार्यनीतिहरु अगाडि बढाउदा दक्षिण वा वामपन्थी अतिमा गएर सिद्दिने खतरा पनि रहन्छ । क्रान्तिकारीहरु दक्षिणपन्थी मात्र होइन वामपन्थी संकिर्ण घेरामा रहेर केही नगरेर सिद्दिने खतरा पनि रहन्छ । प्रतिक्रान्ती र संसदवाद्को पुच्छर हुने खतराबाट पनि बच्नु पर्दछ तर शुद्ध क्रान्तिकारी हुने नाममा कसैसँग छलफल नगर्ने, सहकार्य र संयुक्त मोर्चा नगर्ने हो भने हामी जनताबाट कटेर सानो समूह भएर सिद्दिने खतरा पनि रहन्छ । क्रान्तिकारीहरुले सहकार्य संयुक्त मोर्चा सम्बन्धि विगतका बनिबनाउ तरिका र भाष्यबाट माथी उठ्नु पर्दछ । हामीले जसरी सोच्दछौं त्यसरी नै अरुले सोचे पछि र गरेपछि मात्रै सहकार्य र संयुक्त मोर्चा गर्ने तरिका अपनाउने हो भने त कहिले पनि बन्दैन संयुक्त मोर्चा । आज देश र जनताको आवश्यकता के हो भन्ने आधारमा सहकार्य र संयुक्त मोर्चा निर्माण हुन्छ र हुनुपर्दछ । यसका लागि केही त्याग र खतरा मोल्न पनि तयार हुनुपर्दछ । राजनीतिक लाइन र आफ्नो शक्ति बलियो नभएमा पुच्छर हुने समस्या आउन सक्छ तर यदि आफ्नो राजनीतिक लाइन र शक्ति छ भने चिन्ता गर्नुपर्दैन । सहकार्य र संयुक्त मोर्चा निर्माण गर्दा लेनिन र माओहरुले पनि यसप्रकारका आरोप यतिसम्म कि देशद्रोही सम्मका आरोपहरु खेप्नुपरेको इतिहास रहेको छ ।४) साथीहरूले सहकार्य र संयुक्त मोर्चा त छोड्नु भयो तर छलफल र बहसलाइ भने नछोड्नु होला ।
धन्यवाद !

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार