काठमाडौँ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले आफ्नो इतिहासकै सबैभन्दा ठूलो वायु सैन्य अभ्यास सुरु गरेको छ । नेटोका सदस्य र साझेदारबीच एकता प्रदर्शन गर्ने अभ्यासका रूपमा यसलाई हेरिएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि नेटोले सैन्य गतिविधि झनै बढाएको छ । जर्मन वायुसेनाको नेतृत्वमा मंगलबारदेखि ‘एयर डिफेन्डर २३’ नाम दिइएको अभ्यास सुरु भएको हो । अभ्यासमा जापान र नेटोको आवेदक स्विडेनलगायत २५ वटा साझेदार देशका करिब २५० सैन्य विमान संलग्न रहने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
जुन २३ सम्म चल्ने अभ्यासमा १० हजार भन्दा बढी सैनिकले भाग लिइरहेका छन् । नेटोका सदस्य मुलुकमा आक्रमण भएमा ड्रोन र क्रुज मिसाइलको रक्षा गर्ने र संकटका बेला अन्तरसञ्चालन र तयारीलाई बढावा दिन अभ्यास आयोजना गरिएको बताइएको छ । करिब ७५ वर्षअघि सन् १९४९ मा सोभियत संघलाई टक्कर दिन पश्चिमी सैन्य गठबन्धन नेटोको स्थापना गरिएको थियो । यसका कुनै एक सदस्यमाथि आक्रमण भएमा त्यसको रक्षा गर्न सबै सदस्य मुलुकहरू लड्न जाने गर्छन् । -एजेन्सी
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.