तुलसीपुर। दाङ तुलसीपुर ५ बसपार्क स्थित कोशेली घरले ४ वर्षसम्म पनि भाडा पाएको छैन । उपमहानगरपालिकाले महिला कृषि लघु उद्यमी समूहलाई त्यसको जिम्मा दिएको थियो ।
२०७६ मंसिरमा स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नकालागि उक्त कोशेली घर सञ्चालन गरिएको थियो । सोही समूहले उपमहानगरपालिकालाई फाईदाको ५ प्रतिशतका दरले प्रति महिना भाडा उपलब्ध गराउने सहमति भएको थियो ।
तर, सोही सहमति अनुसार सहकारीले भाडा उपलब्ध नगराएपछि महालेखा परीक्षणको कार्यालयले समेत प्रश्न उठाएको थियो, भने उपमहानगरपालिकाको लेखा समितिले पनि प्रश्न उठाएपछि उपमहानगरपालिकाले पनि चासो देखाएको छ ।
उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख ललित घर्तीका अनुसार यो विषयमा अध्ययन गर्नकालागि समिति निर्माण भएको छ । कार्यपालिकाको १३ औं बैठकले आर्थिक विकास समिति संयोजक माघव वलीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ ।
सोही कार्यदलले दिएको सुझाब अनुरुप कार्यपालिकाले निणर्य गर्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार नयाँ भाडादर कायम हुनेछ ।
साथै कोशेली घरले उपमहानगरपालिकाको साझेदारी कोषबाट लिएको ऋणको सावा ब्याज कुनै पनि बुझाएको छैन । कोशेली घरले ४ वटा सटरहरु छन् । त्यहाँ स्थानीय उत्पादन भन्दा बाह्य बस्तुहरु राखेर बेच्ने गरिएको समेत पाइएको छ ।
साभार : लाइभदाङ
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.