३१० जनालाई पार्टी प्रवेश गराउदै नेता प्रज्वलनले भने ‘जनताको एकताबाट मात्रै आन्दोलन सम्भव छ’

डेली न्युजराप्ती       १४ श्रावण २०८० ०७:२९ मा प्रकाशित     115 No Comments

विभिन्न पार्टी परित्याग गरि ३१० जनाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

विनोद खनाल

बुटवल: विभिन्न पार्टी परित्याग गरि ३१० जनाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार नेकपा रुपन्देहीको आयोजनामा सम्पन्न ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा रुपन्देहीका विभिन्न क्षेत्रबाट विभिन्न व्यक्तिहरुले पार्टी प्रवेश गरेका हुन् ।

योगिकुटीको दरबारलनमा सम्पन्न कार्यक्रममा रुपन्देहीका देबदह ओमसतिया, रोहिणी, सिनपा, बुटवल, सियारी, सैनामैना, कन्चन लगायतका क्षेत्रबाट पार्टी प्रवेश गरेका छन् ।

पार्टीले लिएको जनपक्षीय लाइन र विभिन्न कार्यक्रमबाट प्रभावित भएर पार्टी प्रवेश गर्नेहरुको लहर लागेको नेकपा रुपन्देहीका सेक्रेटरी विरेन्द्र सीले बताएका छन् । पछिल्लो मिटरब्याज तथा लघुवित्त विरुद्धको आन्दोलन एवं भ्रष्टाचार, मुल्यबृद्धि र कालाबजारीका विरुद्धको आन्दोलनबाट प्रभावित भएर ठुलो संख्यामा पार्टीमा जनताहरु गोलबन्द भएको उनले बताए । जिल्लाका विभिन्न क्षेत्रबाट करिब ५०० को संख्यामा सहभागी जनसमुदायको बिच उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सबै जनताको एकताबाट मात्रै क्रान्तिकारी आन्दोलन सम्भव छ : प्रज्ज्वलन

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य एवं पुर्वी लुम्बिनि ब्युरो इन्चार्ज प्रज्ज्वलन सीले सबै उत्पीडित श्रमिक जनताको एकताबाट मात्रै क्रान्तिकारी आन्दोलन सम्भव हुने बताएका छन् ।

नेकपा रुपन्देहिको आयोजनमा ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता प्रज्ज्वलनले जनताका पक्षमा पार्टी अनवरत लागिरहने बताए । उनले मधेश समस्या पर्दा पहाडबाट पूर्वमा समस्या पर्दा पश्चिमबाट नेपाली जनताको एकताबद्ध आन्दोलन हुने गरेको बताउँदै हरेक संघर्षमा पार्टी अग्रभागमा रहने बताए ।
उनले भने, -‘बोल्न पाउने जस्ता सिमित अधिकारले मात्रै हुँदैन जनताको जीवनस्तर सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । भ्रष्टाचारी कालाेबजारीहरुलाई कार्बाही नगर्दासम्म देश बन्दैन । हामीले भ्रष्टहरुलाई कार्बाही गर भन्दा हामी जेल जानुपर्यो। अहिले भ्रष्टाचारीलाई जेल हाल्न सुरु भएको छ जुन तपाईं हाम्रै आन्दोलनका कारण सम्भव भएको हो । त्यसैले मान्छे बदलेर मात्रै हुँदैन सिस्टम बदल्नुपर्छ जसका लागि दलाल संसदीय व्यवस्था अन्त्य गरेर समाजवाद ल्याउनुपर्छ । त्यही भएर ४ दलको समाजवादी मोर्चा गठन भएको हो । अब समाजवाद मान्ने सबै कम्युनिस्ट पार्टीहरु यो मोर्चामा आउन जरुरी छ ।’
नेता प्रज्जवलनले यो व्यवस्थाले जनतालाई ठगेको छ, रोजगारी छैन स्वास्थ्य र शिक्षामा दलालीकरण छ, महंगी कालाेबजारी, घुसखोरी, तस्करी छ, मिटरब्याज र लघुबित्तको शोषण छ भन्दै यिनको अन्त्य वैज्ञानिक समाजवादमा मात्रै हुने ठोकुवा समेत गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सरद सीले आफ्नो पार्टी जनताका एजेन्डाबाट पछि नहट्ने बताए । भैरहवामा गरेको कुख्यात मिटरब्याजी विरुद्धको संघर्षबाट ठगहरु अत्तालिएको बताउँदै उनले अबको संघर्ष झन् पेचिलो पारिने बताए ।
नेकपाका रुपन्देही सेक्रेटरी विरेन्द्र सीको अध्यक्षता र जिल्ला सदस्य शिशिर सीको संचालनमा एवं जिल्ला सदस्य उषा पाठकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार