दाङ, २७ जेठ । चलचित्र विकास बोर्डको आयोजनामा दाङमा जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता हुने भएको छ । दाङको घोराहीमा असार १–३ गतेसम्म हुन थालेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर नृत्य प्रतियोगिता गर्न लागिएको बोर्डका प्रवक्ता एवं महोत्सव संयोजक केएल बुढाथोकीले बताउनुभयो ।
संयोजक चलचित्र नृत्य प्रतियोगितामा विद्यालय तहका १८ वर्षका बालबालिका तथा किशोरकिशोरीले भाग लिन सक्नेछन् । चलचित्रका राष्ट्रियभावका वा शिष्ट गीतमा ८–१२ जना सहभागी भएको र छात्र÷छात्राको संख्या बराबरी रहेको सामुहिक नृत्यलाई मात्र प्रतियोगितामा सहभागी गराउन सकिनेछ ।
प्रतियोगिताका लागि दाङ जिल्लास्थित २० विद्यालयले सहभागी जनाउने प्रतियोगिता संयोजक आदिम केसीले बताउनुभयो । महोत्सवमा नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीतकार चेतन सापकोटा, नायिका झरना थापा, वरिष्ठ गायिका सत्यकला राई, नायक सबिन श्रेष्ठ लगायतका कलाकारहरु दाङ आउने भएका छन् ।
बोर्डका प्रवक्ता एवम् महोत्सवका संयोजक केएल बुढाथोकीका अनुसार नायक केसीले “बालबालिकासंग भुवन केसी” कार्यक्रम मार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तरक्रिया गर्नेछन् ।
बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम बाल चलचित्र महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा चलचित्र प्रदर्शन, चलचित्र ज्ञान सम्बन्धी हाजिरी जवाफ, चलचित्र गीतमा नृत्य प्रतियोगिता, अभिनय प्रतियोगिता, “बालबालिकासंग भुवन केसी” पुस्तक तथा फोटो प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताउनुभयो । साथै महोत्सवमा स्थानीय समुदायका लोक नृत्य, झाँकी तथा साँस्कृतिक प्रस्तुति रहनेछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.