तुलसीपुर, ९ असाेज । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगी अहिले बिदामा हुनुहुन्छ । अहिले सम्म सबैभन्दा बढी लामो समयसम्म बिदा बस्ने प्रमुख प्रशासकीय अधिकृतको रुपमा डाँगीले आफ्नो परिचय बनाउनु भएको छ । पटक पटक बिदा समेत गरेर झण्डै ६ महिनाको अवधिमा २ महिना भन्दा बढी बिदा बसिसकेको उपमहानगरपालिका स्रोतले बताएको छ । भदौ महिना यतामात्रै डाँगी करिब २२ दिन बिदा बस्नुभएको छ ।
भदौ ९ गते बिदामा बस्नुभएका प्रमुख प्रशासकीय अधिकृत डाँगी भदौ २८ गतेको कार्यपालिका बैठक भेटाउने गरि २७ गते दिउँसो कार्यालयमा हाजिर हुनुभयो । कार्यपालिका बैठक सकेर भोलिपल्ट २९ गते बिदामा बस्नु भएका अधिकृत डाँगी असोज ४ गते हाजिर हुनुभयो । एक दिन बसेर ६ गते आइतबार प्रशासन प्रमुख विष्णु कुमारी आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर फेरी बिदामा बस्नु भएको छ ।
कसरी भए एकैदिन उपमहानगरमा ४ जना हाकिम
सोमबार देखि लागू हुनेगरि विष्णु कुमारी आचार्यले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनु भएको थियो । सोमबार उहाँको व्यक्तिगत काम परेपछि लेखा अधिकृत खिमलाल वलीलाई माैखिक रुपमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आचार्यले भन्नुभयो । त्यसको केही समयपछि वली घोराहीमा रहेको कोलेनिकामा जानुपर्ने भएपछि शिक्षा शाखा प्रमुख चक्र भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकियो ।
जिम्मेवारी पाएको केहीसमय पछि भण्डारी जिन्सीको अनुगमन गर्न वडामा जानुपर्ने भयो । त्यसपछि पालो आयो जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओम प्रसाद न्यौपानेको । वलीदेखि भण्डारी हुँदै न्यौपानेसम्म सबैले मौखिक रुपमा घण्टा घण्टामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । एकैदिनमा एउटै कार्यालयमा ४ जनाले हाकिमको जिम्मेवारी पाएपछि काम विशेषले गएका सेवा ग्राही समेत झुक्किएका थिए । यता कतिपय स्थानीय विदहरुले ७५३ स्थानीय तह मध्य तुलसीपुर उपमहानगरमा अनाैठाे खाले परिपाटीकाे विकास हुन लागेकाले आफुहरु चकित भएकाे बताए । ‘कानुनमा यसकाे स्पष्ट व्यवस्था छैन । तर याे नाैलाे अभ्यास हाे । कतै सुनिएकाे थिएन । यसकाे सुरुवात तुलसीपुरबाट हुन लागेकाे रहेछ ।’ स्थानीय विद शालिक राम पुडासैनीले भन्नुभयाे ।
यता निमित्त प्रमुख प्रशासकीय अधिकृतको लिखित रुपमा जिम्मेवारी पाउनुभएकी विष्णु कुमारी आचार्यले आवश्यक परे दैनिक १० जनाले पनि निमित्तको जिम्मेवारी पाउन सक्ने बताउनुभयो । ‘मैले हाकिम साबलाई सोधेर कार्यालयमा हाजिर गरेर श्राद्धमा गएकी हुँ । अन्य पालिका जस्तो जनताको काम रोक्नु हुँदैन । काम फटाफट गर्नुपर्छ । त्यही भएर सरहरुलाई जिम्मेवारी तोकिएको हो । उहाँहरुको काम परेर फेरबदल भएको हो । आखिर जनताको काम त रोकिएन । आवश्यक परेमा १० जनाले पनि निमित्तको जिम्मेवारी पाउन सक्छन् ।’ निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले भन्नुभयो ।
तुलसीपुर खबरबाट
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.