पार्टी एकता, ध्रुवीकरण र संयुक्त मोर्चा

डेली न्युजराप्ती       २२ श्रावण २०८० ०७:२१ मा प्रकाशित     117 No Comments


                    अनिल सी         

नेपाल कम्युनिस्ट पार्टीले एकातिर क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको बिचमा पार्टी एकता तथा ध्रुवीकरणको पहल गरिरहेको छ । अर्कोतिर, नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनले रणनीतिक र कार्यनीतिक संयुक्त मोर्चा बनाउने र अमेरिकी साम्राज्यवादको प्रतिकार गर्ने निर्णय गत असोजमा गरेको थियो । जेठ दोस्रो साता बसेको केन्द्रीय समितिको विशेष बैठकले पार्टी एकता, क्रान्तिकारी संयुक्त मोर्चा र समाजवादी मोर्चा गरेर सबै मोर्चाबाट साम्राज्यवाद विरुद्ध ध्रुविकरण तीब्र पार्ने निर्णय लिएको छ । सो निर्णयसँगै पक्ष–विपक्षमा बहसहरू हुन थालेका छन् । हाम्रा निर्णयहरूले तीब्र प्रभाव पार्ने हुनुपर्छ । कतै नछुने, प्रभाव नपार्ने निर्णयको सामाजिक–रणनीतिक मूल्य पनि हुँदैन । यहाँ यिनै विषयमा चर्चा गरिनेछ ।

पार्टी एकता र ध्रुवीकरण:
जनयुद्धको धारलाई अपराधीकरण गर्ने र दमन गरेर सिध्याउने अमेरिकी नेतृत्वको साम्राज्यवादी रणनीति देखिन्छ । सदनमा भाग लिइरहेका वामपन्थी पार्टीहरूलाई बदनाम गराउने, पैसाको खोलो बगाउने, अन्तरध्वंसको षड्यन्त्र गर्ने र भारतको पश्चिम बंगालको अनुभव प्रयोग गर्ने षड्यन्त्र देखिन्छ । त्यसकारण हाम्रो पार्टीले माओवादी वा जनयुद्धको धारलाई विघटन, विसर्जन र अलगथलग हुनु अगावै ध्रुविकरण गराउन चाहन्छ । प्रचण्ड र वैद्यसँग भएको विद्रोहले क्रान्तिकारी धारलाई बलियो बनायो । कार्यदिशा, नेतृत्व र विचारमा विकल्प तयार भयो । त्यसकारण क्रान्तिकारी विचार, विश्वसनीय नेतृत्व र जुझारु माक्र्सवादको नेतृत्वमा ध्रुविकरण हुनुपर्छ । बदलाभाव र विसर्जन होइन क्रान्तिकारी धारद्वारा दक्षिणपन्थी धारलाई निल्ने साहस गर्नैपर्छ । अर्कोतिर, क्रान्तिकारी एउटै सङ्गठन र नेतृत्वमा आउँदा नै साम्राज्यवादलाई परास्त गर्न सम्भव हुन्छ । त्यस उद्देश्यलाई केन्द्रमा राखेर नेकपा र नेकपा (माओवादी समाजवादी) दुई क्रान्तिकारी पार्टी बिच ध्रुविकण सम्पन्न भएको छ । त्यसले ध्रुविकरणको ढोका उघारेको छ । यो ध्रुविकरणले सबै माओवादी धारलाई प्रभावित गर्नेछ ।

समाजवादी मोर्चाको प्रश्न:
संसदमा रहेका र संसदभन्दा बाहिर रहेका वामपन्थी पार्टीहरू बिच कार्यगत एकता भयो भने अथवा समाजवादको पक्षमा जनमत निर्माण गर्ने र अमेरिकी साम्राज्यवाद विरोधी धार बन्यो भने देशको लागि ठूलो उपलब्धि हुनेछ । त्यसप्रकारको मोर्चालाई असफल पार्न काठमाडौंस्थित अमेरिकी दूतावासले विभिन्न पार्टीमा रहेका आफ्ना दूतहरूलाई परिचालन गरिरहेको छ । त्यसै उद्देश्यले जेठ २३ गते माओवादी केन्द्रका एकजना प्रभावशाली नेताले आफ्ना नातेदारमार्फत राज्यदोहन गरेर सञ्चालन गरेको एउटा अनलाइन सञ्चारले समाजवादी मोर्चा गठनको प्रयासलाई भाँड्ने नियतले समाचार प्रकाशित गरेको छ । यो प्रक्रिया अझ तीब्र बन्नेछ ।
रणनीतिक उद्देश्य फरक–फरक रहेका तर खास–खास विषय तथा मुद्धाहरूमा साझा धारणा भएका शक्तिहरू बिचमा कार्यगत एकता र मोर्चाबन्दी हुने गर्दछ । समाजवादप्रति सोलोडोलो सहमती भएका र अमेरिका विरोधी (अमेरिकी साम्राज्यवादले नपत्याएका) शक्तिहरूमा प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादवहरू छन् । यी क्रान्तिकारी शक्तिहरू होइनन् । यी ढुलमुल, चलायमान, अवसरवादी, संशोधनवादी समूहहरू हुन् । यिनीहरूलाई क्रान्तिको पक्षमा ल्याउनु, अमेरिकी साम्राज्यवाद विरोधी मोर्चामा उभ्याउन आवश्यक छ । नेपाली जनताको प्रधान अन्तरविरोध दलाल पुँजीवादसँग छ । प्रधान अन्तरविरोधको पनि प्रधान–पक्ष हुन्छ । प्रधान अन्तरविरोध दलाल पुँजीवाद हो र यसको प्रधान–पक्ष रवि–गगन–सिके राउत र त्यसको मालिक अमेरिका हो । त्यसको विरुद्ध सहायक दुश्मनसँग पनि मोर्चाबन्दी गर्नुपर्ने हुन्छ । चौतर्फी प्रहारले आफ्नै घेरा साँघुरो बनाउँछ ।

रूसमा अक्टोबर क्रान्ति लगत्तै सन् १९१८मा जर्मनीले जारकालीन रूस नियन्त्रित युक्रेन, पोल्याण्ड र सम्पूर्ण बाल्टिक गणराज्यहरूमाथिकोरूसी नियन्त्रण परित्याग गर्नुपर्ने अन्यथा युद्धको सामना गर्न चेतावनी दियो । रूस युद्ध थेग्नसक्ने अवस्थामा थिएन । सर्वहारा सत्ता गुम्ने र रूस विदेशीको नियन्त्रणमा जानसक्ने खतरा आइलाग्यो ।
लेनिनले देशको भूभाग नै दिएर भए पनि युद्ध टार्नुभयो र शक्ति सञ्चय गरेर गुमेको
भूभाग फिर्ता लिने तयारी गर्नुभयो । तर लेनिनलाई राष्ट्रघाती आरोपसम्म लगाइयो ।रूसले फ्रेञ्च राजतन्त्रसँग सम्झौता वा मोर्चा बनाएर जर्मनीसँग लड्नुभयो ।

