फेरिएका अन्तरविरोधहरु र नेतृत्वको दूरदर्शिता

डेली न्युजराप्ती       २२ श्रावण २०८० ०७:२३ मा प्रकाशित     108 No Comments

भेषराज सी

गतिशील समाजमा राजनैतिक अन्तरविरोध पनि गतिशील नै हुन्छन । भौतिक पदार्थमा जस्तै मानिसमा पनि अनिश्चय, रक्षा र रुपान्तरणको नियम लागू भैरहेको हुन्छ । जसले गर्दा राम्रो नराम्रोमा बदलिन सक्छ भने नराम्रो राम्रोमा पनि बदलिन सक्छ । जसका कारण प्रधान अन्तरविरोधको प्रधान पक्षमा आएको परिवर्तनसँगै विगतमा प्रधानअन्तरविरोधमा रहेका शक्तिहरु सहायकमा र विगतमा सहायक अन्तरविरोधमा रहेका शक्तिहरु प्रधानअन्तरविरोधको पनि प्रधान पक्षमा आउन सक्छन । यस्तो परिवर्तनलाई सूक्ष्म ढंगबाट अध्ययन, विश्लेषण र संश्लेषण गरी सहायक अन्तरविरोध रहेकाहरुसँग प्रधानअन्तरविरोधका विरुद्ध संयुक्त मोर्चा निर्माण गर्ने विषयलाई बेलैमा पहलकद्मी लिन सक्नु नै क्रान्तिकारी नेतृत्वको दूरदर्शिता ठहर्दछ । वर्तमान समयमा फेरबदल भएका अन्तरविरोधहरुलाई देख्न नसक्नु, कार्यनीतिमा लचकता र रणनीतिमा दृढताको द्वन्द्वात्मक विधिको अवलम्बन गर्न नसक्नु र सिद्धान्तको रक्षाका नाममा अलगावमा परि बिसर्जन हुनु जडसूत्रवाद हो । त्यसैगरी कार्यनीतिक लचकताका नाममा रणनीति मै लचकदार बन्नु दक्षिणपन्थी विसर्जनवाद हो ।

उपरोक्त दुबै अतिबाट बचाउँदै र बँच्दै क्रान्तिको रथलाई अगाडि बढाउनु नै क्रान्तिकारी नेतृत्वको दूरदर्शिता हो । नेपाललको वर्तमान राजनीतिक परिवेशमा हिजोका अन्तरविरोधमा फेरबदल भएको छ । एकातिर विगतका बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई अपहरण गर्ने पक्षगामी शक्तिलाई हावी बनाउन खोजिँदै छ भने यथास्थितिवादको नेतृत्व गर्ने पुराना शक्तिको स्थानमा नयाँ शक्तिलाई साम्राज्यवादले अगाडि सारिसकेको छ । नेपालमा नेपाली जेलेन्स्कीको जन्म भैसकेको छ । विगतका जनाआन्दोलनहरु विषेश गरी महान् जनयुद्धलाई साम्राज्यवादी दलालहरु र पश्चगमनका मतियारहरुले विरोध र विद्रुपीकरणको चरण पूरा गरेर अपराधीकरण गर्ने चरणमा न्वारानदेखिको बल लगाइरहेका छन् । विगतमा परिवर्तनको नेतृत्व गरेका संगठित शक्तिहरुलाई छिन्नभिन्न पार्न साम्राज्यवादी शक्ति खुलेरै लागेको छ । अझ मुख्य रुपमा करिब ६५ प्रतिशत कम्युनिस्ट जनमतको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीहरुलाई सिध्याउन लागिपरेका छन । दलाल पुँजीवादी संसदीय व्यवस्थाको चरित्रअनुसार त्यसमा सहभागी नेताहरु कुनै न कुनै रुपले जनतामा बद्नाम पनि भएकै छन् । नेतृत्व पंक्तिले साम्राज्यवादसँग जति मिल्ने प्रयास गरे पनि आमकार्यकर्ता र समर्थक जनता साम्राज्यवादविरोधी देशभक्त रहेका छन् र समाजवादी राज्यव्यवस्थाका निम्ति कम्युनिस्ट पार्टीहरुलाई समर्थन र सहयोग गरेका छन् । तर, विगतमा परिवर्तनको नेतृत्व गरेका र जनताले अपार विश्वास गरेका नेता र पार्टीप्रति आज आमजनताले आशंका र अविश्वास मात्र होइन, घृणा र आक्रोशसमेत व्यक्त गरिरहेका छन् किनभने नेतृत्व पंक्ति दलाल पुँजीवादी संसदीय व्यवस्थाको फोहोरी आहालमा चुर्लुम्म डुबाइए र डुबे । जसका कारण जनताले नयाँ विकल्प खोजेका छन् । जनताको यो मनोवैज्ञानिकलाई पक्रेर साम्राज्यवादी शक्तिहरुले एकातर्फ पश्चगमनको आधार तयार गरिरहेका छन् भने अर्कोतर्फ व्यवस्था सही छ अवस्था फेर्ने भन्दै दलाल पुँजीवादी संसदीय व्यवस्थामा पात्र बदलेर जनतालाई वास्तविक मुक्तिबाट भ्रमित बनाउने षड्यन्त्र गरी नै रहेका छन् । साम्राज्यवादी हस्तक्षेपले सीमा नाघेको छ । नेपालको इतिहासमा राष्ट्रिय स्वाधीनताको प्रश्न अहिले जति संकटमा कहिल्यै पुगेको थिएन । भ्रष्टाचार, तस्करी, घुसखोरी र ठगीको जालो राज्य संयन्त्र मै झाङ्गिएको छ । आमसचेत युवाहरुले आफ्नो देशमा कुनै भविष्य नदेखेर विदेश पलायन भैरहेका छन् । युवाहरूमा यति धेरै निराशा छाएको छ कि १५ वर्षदेखि ३०–३५ वर्षका युवाहरूको आत्महत्याको दर कहालीलाग्दो छ ।

उपरोक्त परिस्थितिमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनविकासका मुद्दाहरुलाई समाधान गर्न, निराशा, अविश्वास र आक्रोशित जनतामा क्रान्तिकारी आशावाद र विश्वास जगाउँदै नयाँ अग्रगामी विकल्प दिन नसक्ने हो भने देशकै अस्तित्व रहने कि नरहने भन्नेसम्मको प्रश्न हाम्रो अगाडि खडा छ । अब संसदभित्र रहेका नेतृत्व पंक्तिले पनि के बुझ्नु पर्दछ भने बाख्राले बाघको जतिसुकै सेवा गरे पनि अन्तत्वगत्वा बाख्राको जीवन बच्दैन । यो दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट न त देश र जनताले मुक्ति पाउँछन् न त कम्युनिष्ट पार्टीहरु जसले यसै व्यवस्थाबाट आफ्नो लक्ष्यमा पुग्ने सोच राखेका छन् । तिनीहरु भारतको पश्चिम बंगाल हुनबाट कसैले रोक्न सक्ने छैन । उपरोक्त विषम परिस्थितिबाट देशलाई मुक्त गर्ने उद्देश्यले नै समाजवादी मोर्चा निर्माण भएको हो ।

समाजवादी मोर्चाको निर्माण कुनै कसैको मनोगत इच्छाबाट, अस्तित्वको रक्षाका निम्ति र अल्पज्ञानीहरुले पूर्वाग्रहपूर्ण लगएको आरोप जस्तो कोही कसैसँग विलय भएको पनि होइन । नेपाल क्म्युनिष्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल क्म्युनिष्ट पार्टी (समाजवादी) र जनता समाजवादी पार्टीसहित चार दलको समाजवादी मोर्चा नेपालको वस्तुगत आवश्यकता हो । विगतका उपलब्धिहरुको रक्षा गर्दै भूमण्डलीकृत पुँजीवाद र दलाल पुँजीवादी शोषण, दोहन, उत्पीडन र हस्तक्षेपको अन्त्य गर्न दलाल संसदीय व्यवस्थाबाट संभव छैन भन्ने कुरामा एकमत भएर अग्रगामी निकास समाजवादी गणतन्त्र नेपाल स्थापना गर्ने उद्देश्यबाट यो मोर्चा निर्माण भएको छ । समाजवादी गणतन्त्र स्थापना गर्नका निम्ति संघर्षका सबै मोर्चामा जनपरिचालन र जनदबाब सिर्जना गर्नु सम्पूर्ण क्रान्तिकारीहरु, देशभक्तहरु र सच्चा लोकतन्त्रवादीहरुको ऐतिहासिक कार्यभार बन्न गएको छ । परिस्थितिको सही बोध गर्न सक्नु नै नेतृत्वको दूरदर्शिता ठहर्ने छ । व्यक्तिगत इगो, आग्रह र पूर्वाग्रहबाट माथि उठेर राष्ट्रिय स्वाधीनता र वर्गीय मुक्तिको मार्गमा सचेत रुपबाट अघि बढेर मात्र वर्तमान संकटको समाधान हुनेछ । यसको बोध गर्न नसक्नेहरु ऐतिहासिक जिम्मेवारीबाट विमुख भएको ठहरिने छ, सबैलाई चेतना भया ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार