विप्लवको ‘ग्रीन रेभुलुसन’

डेली न्युजराप्ती       ५ श्रावण २०८० १५:१६ मा प्रकाशित     605 No Comments

हेमन्त प्रकाश ओली ।

साउन ५ , दाङ । ‘विप्लव’ यो नाम नेपाली राजनीतिमा चर्चामा आइरहने नाम हो । विप्लवको अर्थ बिद्रोही भन्ने बुझाउछ । नामको अर्थसंगै मेल खाने उनी नेपालको राजनीतिक वृतमा बिद्रोही , आँटिला , हक्की स्वभावका क्रान्तिकारी नेता मध्यका एक हुन् ।
उनको खास नाम नेत्र विक्रम चन्द हो तर अहिले उनी चन्द होइनन् । उनले चन्द हटाएर सी लेख्दा नेपालको राजनीति तरंगित बन्यो ।
विप्लवले नेतृत्व गरेको नेकपाले पार्टीको नवौं महाधिवेशनबाट पुरानो परम्परागत जातीको सट्टा ‘सी’ जाती लेख्ने निर्णय सर्वसम्मत पारित गर्यो । ‘सी’ भनेको कम्युनिस्ट , साम्यवादी जाती ।
अहिले नेकपाका महासचिव विप्लवसहित पार्टीका देशभरीका नेता-कार्यकर्ताहरुले आफ्नो पुरानो जाती / थरको सट्टा नामको पछाडी सी लेख्ने गरेका छन् ।

दस वर्षको जनयुद्धका कुशल कमान्डर हुँदै शान्तीप्रक्रियामा आउँदापनि राजनीतिमा विप्लवको क्रेज घटेन । जनयुद्धका कार्यभार पूरा हुन बाकी रहेको र पार्टीको नेतृत्वले जनयुद्धलाई धोका दिएको र संसदवादी भासमा गएको भन्दै विप्लवसहित मोहन बैध किरणले प्रचण्ड-बाबुरामसंग सम्बन्ध बिच्छेद गर्दै नयाँ पार्टी गठन गर्दापनी चर्चा विप्लवकै थियो ।

प्रचण्ड-बाबुरामसंग अलग भई नेकपा -माओवादी गठनसंगै किरण अध्यक्ष भए विप्लवचाहिँ सचिव बनाइए । त्यतिबेला पनि किरणको भन्दा चर्चा विप्लवको नै हुने गर्दथ्यो ।

किरणसंग पनि विप्लव लामोसमय संगै रहन सकेनन् । किरणले क्रान्तिको ठोस तयारी गर्न नसकेको भन्दै विप्लवले आफ्नै नेतृत्वमा नयाँ पार्टी पुनर्गठन गरेका थिए ।

विप्लवले पार्टीको आठौं महाधिवेशनबाट पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी बनाए ।

नेकपाले देशव्यापी ऐनसेलको करछली , अबैध म्यानपावर कम्पनी , भुमाफिया , दलाल , भ्रष्टाचारीका विरुद्ध कठोर एक्सनमा उत्रीएपछी तत्कालीन केपि ओली नेतृत्वको सरकारले नेकपामाथी प्रतिबन्ध लगायो ।

पार्टीमाथी प्रतिबन्ध लागेपछी विप्लव भुमिगत भए । राज्य र नेकपाबिच संघर्ष चर्कियो । ठाउँठाउँमा प्रतिरोधात्मक संघर्षहरु चलिरहे । यसविच नेकपाका करिव १२ जना नेता-कार्यकर्ताहरुले सहादत प्राप्त गरे ।
विप्लवका आफ्नै सहोदर दाइ बिरजंगको कारागारमा उचित उपचार नपाएर मृत्यु भयो । राज्य र नेकपाबिचको मुडभेडमा राज्य पक्षको पनि केही क्षती हुन पुग्यो ।

नेकपामाथि प्रतिबन्ध लगाउदा दुई महिनामा सिध्याउने अभिव्यक्ती दिएका तत्कालीन सरकारका प्रधानमन्त्री केपि शर्मा ओलीले अन्ततः आफैले नेकपामाथीको प्रतिबन्ध फुकुवा गर्न सहमत भए । नेकपा र सरकारबिच तीन बुदे सहमती भयो र नेकपामाथिको प्रतिबन्ध सरकारले हटायो । विप्लव शान्तिपुर्ण राजनीतिक गतिविधि गर्न सहमत भए ।

प्रतिबन्ध फुकुवापछी पनि विप्लव चुपचाप बसेनन । राष्ट्रघाती एमसिसी सम्झौता खारेजीका लागि नेपाल बन्द , लघुवित्त , मिटरव्याज , चर्को बैंक ब्याजदर विरुद्ध देशव्यापी सडक आन्दोलन तताए । नेकपाले मिटरव्याजीहरुका जग्गा कब्जा , घर कब्जा गर्ने समेतका संघर्षलाई अगाडि बढाइरहेको छ ।

तीन बुदे सहमतीपछि शान्तिपुर्ण गतिविधिमा आएका विप्लवले सहमती अनुसार राज्यले बन्दीको रिहाई र झुठा मुद्दा खारेज नगरेको भन्दै असहमती जनाइरहेका छन्।
सहमतीप्रती राज्य इमानदार नदेखिएको उनको बुझाइ छ ।

यो बिचमा नेकपा झन शक्तिशाली बन्दै गयो । नेकपाले काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शक्ति प्रदर्शन गर्यो । सोही अवसरमा नेकपा र कर्णजित बुढाथोकी (सुशील) नेतृत्वको नेकपा माओवादी समाजवादीबिच पार्टी एकता समेत भयो भने त्यसको केही दिनपछि नेकपा र श्रमिक जनता पार्टीबिच एकता भयो ।

यता नेकपाबाट अलग भइ बहुमत समूह बनाएका धर्मेन्द्र बास्तोला र शुदर्शनसहित केही केन्द्रीय सदस्यहरु मोहन बैध किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)संग एकता गरेका छन् ।
विप्लवले स्थानीय निर्वाचनलाई पार्टी दर्ता नगरी स्वतन्त्र ढंगले देशभक्त , जनवादी , बामपंथी , प्रगतिशील , राष्ट्रवादी शक्तिहरुलाइ सहयोग गर्ने , निर्वाचनमा उठाउने नीति लिएपछी धर्मेन्द्र -शुदर्शनहरु नेकपाबाट अलग भएका हुन् ।

विप्लवलाई संसदवादीको आरोप लगाउदै पार्टीबाट अलग भएका धर्मेन्द्र -शुदर्शनले अन्ततः संसदीय चुनावमा भाग लिइसकेको चुनावका लागि देशभक्त जनगणतान्त्रीक मोर्चा बनाएको बैध नेतृत्वको क्रान्तिकारी माओवादीसंग एकता गरेका छन् ।

यसैबिच विप्लवले संसदीय व्यवस्था विरुद्ध व्यापक जनमत सिर्जना गर्न केही हदसम्म सफल पनि भएका छन् । उनले सत्तासिन पार्टी माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र जसपालाई समेत जोडेर समाजवादी मोर्चा बनाएका छन् ।

समाजवादी मोर्चा नेपालमा संसदीय व्यवस्था असफलताको परिणाम भएको नेकपाले बताउदै आएको छ ।
केहिले यसलाई विप्लव घुमिफिरी संसदीय व्यवस्थामा जानलाइ गरिएको अभ्यास पनि भनेका छन् भने कतिपयले विप्लव माओवादी केन्द्रको महासचिव बन्दैछन भन्ने चर्चाको त झन सिमा नै छैन । तर विप्लवचाहिँ यी दुबै कुरालाई ठाडै अस्विकार गर्दै आएका छन् ।

पुर्व माओवादीहरुलाइ एक बनाउनुपर्ने आवश्यकता भएको भएपनी अहिले नै माओवादीसंग एकता भएर आफू त्यो पार्टीको महासचिव बन्ने कुरा सम्पुर्ण हिसाबले भ्रमपुर्ण , तथ्यहिन र कपोकल्पित भएको विप्लव बताउछन् ।

साथै उनले विप्लव संसदवादी बन्न त्यति सजिलो नभएको समेत बेलाबेलामा बताउने गरेका छन् । विप्लवले एउटा सार्वजनिक बहसमा भनेका छन् – ‘संसदीय व्यवस्थामा जाने कुरा कल्पना समेत गर्न सकिदैन बरु संसदीय व्यवस्थाबाट भएन भनेर ४ पार्टीबिच समाजवादी मोर्चा बनेको हो । हामी चार पार्टी समाजवादसम्म जानलाइ सहमत भएपछी मोर्चा बनाएका हौं ।’

विप्लवको ‘ग्रीन रेभुलुसन’

नेकपाका महासचिव विप्लव यतिबेला प्राय हरियो धान खेतबारीको बिचमा देखिन्छन् । नेपालमा नेकपा पहिलो पार्टी बनेको छ जसले देशभर उत्पादनका लागि असार १५ गतेदेखी असार मसान्तसम्म केन्द्रीय समितिले बिदा दिने निर्णय गरेको छ ।

नेकपाले आत्मनिर्भर पार्टी ,आत्मनिर्भर नेता-कार्यकर्ता तथा आत्मनिर्भर देशको उद्देश्यसहित देशव्यापी १०० बिघामा धान खेती गर्ने लक्ष्य लिएको छ ।

विप्लवसहित तलदेखि माथिल्लो कमिटीका सबै पार्टी कमिटी , जवस/मोर्चाहरु यतिबेला धान रोपाइँमा सक्रिय देखिन्छन् ।

विप्लवले कपिलवस्तुमा असार १५ गते धान रोप्न हिलो बनाइएको खेतबाटै ड्रोन उडाएर श्रम उत्सवको उद्घाटन गरेका हुन् ।

पार्टीको केन्द्रीय उत्पादन योजना अन्तर्गतआत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८०लेखिएको ब्यानर खोलेर ड्रोन उडाउदै महासचिव विप्लवले श्रम उत्सवको उद्घाटन गरेका हुन् ।

उद्घाटनको अवसरमा महासचिव विप्लवसहित सहभागी नेताकार्यकर्ता , कलाकारहरुले पेरिस कम्युनका योद्दा युजिन पोतरले रचेको कम्युनिस्ट अन्तरास्ट्रिय गित गाउँदै धर्ती हामी श्रमिकको हो, होइन जाली झेली काँतरहरुको भनेर सन्देश दिए ।

श्रम उत्सबमा इन्द्रेणीका कलाकार कृष्ण कडेलसहित छत्र शाहीको उपस्थितिले कपिलवस्तुमा विप्लवको क्रेज देशभर सामाजिक संजाल मार्फत व्यक्त भयो ।
सोही अवसरमा इन्द्रेणीका कलाकार कृष्ण कडेल र विप्लव हिलाम्य खेतमा छमछमी नाँचे ।

विप्लवले कपिलवस्तुबाट श्रम उत्सबको उद्घाटन गरे भने नेकपाका नेता-कार्यकर्ताहरुले देशैभरी जिल्लाजिल्लाबाट धान रोपाइको उद्घाटन गरे ।

यता पार्टीका प्रवक्ता प्रकाण्ड सीले चितवनमा धान रोपाइको उद्घाटन गरे भने पार्टीका स्थायी कमिटीका सदस्य रणबिर सीले बर्दियाको राजापुरमा २८ बिघा जमिनमा धान रोपाइँको उद्घाटन गरेका हुन् ।

विप्लवले नेपालमा वैज्ञानिक समाजवादको सपना देखिरहेका छन् । उनले संसदीय व्यवस्था पुर्णरुपले असफलसिद्ध भईसकेकाले यसको विकल्पमा वैज्ञानिक समाजवादि राज्यव्यवस्था स्थापना निर्विकल्प बनेर आएको समेत बताउदै आएका छन् ।

विप्लवले यतिवेला देशको परनिर्भरताको पराकाष्ठा देखेरै हुनसक्छ भासणमा भन्दा श्रमलाइ प्राथमिकता दिईरहेका छन् ।
सबैले नेपालमा केही हुँदैन , युवाहरू बिदेश जाउ , आफ्नो व्यक्तिगत जीवन समृद्ध बनाउ भनिरहेका बेला नेपालमा सबै सम्भव छ भन्दै युवाहरुलाई विप्लवले आशावादी बनाइरहेका छन् ।

नेकपाका एक नेताका अनुसार विप्लव बिहान-बेलुका दैनिक कम्तिमा २ घण्टा अनिवार्य श्रममा भाग लिने गर्दछन। साच्चिकै नेपालमा विप्लवले ‘ग्रीन रेभुलुसन’ सुरु गरेका छन् ।

वैज्ञानिक समाजवादमा विप्लवले देशलाइ आत्मनिर्भर बनाउन कृषि मार्फत आत्मनिर्भर र उधोग मार्फत समृद्धिको नीति लिइने समेत बताउने गरेका छन् ।

आफ्नो देशलाइ माथि नउठाउदासम्म बिदेशिको अगाडि नेपालीको शिर कहिल्यै उचो नहुने विप्लवको ठहर रहेको छ।

नेपालको जमिनले ६ करोड नागरिकलाई खान पुग्ने भएपनी अहिलेको उत्पादनले ३ महिनापनि खाना नपुग्ने अवस्था रहेको भन्दै विप्लवले सबै युवाहरु देशमै उत्पादनमा जोडिनुपर्ने बताउछन् ।

विप्लव नेतृत्वको नेकपासंग पार्टीको ३०० रोपनी आफ्नै जग्गा रहेको र देशभर ६० बिघा जमिन लिजमा लिइ उत्पादन कार्यलाइ तिब्रता दिइरहेको नेकपाले जनाएको छ।

विप्लव हाल ललितपुरमा छन् । नेकपाले ललितपुरको हरिसिद्धीमा पनि धान रोपाइँ सम्पन्न गरेको छ । ललितपुरमा रोपेको धानको झारपात गोडमेलमा विप्लव आजभोली सक्रिय भएको देखिन्छ ।

विप्लव र उनले नेतृत्व गरेको नेकपा नै यतिबेला नेपालको राजनीतिक वृतमा सबैको चासो , चर्चा , परिचर्चाको विषय बनेको छ ।

यता नेकपाले दाङ , चितवन लगाएतका क्षेत्रमा माछापालन , तरकारी खेती लगाएतका उत्पादनलाई पनि तिब्रतामा विकास गरिरहेको छ ।

कपिलवस्तुमा पनि सो पार्टीले बङ्गुर पालन , पशुपालन , तरकारी खेती , स-साना घरेलु उत्पादनलाई जोड दिदै आएको छ ।

नेकपाले कृषि उत्पादनमा सुरु गरेको ‘ग्रीन रेभुलुसन’ले उक्त पार्टी र समग्र देशको अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला त्यो भने समयले बताउने नै छ तर हामी भने नेपालको परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भरता तिर लिएर जाने नीति कार्यक्रम बनाएर देशभर सिंगो पार्टीपंक्तिलाई उत्पादनमा जोड्ने विप्लव र उनको नितिलाइ समर्थन गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार