विप्लवका युवाहरुले सी जातीको कानुनी मान्यताका लागि सुरु गरे हस्ताक्षर संकलन,सयौंले गरे हस्ताक्षर

डेली न्युजराप्ती       १५ जेष्ठ २०८१ २३:०९ मा प्रकाशित     159 No Comments

जेठ १५ , तुलसीपुर ।

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल दाङले सी जातीको कानुनी मान्यताका लागि हस्ताक्षर संकलन सुरु गरेको छ ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार संगठनको जिल्ला समिती दाङले सोमबार जिल्लाको तुलसीपुर , घोराही लगाएतका क्षेत्रमा हस्ताक्षर संकलन सुरु गरेको हो ।

युवा संगठन नेपालले सी जातीबाट नागरिकता बनाउन पाउनुपर्ने वा कानुनी मान्यता दिनुपर्ने माग राख्दै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले पार्टीको नवौं महाधिवेशनबाट सी जातीको अवधारणा सहित अहिले देशैभरीका नेताकार्यकर्ताले लागू समेत गरिरहेका छन् ।

कम्युनिस्टहरुले अन्तर्राष्ट्रिय जातीको कुरा मात्रै गर्ने तर अहिलेसम्म मानव समाजलाई एउटा समान , साम्यवादी , कम्युनिस्ट जाती दिन नसकेको भन्दै सी जाती बनाएको बताउने गरेको छ ।

नेकपाका अनुसार सी जाती भनेको मानव समाजको समान , कम्युनिस्ट , साम्यवादी जाती हो ।

युवा संगठन नेपाल दाङले सोमबारदेखि सुरु गरेको हस्ताक्षर संकलन अभियानमा जिल्लाका सयौं नागरिकले हस्ताक्षर गरेका छन् ।

तुलसीपुरमा हस्ताक्षर संकलन अभियानको उद्घाटन पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ इन्चार्ज प्रदिप सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी लगाएतका नेताहरुले गर्नुभएको जनाएको छ ।

यस्तै युवा संगठन नेपाल दाङले घोराही बजारमा सुरु गरेको हस्ताक्षर संकलन अभियानको उद्घाटन पार्टीका केन्द्रीय सदस्य एवम दाङ २ नं.क्षेत्र इन्चार्ज पाटन जंगली सी , पार्टीका घोराही नगर इन्चार्ज विकाश सी लगाएतका नेताहरुले गर्नुभएको थियो ।

जिल्लाभरी संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बुझाइने कार्यक्रम रहेको युवा संगठन नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार