पत्रकारिता भनेको सत्य-तथ्य घटनामा आधारित रही सञ्चारका विभिन्न माध्यमबाट आम नागरिकलाई सुसूचित गराउने कार्य हो । आजको युग २१ औं शताब्दीको विज्ञान र प्रविधिको युग हो । विश्वको कुनै पनि कुनामा घटेका सबै घटनाको जानकारी र सूचना छिनभरमैको अर्को कुनामा सजिलै पुगेको छ । पत्रकारिता राज्यको चौथो अङ्ग पनि हो। नेपाली पत्रकारिताले विभिन्न आरोह-अवरोह पार गर्दै यहाँसम्म आइपुगेको छ । पहिलोपटक प्रकाशन भएको साहित्य पत्रिका सुधासागर १९५५ साउनमा प्रकाशन भएको मानिन्छ । नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्रको प्रकाशन सुरु भएपछि यसले नयाँ मोड लिएको हो । नेपालमा प्रकाशित भएको पत्रिकाको आधारमा पत्रकारिताको इतिहास भन्ने गरिए पनि नेपाली भाषाको पहिलो पत्रिका भने भारतबाट प्रकाशित भएको ‘गोर्खा भारत जीवन’ हो। यो पत्रिका मोतिराम भट्ट र रामकृष्ण बर्मा मिलेर प्रकाशित गरेका थिए । २००७ फागुन ८ गते निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो दैनिक पत्रिका ‘आवाज’ प्रकाशित भएको थियो ।
यसरी विभिन्न घुम्ती, मोड, आरोह र अवरोह पार गर्दै नेपाली पत्रकारिता आज यहाँसम्म आइपुगेको छ। आज हामी सञ्चार माध्यमहरूको ठूलो भीडमा छौं । हजारौँ सञ्चार माध्यमको बिचमा हामी नेपालमा पत्रकारिता गरिरहेका छौं। आजसम्म आइपुग्दा हामीले छापा पत्रिका, टेलिभिजन, अनलाइन पत्रिकालगायतका सञ्चार-माध्यम त विकास गरेका छौं तर के पत्रकारिता वास्तविक समाजको ऐना बन्न सकेको छ ? समाजका व्याप्त विकृति, विसङ्गति, भ्रष्टाचार, अनियमितताजस्ता वास्तविक सत्यता ऐना बनेर समाजमा उजागर भएका छन् त ? विगतमा देशमा ठुल्ठूला सङ्कट, राजनीतिक आन्दोलनमा आफ्नो साझा धारणा निर्माण गर्ने, देशलाई अग्रगमनको बाटोमा अन्यउने पत्रकारिता क्षेत्र पछिल्लो समय आफ्नो व्यावसायिकतामा मात्र सीमित भएको छ। हामीले यहाँ भन्नैपर्छ कि आज देशमा राजनीतिक सङ्कट चुलिदै गएको छ, अर्थतन्त्र टाट पल्टिएको छ, देशमा भएका उद्योगधन्दा, कलकारखानाहरू सबै बेचिएका छन् । ६०-६५ लाख युवाहरू विदेशिन बाध्य पारिएका छन् । दैनिक ४-५ जनाको लास विमानस्थलबाट भित्रिने गरेको छ। कुनै बेला बोरामा धान निर्यात गर्ने देश आज बोरामा युवाहरूको लास आयात गर्दैछ । देशको सबै क्षेत्र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रहरू सङ्कटग्रस्त बन्दै गइरहेका छन् ।
नेपालमा राजनीतिक क्रान्तिहरू नभएका भने होइनन् । २००७ सालदेखि, २०३६ सालसम्म, २०४६ सालको क्रान्तिकालीन माओवादीको नेतृत्वमा २०५२ २०६२ सम्म सशस्त्र जनयुद्ध भयो । इतिहासको विभिन्न समयमा भएका राजनीतिक क्रान्तिहरूले ठुल्ठूला राजनीतिक उपलब्धिहरू हासिल भएका छन् । हामीले जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायत हुँदै सामन्तवादको अन्त्य गर्दै गणतन्त्रसम्म आइपुगेका छौं। नेपालको उथल-पुथलकारी क्रान्ति महान् दस वर्षको जनयुद्धले अढाईसय वर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य गर्दै सङघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अवतरण गन्यो । अहिले चलिरहेको शासन व्यवस्था रूपमा जनताबाट निर्वाचित हुने कल्याणकारीजस्तो देखिए पनि सारमा सत्तामा दलाल पुँजीवादीहरूले हाकिमुहाली गरिरहेका छन्। हाल नेपालमा देखिएको मूलभूत समस्या भनेकै दलाल पुँजीवादी संसदीय व्यवस्था हो । यो व्यवस्था श्रमजीवी, सर्वहारा, मध्यमवर्ग किसान, मजदुर, महिला, श्रमिक समुदायको नभई मुट्ठीभर लुटेरा वर्गको शासन हो । दलाल पुँजीवादी व्यवस्थाका कारण आज देशमा जे जे सङ्कटहरू देखिइरहेका छन्, त्यो झन् गहिरिएर जाने स्पष्ट देखिन्छ । यो व्यवस्थामा आत्मनिर्भर अर्थतन्त्रको कल्पनासमेत गर्न सकिदैन । नेपाल केवल विदेशमा उत्पादित वस्तु केही निश्चित कमिसन छुट्याएर बेच्ने थलो बनेको छ । अर्थतन्त्र आत्मनिर्भर नबन्दा वा दलाल पुँजीवादी चरित्रका कारण लाखों युवायुवती विदेशिन बाध्य पारिएका छन् ।
युवा उद्यमी, व्यावसायीहरू दिनदहाडै आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न विवश पारिएका छन् । भ्रष्टाचार, व्यथिति, अन्याय, अत्याचार र असुरक्षाले सीमा नाघेको छ । सत्ताको बागडोर सम्हालेका उच्च पदस्थ मन्त्रीहरूसमेत भ्रष्टाचारमा मुछिएर जेलमा सडिरहेका छन् । आफ्नै देशको युवालाई यहीं देशमा रोजगार दिनुको सट्टा यो सत्ताले वास्तविक नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका, युरोपजस्ता विदेशी मुलुकमा कमिसन खाएर बेचिरहेको छ । आज पनि नेपाली जनतालाई दुई छाक टार्न मुस्किल छ । यसको विपरीत केही दुईचार सय परिवारसँग खरबौं पैसा थुप्रिएको छ । एकातर्फ नेपाली जनता गाँस, बास, कपास शिक्षा, स्वास्थ्य, रोजगार नपाएर आत्महत्या गर्न विवश छन् भने अर्कोतिर केही थान दलाल पुँजीपतिहरू विदेशमा पैसा लुकाइरहेका छन् । देशमा यी देखिएका तमाम समस्याको जड यही दलाल राज्यव्यवस्था हो ।
अब हामी पत्रकारहरूको हातमा इतिहासले युगीन जिम्मेवारी थपिदिएको छ । वैदेशिक हस्तक्षेपले देश नै कतिबेला बेचिने हो भन्ने चिन्ता छ । दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण श्रमजीवी जनता छट्पटाइरहेका छन्। यसको एक मात्र निकास भनेको यो सत्ताको विकल्प खोज्नु हो । त्यसका लागि पत्रकारहरूले मानव सभ्यताको उत्कृष्ट राज्यव्यवस्था वैज्ञानिक समाजवाद नै हो भनेर बुझाउने बेला आएको छ । हामी पत्रकारहरूको अबको युगीन जिम्मेवारी भनेकै जनतालाई दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता हो भनेर सुसूचित गर्नु हो। वैज्ञानिक समाजवादले मात्रै अहिलेको सङ्कटलाई निकास दिनेछ । महान् सहिद कृष्णसेनले भनेजस्तो जहाँ बाँच्न मृत्युभन्दा दुःखदायी हुन्छ, त्यहाँ मृत्युदेखि डर लाग्दैन । वास्तवमा आजको सङ्कटले गर्दा जनता बाँच्नु मृत्युभन्दा दुःखदायी भोगिरहेका छन् । त्यसैले सबै पत्रकारहरू नेपाली जनताको सङ्कटपूर्ण दैनिकी र राज्यव्यवस्थाको चरम सङ्कटलाई निकास दिन वैज्ञानिक समाजवादको प्रचारकर्ता हुन जरुरी छ ।
(जनपत्रकार संगठन नेपालको मुखपत्र जनपत्रकारबाट साभार)
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.