सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

डेली न्युजराप्ती       ७ भाद्र २०८० ०९:५९ मा प्रकाशित     275 No Comments

काठमाडौँ । आज भाद्र शुक्ल अष्टमी सुदूरपश्चिममा उज्याली गौरा पर्व मनाइँदै छ । भाद्र महिनामा मनाइने यो पर्व यो वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमी पारेर मनाउन लागिएको हो । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । त्यसैले यो वर्षको गौरा पर्वलाई उज्याली भनिएको हो । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउन नहुने मान्यता रहेको छ । सूर्य सिंह राशिमा रहेकै बेला गौरा मनाउनुपर्ने शास्त्रीय ब्याख्या रहेको छ । गौरा पर्वलाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरिन्छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले ‘महादेव बर पाऊँ’ भनी भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा गौरा पर्व मनाउने गरिन्छ । गौरा पूजाका लागि कुश, काँस, सामा, तितेपाती र अपामार्ग अथवा तिलको बिरुवा राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन निराहार बसी पूजा गर्ने परम्परा रहेको छ । यो पर्वका लागि श्रावण शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ भने अष्टमीमा भगवतीको पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार