साउन ३ , तुलसीपुर ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लामा धान रोपाइँको औपचारिक उद्घाटन गरेको छ ।
बिहिवार तुलसीपुर-१६ कन्ज्वारमा रहेको करिव अढाई बिघा जमिनमा धान रोपेर धान रोपाइँको औपचारिक उद्घाटन गरिएको नेकपाले जनाएको छ ।
जिल्लाभरीको धान रोपाइँको औपचारिक उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले राजनीति भनेको जनताको जीवन बदल्ने कुरा भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो– ‘राजनीति भनेको जनताको जीवन बदल्ने , जनतालाई श्रममा जोड्ने , नेताकार्यकर्तालाई उत्पादन जोड्ने , देशलाई आत्मनिर्भर बनाउने र यथास्थितिलाई भंग गर्ने हो । सत्तामा जाने , जनतालाई वास्ता नगर्ने मन्त्री , सांसद हुने , सरकार फेरवदल गरिरहने र जनताको जनजीवनको वास्ता नगर्ने त्यो चाहिँ राजनीति होइन । हामिले गरिरहेको राजनीति असली राजनीति हो , यसले देश र जनतालाई नयाँ जीवन प्रदान गर्छ ।’
नेता सविनले नेकपाको राजनीति जनतालाई सचेतना प्रदान गर्ने र राष्ट्रलाई आत्मनिर्भर बनाउने भएको समेत बताउनुभएको हो ।
कृषि उत्पादनलाई प्रविधिसंग जोड्ने सोचेका छौँ।’, उहाँले भन्नुभयो , ‘ अहिले हामिले कृषिलाई श्रम र लगानीसंग मात्रै जोडेका छौं तर अब हामी उत्पादनलाई प्रविधिसंग जोड्छौ र नाफामा जान्छौं ।’
नेता सविनले यो समय भनेको धान रोप्ने भएकाले यतिबेला सबै राजनीतिक दलहरु उत्पादनमा सहभागी हुनुपर्ने बेलामा सत्ताको जोड घटाउमा लाग्ने , सरकार फेर्ने , मन्त्री हुने कुराको कुनै औचित्य नभएको समेत जिकिर गर्नुभएको थियो ।
उहाँले नेपालका अन्य राजनीतिक दलहरुसंग नेपाल कम्युनिस्ट पार्टी उत्पादनमा प्रतिस्पर्धा गर्न तयार रहेको समेत ठोकुवा गर्नुभएको हो ।
धान रोपाइँमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सम्झना सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन सी , पार्टीका केन्द्रिय सदस्य एवम दाङ क्षेत्र नं.१ इन्चार्ज विक्रम सी ,पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य विकाश सी , पार्टीका जिल्ला सचिव तिलक सी लगाएत जनवर्गीय संगठन केन्द्रीय सदस्यहरु , जिल्लाका संयोजकहरु , नेकपा तुलसीपुर अन्तर्गतका सम्पुर्ण नेताकार्यकर्ताहरुको सहभागीता रहेको छ ।
नेकपा जिल्ला सचिव तिलक सीका अनुसार तुलसीपुरमा रहेको उत्पादन केन्द्रको करिव ६०% रोपाइँको काम सम्पन्न भएको जानकारी दिनुभएको छ ।
पार्टीको आत्मनिर्भर उत्पादनको नितिले पार्टीका नेताकार्यकर्ता र देशलाई नयाँ रक्तसञ्चार गरेको समेत बताउनुभएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.