अन्तरविरोध बदलिएको छ/हो कि निरन्तरतामा छ ? यो प्रश्न मुख्य हो । अन्तरविरोध बदलिएर अमेरिकीहरूको प्रवेश भइसकेको हो भने समाजवादी मोर्चा आवश्यक हुन्छ । यदि अमेरिका आएको होइन भने समाजवादी मोर्चा आवश्यक हुन्न । त्यस्तो अवस्थामा क्रान्तिकारी पार्टीहरू बिचको ‘देशभक्त–समाजवादी मोर्चा’ नै पर्याप्त हुन्छ । अन्तरविरोध बदलियो र साम्राज्यवाद प्रत्यक्षरूपले आयो भन्ने हाम्रो धारणा हो । आज साम्राज्यवाद हिटलर वा जापान जसरी ट्याङ्क, सेनाको लस्कर लिएर आउने छैन । उसले नोकरशाहीतन्त्र कब्जा गर्छ; सुरक्षा निकाय कब्जा गर्छ; अर्थतन्त्र नियन्त्रण गर्छ र त्यसको नेतृत्व गर्ने पार्टी बनाउँछ । अन्तिममा बल्ल ब्यारेक बनाउँछ । विलफ्रेड बुर्चेड र नरोद्धम सिंहानुक कम्बोडियाको अनुभव बताउँदै भन्छन्, “राजनीतिक, आर्थिक, साँस्कृतिक, सैन्य तथा गुप्तचर कारवाहीहरू यस्तो तरिकाले एक आपसमा जोडिएका थिए कि सामान्यतः देशका नेताहरूले प्रत्यक्ष र खुला झडपको विन्दुमा आइपुग्दासम्म पनि थाहै पाउन सकेनन् ।” खुला झडपको स्थिति आउनुभन्दा अगाडि नै प्रतिरोधको तयारी गरिएन भने क्रान्तिकारी र देशभक्तहरूको हातबाट पहलकदमी गुम्नेछ र नेपाल युक्रेनको स्थितिमा पुग्नसक्छ ।
प्रचण्डसहितको समाजवादी मोर्चा राष्ट्रियता र समाजवादको विरुद्ध गयो वा हानी पु¥याउन उद्धत भयो भने क्रान्तिकारीहरू पछाडि फर्कन सक्छन् । समाजवादको विरोध र साम्राज्यवादको चाकरी गरिरहे भने ती दलहरूभित्र विद्रोह हुनेछ । जसरी जापानी अतिक्रमणको विरुद्ध संयुक्त मोर्चा बनाउन आनाकानी गर्दा चीनमा च्याङ काइ–शेक आफ्नै पङ्तिबाट घेराबन्दीमा पर्नु परेको थियो । माओ नै देशभक्त रहेछन् भन्ने व्यवहारिक पुष्टि भएको थियो । भनिन्छ, क्रान्ति विज्ञान हो तर क्रान्ति कला पनि हो । सम्पूर्ण जनताको भावनाको नेतृत्व र क्रान्तिकारी विचारको प्रतिनिधित्व जारी राखेर नै क्रान्तिको तयारी सम्भव छ ।

चौतर्फी ध्रुवीकरणको स्थिति:
आर्थिक–राजनीतिक सङ्कट र विदेशी हस्तक्षेपको कारण देशको आन्तरिक राजनीति तीब्र ध्रुविकरणको प्रक्रियाबाट गुज्रिरहेको छ । भारतीय सत्तारुढ पार्टी नेपालमा हिन्दु धर्म र राजतन्त्र फर्काउन चाहन्छ । नेपाल गणतन्त्रमा प्रवेश गर्दा भारतीय जनता पार्टी (भाजपा) सत्तारुढ थिएन र भारतीय काङ्ग्रेसको नेपाल नीतिप्रति भाजपा सन्तुष्ट थिएन । भाजपालाई राजतन्त्र होइन हिन्दु धर्मको पुनर्वाहली चाहिएको हो । भाजपाले राजतन्त्र छोड्ने, काङ्ग्रेसले हिन्दु धर्म मान्ने गरी छलफल भइरहेका छन् । बैसाख ९ गते काठमाडौंको एक कार्यक्रममा पूर्वप्रम डा. बाबुराम भट्टराईले ‘दक्षिणबाट भयानक प्रतिगामी हावा चलिरहेको छ’ भनेका थिए । छिमेकीको उक्साहटमा प्रतिगामी ध्रुविकरण चुनौति हो । साम्राज्यवादको भरथेग भएको कारण यो चुनौति बन्न पुगेको हो । पूर्वराजावादी, हिन्दुवादीहरू मध्येको एक भाजपा र आरएसएसको धर्म–राजनीतिप्रति असन्तुष्ट छन् । धर्मलाई राजनीतिको बैसाखी बनाएकोले नै नेपालमा हिन्दु धर्म विवादित बनेको उनीहरुको मत छ ।
काङ्ग्रेस नेता शेरबहादुर देउवाले एमसीसी पारित गरे । तर त्यत्ति परियोजना पारित गर्न उनलाई ५ वर्ष लाग्यो । प्रचण्डको दबावमा परेर उनले एसपीपी पारित गर्न अस्विकार नै गरे । एमसीसी सङ्कल्प प्रस्तावसहित पारित गरेर विश्वमा नकारात्मक नजिर स्थापित गरे । देउवाको त्यसप्रकारको कार्यशैलीबाट अमेरिकी सरकार सन्तुष्ट छैन । देउवा उसको दृष्टिमा असक्षम भएका छन् । त्यसैले अमेरिका देउवाको स्थानमा गगन थापा उभ्याउन चाहन्छ । साम्राज्यवादले कस्ता पात्र र प्रवृत्तिलाई उभ्याउँछ भन्ने सन्दर्भमा आरसीपी, अमेरिका भन्छ, “कुनै निश्चित अवस्थामा आफ्नै ढङ्गबाट एउटा सकारात्मक सामाजिक भूमिका निर्वाह गरेका शक्तिहरूलाई नै साम्राज्यवादले खोज्ने र अगाडि सार्ने गर्दछ ।” रवि–गगनहरू कुनै समय क्रमशः भ्रष्टाचार र गणतन्त्रको कारण जनमनमा स्थापित भएका हुन् । साम्राज्यवादले तिनैलाई आफ्नो नयाँ प्रतिनिधिको रूपमा उभ्याउने देखिन्छ । स्वर्णिम वाग्ले काङ्ग्रेसमा छँदा त्यस्तै सकारात्मक व्यक्तित्व निर्माण गरेका व्यक्ति हुन् ।

अपराधिक घटनाहरूको श्रृङ्खला:
साम्राज्यवादले आफ्नो रणनीतिमा अवरोध गर्नेलाई दलाल बनाउने र दलाल बनाउन नसक्नेलाई सफाया गर्ने गर्दै आएको छ । पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसी परियोजना निर्णयार्थ संसदमा पेश गर्न चाहेनन् । त्यसबाट प्रम केपी ओली चिढिएका थिए । अमेरिकाले महरालाई दलाल बनाउन नसकेपछि मार्ने षड्यन्त्र ग¥यो । अविश्वसनीय जस्तो लाग्ने त्यो प्रसङ्गलाई महराले जिल्ला कारागार, चारखाल, काठमाडौंमा रहँदा रेशम चौधरीसँग प्रकट गरेका थिए । “मलाई सिँगापुरमै मार्न खोजेका थिए । यहाँ नआएको भए, मारिइसक्ने थिएँ” महरा भन्छन् । आफ्नो कृति ‘परिबन्ध’मा चौधरी लेख्छन् । त्यसैगरी गत भदौमा नेकपाका महासचिवमाथि पक्राउ पूर्जी जारी गरेर राज्यले वार्ता भङ्ग गरेको जनाऊ दियो । त्यसैगरी महरामाथि यौन हिंसाको आरोप लगाएर सभामुखबाट हटाइयो । त्यसपछि अग्नी सापकोटा वफादार कारिन्दा ल्याएर एमसीसी पारित गरियो । त्यसैगरी बहालवाला प्रममाथि जनयुद्धको मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरियो । जनयुद्धका मुद्दाहरू शान्ति प्रक्रियाको कार्यक्षेत्र हो र नियमित अदालतको कार्यक्षेत्र नै थिएन । त्यसैगरी सम्पूर्ण जानकारी हुँदाहुँदै ढुकेर बसेको अमेरिकाले गगन थापाहरू आन्तरिक प्रतिस्पर्धाबाट आउन नसक्ने देखेपछि आरजु राणा र बालकृष्ण खाँडमाथि प्रहार गरेर देउवा पक्षलाई कमजोर बनाउने अस्त्रको रूपमा नक्कली भुटानी शरणार्थी काण्ड अगाडि ल्यायो । भुटानी शरणार्थी काण्ड अमेरिकी पाठेघरमा हुर्केको अपराधी भ्रुण हो । स्वर्णिम वाग्लेको काङ्ग्रेसबाट पलायन, तनहुँमा गरेको पैसाको ओइरोको स्रोत आफैंमा स्वभाविक छैनन् । इटाली कम्युनिस्ट पार्टीका महासचिव एन्टोनियो ग्राम्सी (१८९१–१९३७) साम्राज्यवादको फासीवादी स्वरूपको चरित्रबारे भन्छन्, “फासीवादले श्रमजीवी वर्ग राजनीतिक रूपमा निस्क्रिय हुन्जेल प्रतिक्षा गर्छ र त्यसपछि एउटा त्रासदी झैं सबैतिर व्यापक हुन्छ ।” जनयुद्धको रापताप कमजोर हुँदै जाँदा देशमा दलाल पुँजीवाद र साम्राज्यवाद फासीवादी अभ्यास गर्न थालेको छ । नेकपाका महासचिव विप्लव सीले ९औं महाधिवेशनको दौरानमा ‘अमेरिकाले कुन कुनाबाट आक्रमण गर्छ थाहै हुन्न । उसका आक्रमणहरू सफल र निर्मम छन्’ भनेका थिए । नेपालमा पछिल्लो समयमा देखिएका घटना श्रृङ्खलाहरू उपर्युक्त भनाइका प्रमाणहरू हुन् ।

लेनिन र संयुक्त मोर्चा:
रूसमा अक्टोबर क्रान्ति लगत्तै सन् १९१८मा जर्मनीले जारकालीन रूस नियन्त्रित युक्रेन, पोल्याण्ड र सम्पूर्ण बाल्टिक गणराज्यहरूमाथिको रूसी नियन्त्रण परित्याग गर्नुपर्ने अन्यथा युद्धको सामना गर्न चेतावनी दियो । रूस युद्ध थेग्नसक्ने अवस्थामा थिएन । सर्वहारा सत्ता गुम्ने र रूस विदेशीको नियन्त्रणमा जानसक्ने खतरा आइलाग्यो । लेनिनले देशको भूभाग नै दिएर भए पनि युद्ध टार्नुभयो र शक्ति सञ्चय गरेर गुमेको भूभाग फिर्ता लिने तयारी गर्नुभयो । तर लेनिनलाई राष्ट्रघाती आरोपसम्म लगाइयो । रूसले फ्रेञ्च राजतन्त्रसँग सम्झौता वा मोर्चा बनाएर जर्मनीसँग लड्नुभयो । संयुक्त मोचासम्बन्धी आफ्नो नीतिको बचाउ गर्दै लेनिन भन्नुहुन्छ, “हामीले रूसी क्रान्ति र विश्व समाजवादी क्रान्तिको हितको मार्गमा अगाडि बढेर लुटेराको विरुद्ध उत्तिकै अर्को लुटेरासँग (साम्राज्यवादसँग)को परस्पर विरोधी स्वार्थको उपयोग ग¥यौं । यो तरिकाले हामीले रूस र अरु देशका मजदुरका हितहरूको सेवा ग¥यौं । सारा विश्वका मजदुर वर्गलाई बलियो बनायौं र पुँजीपति वर्गलाई कमजोर बनायौं ।” लेनिनले सम्झौताहरूलाई ‘तत्कालीन परिस्थिति र मूर्त शर्तहरू’ विश्लेषण गरेर निष्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ ।
दोस्रो विश्वयुद्धको समयमा हिटलरले आक्रमण गरेपछि जारकालीन जनरल तथा बौद्धिक पक्षलाई राष्ट्रिय एकताको लागि स्तालिनले अपिल गर्नुभयो । रूसलाई माया गर्ने सम्पूर्ण शक्तिबिचमा एकता गर्नुपर्ने निष्कर्ष जोसेफ स्तालिनको थियो ।

चीनमा संयुक्त मोर्चा:
१९११मा चीनमा राजतन्त्रको अन्त्य भयो र त्यसको १० वर्षपछि कम्युनिस्ट पार्टीको स्थापना भयो । डा. सन यात–सेनको कोमिङताङ पार्टीले कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गर्न सहमत भयो । विश्व शान्ति र चीनको समृद्धिको लागि त्यसो गर्न सन यात–सेन तयार थिए । तर सन यात–सेनको मृत्युपछि च्याङ काइ–शेकले कम्युनिस्ट पार्टीसँग संयुक्त मोर्चा भङ्ग गरे । देश गृहयुद्धमा गयो । सन् १९२७देखि १९४९को बिच चीनमा गृहयुद्ध थियो । १२ डिसेम्बर १९३६मा भएको सियान घटनापश्चात् सरकार–विद्रोही वार्ताको लागि जनदबाव थियो । १९३६मा भएको छुङकिङ वार्तापछि माओले जनसेना ४८ डिभिजनबाट २०सम्म घटाउन, दक्षिणका ८ वटा आधार इलाका छोड्न र जमिनदारको जमिन कब्जा नगर्न र त्यसलाई कूत घटाउने सङ्घर्षमा सीमित राख्न तयार हुनुभयो । सेना र आधार इलकाको प्रश्न नटुङ्गिएकै अवस्थामा सम्झौता भयो । सम्झौता कार्यान्वयन भएको थिएन र गृहयुद्ध जारी थियो । माओले उक्त सम्झौताका चार वटा फाइदा भएको बताउनुभएको थियो– एक, सरकारले चिनियाँ कम्युनिस्ट पार्टीलाई मान्यता दिन बाध्य भयो । दुई, विश्वभरी र चीनका जनताको चाहना शान्तिवार्ता होस् भन्ने थियो । तेस्रो, चीनलाई शान्ति र जनवाद आवश्यक थियो । चौथो, कम्युनिस्ट पार्टीलाई शान्ति विरोधी भनी लगाइएको आरोपको व्यवहारिक रूपले खण्डन भयो ।

कार्यगत एकताका अभ्यासहरू:
प्रचण्डमाथि मुद्दा चलाउने सर्वोच्च अदालतको आदेश अमेरिकी साम्राज्यवादको निर्देशनमा जनयुद्धलाई अपराधिकरण गर्ने षड्यन्त्र थियो । त्यसको विरुद्ध हाम्रै नेतृत्वमा प्रतिवाद गरियो । त्यो घटना प्रचण्ड र उनको वैचारिक पक्षधरताको मात्रै विषय थिएन । त्यो घटना जनयुद्धमाथिकै आक्रमण थियो । त्यसैले प्रचण्ड नै प्रधानमन्त्री रहेको समयमा सहकार्य भएको थियो ।
एमसीसी विरुद्धको सङ्घर्षमा प्रचण्ड, माधव नेपाल, राप्रपा र कतिपय धार्मिक समूह र हाम्रो बिचमा कहिले घोषित त कहिले सङ्घर्षमा तालमेल भएका थिए । विचार फरक, आदर्श फरक तर एमसीसी एक्लै खारेज गर्न नसकिने साझा विषय भएको कारण कतिपय संयुक्त मोर्चाको अभ्यास भएको थियो । सबै क्रान्तिकारी समूहका जवस र जातीय–क्षेत्रीय–लैङ्गिक मोर्चाहरूको बिचमा संयुक्त मोर्चा बनाएर अथवा नबनाएरै सहकार्य भइरहेका छन् । संयुक्त मोर्चाको अभ्यास भइरहेका छन् ।

कम्बोडियाको अनुभव:
कम्बोडियामा अमेरिकी हस्तक्षेपको विरुद्ध राजा नरोद्धम सिंहानुक कम्युनिस्ट पार्टीसँग सहकार्य गर्न तयार भए । उनले भनेका थिए, “मेरो भूमिका भनेकै कम्युनिस्टहरू र गैरकम्युनिस्टहरू बिचमा साँघुको काम गर्नु हो ।” १९६३ नोभेम्बर २०मा कम्बोडियाले अमेरिकी सहयोग नलिने जानकारी गराएको थियो । अमेरिकी सहयोगलाई सिंहानुकले नशामा जिवाणु प्रवाह गरेझैं भन्थे । “देशभित्र सिआईए निर्देशित गतिविधिहरूका लागि हुने अमेरिकी आर्थिक सहयोग मेरो बुझाईमा गरिबको समस्या देखाएर उसलाई पुर्ने खाल्डो उसैलाई खन्न लगाएजस्तै थियो ।” तर अमेरिकी डलरले मातेका मतृघातीहरू सिहानुकको विरुद्ध षड्यन्त्र गर्दै थिए । त्यस्ता दलालहरूको विरुद्ध सिंहानुक भन्छन्, “हाम्रो सरकारका उच्चपदमा आसिन डलर वेश्याहरू मेरो विरुद्धमा षड्यन्त्र गर्न थालिसकेका छन् र डलर रोक्ने मेरो कार्यलाई निस्तेज पार्न लागिपरेका छन् ।” माओले आफूसँगको भेटमा कम्युनिस्ट र गैरकम्युनिस्ट संयुक्त मोर्चा गठनमा सिंहानुकको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो, “मलाई तथाकथित जनताका छोरा भनिने देशघातीहरूसँग हात मिलाउनुभन्दा अन्य देशका राष्ट्राध्यक्ष तपाईजस्ता देशभक्त राजकुमारहरूसँग हात मिलाउन गर्व लाग्दछ ।” अमेरिकी हस्तक्षेपको विरुद्ध आउँछन् भने हामीले जेसुकै र जस्तो विचार तथा इतिहास भए पनि सहकार्य गर्नुपर्छ । तर साम्राज्यवादसँग नलड्ने वा उसका मतियारसँग भने सहकार्य सम्भव छैन । तर हामीले सबैसँग अपिल गर्नुपर्छ । जसले जनतालाई प्रशिक्षित गर्नेछ, ध्रुविकृत गर्नेछ ।

निष्कर्ष:
वैज्ञानिक समाजवादी क्रान्तिको लागि क्रान्तिकारी शक्तिहरूलाई ध्रुविकृत गर्ने र ढुलमुले तथा अवसरवादी शक्तिहरूलाई सहयोगी बनाउने वा तटस्थ राख्ने हाम्रो नीति हुनेछ । सङ्घर्षकै क्रममा जनताले बुझ्दै जानेछन् । सिंहानुकले “निक्सनले थाहै नपाएर हाम्रा नागरिकहरूलाई राष्ट्रिय एकतामा बाँधिदियो र हामीले कार्ल माक्र्सलाई नबुझे पनि क्रान्तिकारी बन्न सक्यौं” भनेका थिए । अमेरिकी हस्तक्षेपले नेपाली जनतालाई महान् एकताको सूत्रमा गाँस्नेछ ।
सन्दर्भ सामग्रीहरू
१) नरोद्धम सिंहानुक, विलफ्रेड बुर्चेड, “सिआईए विरुद्ध मेरो लडाइँ”
२) “क्रान्तिकारी कम्युनिस्ट पार्टी, संयुक्त राज्य अमेरिकाको चिठ्ठी नेकपा (माओवादी)लाई”, ४ अगस्त २००८
३) रेशम चौधरी, “परिबन्ध”
४) एन्टोनियो ग्राम्सी, “साँस्कृतिक और राजनीतिक चिन्तनके बुनियादी सरोकार”, ग्रन्थशिल्पी (इण्डिया) प्रा. लि., नयाँ दिल्ली
५) लेनिन, “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन की एकता”, प्रगति प्रकाशन, मास्को, अनुवाद– त्रिभुवन नाथ, सन् १९६७
६) लेनिन, “माक्र्सवाद र विद्रोह”, अनुवादक– राजेन्द्र मास्के, प्रकाशक– विविध पुस्तक भण्डार, अद्वैतमार्ग, काठमाडौं

स्राेत: जनपत्रिका चाैथाे अङ्क

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार