तुलसीपुर स्थित बबई क्याम्पसको स्टाफ मिटिङमा के भएको हो? किन गठन भयो छानवीन समिति?

डेली न्युजराप्ती       २ भाद्र २०८३ १९:१९ मा प्रकाशित     210 No Comments

हेमन्तप्रकाश वली ।

तुलसीपुर । राप्ती बबई क्याम्पस तुलसीपुर, दाङले सहप्राध्यापक युवराज रावतलाई क्याम्पसको आचारसंहिता विपरीतका गतिविधि नगर्ने प्रतिबद्धता पत्र पेश गर्न निर्देशन दिएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीले हस्ताक्षर गरेको पत्रमा क्याम्पसमा भएको विवादका सम्बन्धमा सञ्चालक समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। पत्रअनुसार क्याम्पस प्रमुखले आयोजना गरेको स्टाफ मिटिङमा भएको विवादबारे सञ्चालक समितिले चासो लिएपछि कोषाध्यक्ष विनिल केसीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
छानबिन समितिले क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूसँग छलफल गरी प्रतिवेदन पेश गरेको पत्रमा उल्लेख छ। सोही प्रतिवेदनका आधारमा सहप्राध्यापक रावतलाई अब उप्रान्त अमर्यादित क्रियाकलाप तथा व्यवहार नगर्न सुझाव दिइएको छ।
सञ्चालक समितिले रावतलाई एक हप्ताभित्र क्याम्पसको आचारसंहिता विपरीत गतिविधि नगर्ने प्रतिबद्धता पत्र सञ्चालक समितिमा पेश गर्न निर्देशन दिएको छ।
पत्रमा आगामी दिनमा यस्ता अमर्यादित गतिविधि दोहोरिएमा क्याम्पस सञ्चालक समितिले संस्थाको नियमानुसार आवश्यक कारबाही गर्ने व्यहोरा समेत जानकारी गराइएको छ।
क्याम्पस सञ्चालक समितिको पत्र मार्फत उक्त निर्देशन दिइएको हो। राप्ती बबई क्याम्पस तुलसीपुर क्षेत्रको महत्वपूर्ण सामुदायिक शैक्षिक संस्था हो र यसले विगतदेखि शैक्षिक तथा संस्थागत विकासका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

यता क्याम्पस प्रमुख गणेश पार्धेले स्टाफ मिटिङमा पुर्व क्याम्पस प्रमुख तथा सहप्राध्यापक युवराज रावतले आफुलाई मिटिङमै अपमानजनक अपशब्द प्रयोग गरेकाले क्याम्पस सञ्चालक समितिले छानवीन समिति बनाएर प्रतिबद्धता पत्र पेश गर्नुपर्ने निर्णय निकालेको बताए ।

उनले भने– ‘पुर्व क्याम्पस प्रमुखले स्टाफ मिटिङमा मलाई गम्भीर अपमानजनक र अपशब्द प्रयोग गर्नुभएको हो । त्यसकारण विवाद उत्पन्न भएको हो ।’

यस्तै विवादका बारेमा पुर्व क्याम्पस प्रमुख तथा सहप्राध्यापक युवराज रावतले भने – ‘मिटिङमा फ्लोर खुल्ला भएपछि म बोल्दै गर्दा क्याम्पस प्रमुखले त नबोल चुप लाग शब्द प्रयोग गरेपछि त्यसको प्रतिक्रिया दिएको हुँ । क्याम्पसको सर्वोपरि हितबाहेक अरु कहिल्यै केहि सोचिन तर क्याम्पस प्रमुखको बोली चित्त बुझेन, प्रतिक्रिया दिएको हो । मैले पनि चार वर्ष क्याम्पस चलाएको हुँ , पदिय मर्यादा के हो मलाईपनि थाहा छ ।’

पुर्व क्याम्पस प्रमुख रावत र हालका क्याम्पस प्रमुख पार्धेबिच बैठकमै विवाद उत्पन्न भएपछि सञ्चालक समितिका कोषाध्यक्ष बिनिल केसीको नेतृत्वमा सञ्चालक समितिका सदस्य प्रह्लाद शाह , स्ववियु अध्यक्ष प्रमोद भण्डारी सम्मिलित ३ सदस्यीय छानवीन समिति गठन गरिएको थियो ।
समितीले सहप्राध्यापक रावतलाई अबका दिनमा अमर्यादित गतिविधि नगर्न सञ्चालक समितिलाई प्रतिबद्धता पत्र पेश गर्नुपर्ने निर्णय निकालेको उल्लेख छ।

क्याम्पसमा देखिएको विवादप्रति स्ववियूको ध्यानाकर्षण, संवादबाट समस्या समाधान गर्न आग्रह:
राप्ती बबई क्याम्पस तुलसीपुरमा पछिल्लो समय देखिएको असमझदारी तथा विवादप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्ववियूले क्याम्पसलाई शान्त, मर्यादित र शैक्षिक वातावरण कायम रहने गरी समस्या समाधान गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।
स्ववियू राप्ती बबई क्याम्पसले क्याम्पस प्रमुखसमक्ष बुझाएको ध्यानाकर्षण पत्रमा क्याम्पस केवल एउटा शैक्षिक संस्था मात्र नभई सम्पूर्ण विद्यार्थी, शिक्षक तथा प्राध्यापकको साझा प्रतिष्ठासँग जोडिएको संस्था भएको उल्लेख गरिएको छ।
पत्रमा पछिल्लो समय क्याम्पसमा उत्पन्न असमझदारी तथा तनावका विषयमा विभिन्न तिक्तता र आरोप–प्रत्यारोप सार्वजनिक हुन थालेको भन्दै त्यसले क्याम्पसको गरिमा, विद्यार्थीको मनोबल तथा शैक्षिक वातावरणमा नकारात्मक असर पार्न सक्नेप्रति चिन्ता व्यक्त गरिएको छ।
स्ववियूले क्याम्पसमा देखिएका समस्या तथा असमझदारीलाई आपसी संवाद, समझदारी र सहकार्यका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ। व्यक्तिगत असमझदारीलाई संस्थागत विवादको रूप नदिन तथा कुनै पनि पक्षबाट अमर्यादित अभिव्यक्ति वा व्यवहार नहोस् भन्नेतर्फ समेत स्ववियूले ध्यानाकर्षण गराएको छ।
क्याम्पसको शैक्षिक वातावरणलाई थप मर्यादित, सहज र प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने भन्दै स्ववियूले आवश्यक परेमा संवाद र सहजीकरणका लागि आफू तयार रहेको जनाएको छ।
स्ववियूका सभापति प्रमोद भण्डारी र सचिव टोपबहादुर वलीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा क्याम्पसको शैक्षिक वातावरण सुधार गर्दै विद्यार्थीको हित र संस्थाको गरिमा कायम राख्न सम्बन्धित पक्षको गम्भीर पहल आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार