भर्खर कृषिकर्म गर्न थालेको मानिसले त्यसबाट उत्साहित हुँदै आपसमा खुसीयाली साट्दै मनोरञ्जन गर्न सुरुवात गरिएको दशैंलाई शासनसत्ताले आफ्नो हित अनुकूल बनाउँदै लैजाने सन्दर्भमा धार्मिक चाडका रूपमा विकास गरेको हो।
डा.कृष्णराज अधिकारी
संस्कृति र चाडपर्व
हामीले मान्दै आएका विभिन्न चाडपर्व, जात्रा र उत्सवहरू संस्कृतिका अभिन्न अङ्ग हुन्। यिनीहरूको उत्पत्ति वा सुरुवात जहिलेदेखि भए पनि तिनीहरू तत्कालीन सामाजिक आवश्यकताका उपज थिए। मानव जातिले भौतिक र बौद्धिक श्रमद्वारा समाजलाई समृद्ध र जीवन्त तुल्याउनका लागि निर्माण गरेका वस्तु नै संस्कृति हुन्। यसैले सभ्यता र संस्कृति भौतिक र मानसिक विकासका परिचायक हुन्छन्। कुनै पनि सभ्यता र संस्कृतिले मानिसलाई परिष्कृत र समाजलाई व्यवस्थित बनाउन सघाउ पुर्याएको हुन्छ। यसैले समाजमा मात्र संस्कृतिको अस्तित्व रहन्छ, समाज बाहिर र मानिस बाहिर यसको अस्तित्व रहन सक्तैन। विभिन्न श्रमजन्य कार्यहरूका साथै चाडपर्व, रीतिरिवाज, रहनसहन, विश्वास र प्रथामा मात्र होइन, विज्ञान, कला, दर्शन र नैतिकतासम्म योे फैलिएको हुन्छ। यसैले यो मानिसको जीवनशैलीमा जोडिएर आएको हुन्छ। समय र परिस्थितिअनुसार मानिसका आवश्यकताहरू परिवर्तन हुँदै जाने र सोहीअनुसार समाजको स्वरूप परिवर्तन हुने भएकाले संस्कृतिको पनि निरन्तर परिवर्तन र विकास हुँदै जान्छ। संस्कृति त मानिसले आफूलाई अन्य जनावरभन्दा उन्नत, विशिष्ट, सभ्य र विवेकशील प्राणीको रूपमा उभ्याउन खोज्दा अपनाएका वा लागू गरेका क्रियाकलाप र सिर्जना हुन्। संस्कृतिलाई नाचगान, मेलापर्व चाडवाड र संस्कार जस्ता मनोरञ्जनका साधनमा सीमित गर्न खोज्नु संकीर्ण र अपूर्ण बुझाइ हो। संस्कृति समग्र मानवीय चिन्तन र व्यवहारमा प्रकट भएको हुन्छ।
दशैं : परम्परा र मान्यता
दशैंं जस्ता कतिपय चाडपर्वहरूको थालनी खोज्दै जाँदा हामी सभ्यताको आदिम युगतिर पुग्न सक्छौं। मानिसले समाजको आवश्यकताबोध गरी समाजमा बस्न थालेदेखि र खेती र पशुपालनको सुरुवात गरेदेखि नै उसले कृषि औजार बनाउन र श्रमको व्यवस्थापन गर्न थालेको हो। खाद्यान्नको लागि खेतीपाती अनि दूध र मासुको आपूर्तिका लागि पशुपालनको आवश्यकता देखी त्यसलाई व्यवस्थित रूप दिन, आवश्यक श्रम गर्न र खेती भित्र्याएपछि आराम र मनोरञ्जन गर्न उसले श्रम, आराम र मनोरञ्जन गर्ने निश्चित संस्कार र संस्कृतिको विकास गर्दै गयो । यही संस्कृति निर्माण गर्ने क्रममा नै अहिलेका कतिपय चाडपर्वहरूको सुरुवात भएको पाइन्छ।
दशैं ‘दशमी’ शब्दबाट बनेको हो। एकथरि समाजशास्त्रीहरूको भनाइअनुसार आर्यहरू भारतीय भूमिमा प्रवेश गर्नुअघि नै त्यहाँका रैथाने (अनार्य, सम्भवतः द्रविड) हरूले दशैं मनाउने गरेका थिए। कृषि र पशुपालनका काम गर्न थालेपछि मानिसहरू श्रममा तल्लीन हुन थाले। जौ, गहुँ, मकै जस्ता अन्नहरू लगाउने, गाई–भैंसीहरू पाल्ने जस्ता कृषिकर्महरू गर्दै आएका उनीहरूले अथक प्रयत्नपछि कृषिकार्यबाट पाएको सफलताले आनन्दित हुँदै जौ, गहुँ, मकै जस्ता अन्नका भर्खरै उम्रेका विरुवा (जमरा)हरू एकअर्काको शिरमा र आफूले फलाएका धानका चामललाई दहीमा मुछेर निधारमा लगाइदिँदै खुसीयाली साट्ने र मनोरञ्जन लिने कार्य गर्दथे। जमरा, दही र अक्षता त्यही कृषि कार्यको सफलताको उपज थियो। भारतीय भूमिमा प्रवेश गरेका आर्यहरूले त्यहाँका रैथाने मानिसहरूका कतिपय त्यस्ता संस्कार र परम्परालाई आफ्ना संस्कार र परम्परामा मिसाई अवलम्बन गर्न थाले। दसैंको बीज रूप सम्भवतः त्यही थियो।
शासनसत्ताको स्थापना र दास विद्रोहको दमनपछि शासक वर्गहरूले दशैंलाई आफ्नो हित अनुकूल बनाउन त्यसमा राक्षस र देवताका अनेकौं किम्बदन्ती र मिथकहरू जोड्न थालेको पाइन्छ। देवता वा सुरहरूले अनार्य (द्रविड र अन्य रैथाने जाति) हरूलाई मात्र होइन आर्यभन्दा फरक वर्ण, धर्म र समुदायका सबै मानिसहरूलाई असुर, राक्षस, दैत्य, पिशाच, किचक, गन्धर्व, किन्नर आदि भन्दै वदनाम गर्नुका साथै उनीहरूमाथि निरन्तर दमनको नीति अख्तियार गर्न पुगे। उनीहरूप्रति घृणा जगाउन र आर्य नेतृत्वप्रति श्रद्धाभाव प्रकट गराउन विभिन्न पौराणिक आख्यान र मिथकहरूको सृजना गर्न पुगे। यसै सन्दर्भमा दशैं जस्ता चाडपर्वहरूलाई पनि उनीहरूले दुर्गा भगवती र महिषासुर अनि राम र रावणको पौराणिक मिथकहरूसँग जोड्दै दुर्गाले महिषासुरमाथि र रामले रावणमाथि विजय गरेको सन्दर्भसँग जोडी दशैंलाई धार्मिक स्वरूप दिन पुगे।
पौराणिक सन्दर्भ र मिथक
मार्कण्डेय पुराणमा उल्लेख गरेअनुसार देवराज इन्द्र र राक्षसराज महिषासुर बीचको युद्धमा देवताहरूको हार भएपछि महिषासुरलाई जित्न नसक्ने बुझेका देवताहरूले अत्यन्त रूपवती नारीलाई अघि सारी युवतीप्रति मोहित महिषासुरलाई षड्यन्त्रपूर्वक हत्या गरिएको थियो। यही खुसियालीमा देवीको पूजा गर्ने, बली दिने र टीका लगाउने चलन चलाइएको भन्ने गरिन्छ। यससँग जोडिएको अर्को कथाअनुसार अयोध्याका राजकुमार रामचन्द्रकी पत्नी सीतालाई लङ्काको राजा रावणले हरेर लगेपछि सीतालाई फर्काउन रामचन्द्रले दुर्गा भगवतीको नौ दिनसम्म पूजा आराधना गरी दशौं दिनका दिन टीका लगाएर विजयका लागि प्रस्थान गरेका र रावणमाथि विजय गरेको हुनाले दशैं मनाउने गरिएको भन्ने पाइन्छ। पहिला चैतमा मनाइने गरेको दशैं पछि काम र मौसमको अनुकूलता हेरी असोजको सुन्दर शरदमा सारिएको थियो। यसरी असोजमा सारिएको दशैंलाई ठूलो दशैं भन्दै चैतको दशैंलाई चैते दशैंका रूपमा मान्न थालिएको पाइन्छ।
यसरी कृषिकर्मलाई प्रोत्साहन गर्न, त्यसको सफलताबाट खुसी साटासाट गर्न अनि विश्राम र मनोरञ्जन लिने कार्यबाट सुरु भएको दशैंलाई पछि हिन्दूहरूको धार्मिक चाडका रूपमा उभ्याउँदै शक्ति पूजामा रूपान्तरण गरियो। शक्ति शासकहरूसँग हुने भएकाले शासकहरूको भक्ति गर्न र उनीहरूका विरुद्ध आवाज ननिकाल्न दशैंले प्रेरित गरिरह्यो।
दसैंको सन्दर्भमा आउने उल्लिखित कथाहरूले गैर आर्यहरूप्रति घृणा वा नकारात्मक भाव जागृत गर्ने गरिएको भए पनि कतिपय स्थान र जातिहरूमा अझै पनि अनार्यगणका प्रमुख मानिने महिषासुरको मूर्ति बनाई पूजा गर्ने गरेको समेत पाइन्छ। नेपालकै हुम्लाको मैला गा.वि.स.मा महिषासुरको ठुलो थान रहेको र ‘लोँगो’ भनिने महिषासुरलाई जस्तोसुकै सङ्कट पार लगाउन सक्ने देवताका रूपमा स्थानीय जनताले मान्ने गरेका छन् (महर्जन, २०७०, ६ः३१)। पश्चिम वङ्गालको जलपाइगुडी जिल्लास्थित अलिपुर क्षेत्र वरपर माझेरडाबरी चिया बगानमा अझै पनि असुर जातिका मानिस बस्ने गर्दछन्। उनीहरू दशहराको बेला महिषासुरको पराजयमा शोक मनाउने गर्दछन्। आफूलाई असुर बंशज ठान्ने तिनका अनुसार महिषासुर स्वर्ग र पृथ्वीलोकमा सबैभन्दा शक्तिशाली थिए। उनी लामो समयसम्म बाँचे भने मानिसहरूले देवी देवताहरूलाई पूजा गर्न नै छाड्ने त्रास बढेकाले षड्यन्त्रपूर्वक उनलाई मारिएको थियो।
मानवशास्त्री समर विश्वासका अनुसार असुरहरू मूलतः झारखण्डको चाइबासा र उडिसामा बस्ने आदिबासी जनजाति हुन्। जे.एन.यु. कि प्रोफेसर सोना झरिया मिंजका अनुसार हिन्दू धर्मग्रन्थमा वर्णन गरिएका कथा र मिथककै समानान्तर रूपमा शुद्र र आदिबासी समाजमा पनि त्यस्ता कथा र मिथक प्रचलित छन्। हुणहरूका राजा महिषासुर सबैभन्दा प्रसिद्ध असुर थिए जसले यो भूखण्डमा महिष (भैंसी) पालनको सुरुवात गराएका थिए। त्यस क्षेत्रमा अहिले पनि महिषासुरको मात्र होइन मण्डारक, लवासुर (लवणासुर) जस्ता असुर तथा असुरहरूका संरक्षक शिवको भव्य पूजा गरिन्छ (गौतम, २०६८) । भैंसीसँग जोडिएको उसको नाउँलाई हेर्दा महिषासुरले नै यस क्षेत्रमा भैंसीपालन कार्यको सुरुवात गरी त्यसलाई प्रोत्साहन गरेको सन्दर्भ सम्भावनाको नजिक देखिन्छ।
ऐतिहासिक सन्दर्भ
दशैं शक्तिपूजाको पर्व हो। प्राचीन समयमा लडाइँमा विजय प्राप्त गर्न सक्ने व्यक्ति नै शक्तिशाली मानिन्थ्यो। स–साना राज्यहरू भएको त्यस समयमा राज्यको सिमानामा मौलो गाड्ने गरिन्थ्यो। मौलो गाड्ने ठाउँलाई कोत भनिन्थ्यो। त्यहाँ नौजवान व्यक्तिहरूवीच सामरिक प्रतिस्पर्धा गराई जित्ने व्यक्तिलाई लडाइँका निम्ति छनौट गरिन्थ्यो। तिनलाई ‘जोदाहा’ भनिन्थ्यो। राज्यले सेना राख्ने चलन नभएको त्यस समयमा तिनै जोदाहालाई लडाइँमा पठाइन्थ्यो। त्यसरी गाडिएको मौलोमा पूजा गरी बली दिने गरिन्थ्यो। यो चलन राजा द्रव्य शाहको पालादेखि चलेको पाइन्छ।
दशैंको सन्दर्भ वैदिक वाङ्मयमा पाइँदैन। दशैं र दुर्गादेवीको उग्र स्वरूपका बारे वैदिक साहित्यमा कुनै चर्चा भेटिँदैन। यो मध्यकालदेखि प्रचलनमा आएको देखिन्छ। दुर्गा र महिषासुरको कथा ईशाको चौथो–पाँचौ शताब्दीतिर लेखिएको मार्कण्डेय पुराणअन्तर्गत ‘दुर्गाशप्तसती’ मा पाइनुबाट यसको पुष्टि हुन्छ। मध्यकालमा नेपालमा शैव, शाक्त, वैष्णव र वैदिक सनातनी सम्प्रदायहरूको अस्तित्व थियो र शाक्त र तन्त्रको प्रभाव अत्यधिक थियो। बली प्रथा त्यही शाक्त र तन्त्रको प्रभावले सुरु भएको पाइन्छ।
तान्त्रिकहरू मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन जस्ता पञ्चमकारमा विश्वास गर्दथे। देवी दुर्गाको मूर्तिमा पनि मुण्डमाला धारण गरेकी र हातहरूमा खड्ग, बज्र, वाण, चक्र, त्रिशुल, ढाल जस्ता शस्त्र लिनुका साथै सिंहमाथि चढेर दैत्यको केश समातेको भयोत्पादक उग्र रूप देखिन्छ। यो तन्त्रशास्त्रको करामत हो। पछिल्लो समयमा तन्त्र र शाक्त सम्प्रदाय हराउँदै गएको भएपनि मध्यकालको प्रभाव पछिसम्म रहिरहेको पाइन्छ। दशैंमा गरिने खड्ग(खुकुरी) पूजा अनि उपत्यकामा मनाइने खड्गजात्राले पनि शस्त्र वा हतियारलाई महत्व दिनुका साथै बलिप्रथाको सङ्केत गर्दछ।
दशैंका लागि ‘महान् चाड’, ‘संपूर्ण हिन्दूहरूको पर्व’, ‘विजया दशमी’, ‘बडा दशैं’ ‘राष्ट्रिय पर्व’ जस्ता विशेषण र पदावली पछि आएर थपिएका हुन्। राजेन्द्र विक्रमका पालामा पृथ्वीनारायण शाहलाई बूढा महाराज भनिएको र पछि बुढा महाराजलाई बडामहाराज भन्न थालिएझैं दशैंलाई पनि ‘ठूलो’ भन्ने अर्थमा अछि आएर ‘बडा दशैं’ भन्ने गरिएको पाइन्छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले नेपालमा प्रचलित सबै संस्कृति राष्ट्रिय संस्कृति हुन् र सबै चाडपर्व राष्ट्रिय चाड हुन्। आफू जुन समुदायको हुन्छ उसका लागि त्यही समुदायको संस्कृति नै महान् र राष्ट्रिय लाग्छ। यसैले कुनै एउटा चाडलाई मात्र महान् भन्नु भनेको अन्य चाडलाई उपेक्षा गर्नु हो। महिषासुरमाथि देवी दुर्गाको र रावणमाथि रामचन्द्रको विजयको कथासँग जोडेर दशैंलाई विजया दशमी भन्नु पनि औचित्यपूर्ण देखिँदैन।
सामाजिक सन्दर्भ
शक्तिको पूजा गरिने चाड भएकाले नेपालका शासकहरूद्वारां सबै नेपालीलाई दशैं मान्न लगाउने गरी यसको महत्वबारे निकै प्रचार गरियो। सरकारी कर्मचारीहरूलाई पन्ध्र दिनको बिदा दिएर मात्र नपुगी सुरुमा दशैं पेश्की र पछि दशैं खर्च भनेर एक महिनाको तलव दिने अनि दशैंका लागि भनेर सरकारले नै तिब्बतबाट भेडा–च्याङ्ग्रा ल्याइदिने भएपछि दशैले व्यापकता पायो। पृथ्नीनारायण शाहका पालादेखि गोरखाबाट फूलपाती लिएर काठमाडौं लैजाने प्रचलन पनि दशैंलाई प्रबद्र्धन गर्ने अर्को कार्य थियो। यसरी राज्यले नै दशैंलाई प्रबद्र्धन गर्दै अत्यधिक महत्व दिएपछि यसले फैलिने अवसर पाएको हो। दशैंमा शक्तिको पूजा गरिने र शक्ति शासक वर्गमा हुने भएकाले जनतालाई शासकप्रति निष्ठावान बनाउन दशैंको महत्व स्वतः सिद्ध थियो। यसैले पञ्चायतकालमा यसलाई अत्यन्त महत्वका साथ प्रचार र प्रवद्र्धन गरिएको पाइन्छ।
धार्मिक जडता बोकेको बलिप्रथा दशैंको सबैभन्दा विरूप पक्ष हो। दशैंमा देवीलाई बलि दिने निहुँमा लाखौं पशुपंक्षीहरूको काटमार, टीकाका रूपमा लाखौं किलो अनाज नष्ट, पाँच–छ दिनसम्म आफन्तसँग टीका लगाउने परिपाटी, नौ दिनसम्म मन्दिरमा लाग्ने भीड, सम्पन्न वर्गमा रवाफ र विपन्न वर्गमा उदासिनता, धार्मिक आडम्बर अनि जातीय, लिङ्गीय र वर्गीय विभेदको स्थितिले दसैं आम मानिसहरूका लागि निकै बोझिलो, अरूचिकर र अनावश्यक बन्दै गएको देखिन्छ। पछिल्लो समयमा आउँदा दशैंमा उपभोक्तावादी–पुँजीवादी संस्कार समेत मिसिन पुग्यो। विपन्न वर्गहरूका लागि दशा बन्दै गएको दशैं मध्यम वर्गहरूमा समेत यो ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्ने’ बाध्यात्मक अवस्था बन्दै गएको छ।
आफूभन्दा ज्येष्ठ र मान्यजनको हातबाट टीका लगाउने प्रचलन आफैंमा नराम्रो नभएपनि यसमा समेत विकृति आउन थालेको छ। वरिष्ठ र मान्यजनका हातबाट टीका लगाउने नाउँमा उच्च ओहदाका व्यक्ति, हाकिम अनि नेता र मन्त्रीदेखि राष्ट्रपतिसम्मका व्यक्तिहरूको हातबाट टीका लगाउने, नगद र उपहारहरू प्रदान गरी आफ्ना लागि शुभलाभको अवसर जुटाउने प्रवृत्तिले चाकडी र दास–मालिक प्रथालाई नै प्रश्रय दिँदै आएको छ। पहिला राजाको हातबाट टीका थाप्न भीड लाग्नेहरू अहिले राष्ट्रपति र प्रधानमन्त्रीका हातबाट टीका थाप्न भीड गर्नुले यसलाई पुष्टि गर्छ। यसैगरी आफूभित्रका खराव प्रवृत्ति त्यागी सकारात्मक कार्यका लागि शक्ति सञ्चय गर्नु आफैंमा राम्रो भएपनि शक्ति–पूजाको नाउँमा शासन सत्तामा रहेका व्यक्तिको पूजा गर्नु वा चाकडी र स्तुति गर्नुले मानिसका नैतिकता, स्वाभिमान, न्याय र सत्यमाथिको मनोबललाई कमजोर पार्दै दास मनोवृत्तिलाई नै बढावा दिएको छ।
संस्कृतिमा वर्गीयता
समाज वर्गविभक्त भएपछि मानिसले आफ्नो भौतिक र मानसिक श्रमद्वारा निर्माण गरेको संस्कृतिमाथि पनि वर्गीय प्रभाव पर्न गयो। शासक वर्गले हरेक संस्कार र संस्कृतिलाई आफ्नो हित अनुकूल बनाउँदै लगे। शासकहरूद्वारा संरक्षित पण्डित–पुरोहितहरूले विभिन्न पौराणिक आख्यान–उपाख्यानको सिर्जना गर्दै संस्कृतिलाई पनि धर्मकै अभिन्न अङ्ग बनाइदिए। उनीहरूले देवता र राक्षसको सिर्जना मात्र गरेनन्, शासकहरूलाई देवता र तिनको विरोध वा उपेक्षा गर्नेलाई राक्षसका रूपमा चित्रित गर्दै शासकहरूको आज्ञापालन गर्न र स्तुति–भक्तिद्वारा प्रशन्न पार्न धर्मग्रन्थहरू तयार पारे। हरेकजसो धर्मग्रन्थमा स्वर्गको आश र नरकको त्रास देखाएर मानिसको आलोचनात्मक विवेकलाई बन्धक बनाइयो। ब्राह्मण, क्षेत्री, बैश्य र शूद्र गरी चार किसिमको वर्ण व्यवस्था कायम गरेर मानवजातिकै विभाजन गरेपछि त झन् संस्कार र संस्कृतिमासमेत तीव्र वर्गविभेद सिर्जना हुन पुग्यो।
ब्राह्मणहरूलाई द्विज (दुई पल्ट जन्मने– आमाको गर्भबाट र ब्रतबन्ध गरेपछि) बनाइएपछि तिनका संस्कार र कर्म पनि अरूकोभन्दा उच्च र भिन्न हुन पुगे। शूद्रहरूलाई अछुत र अपवित्र ठहर गर्दै वेद पढ्न र सुन्नलगायत सबै खाले शिक्षाबाट बञ्चित गरी माथिल्ला जातको सेवक मात्र बनाइयो। चाडपर्व, मेला र उत्सबहरू जस्ता मनोरञ्जनात्मक गतिविधिको उपयोग पनि सम्मन्न वर्गहरूले नै गर्दथे। यसरी कृषि कर्मबाट उत्साहित हुँदै जनस्तरबाट सुरु भएको दशैंलाई शासकहरूले आफ्नो हितअनुकूल बनाउँदै धार्मिक पर्वका रूपमा विकास गरेपछि यो जनताको चाडबाट शासकहरूको चाडमा बदलियो। यसलाई शासकहरूले विभिन्न भाषाभाषी, जाति र समुदायमा विस्तार गदै आफ्नो प्रभुत्व बढाउन उद्धत रहे। यसैले आम जनताका लागि यो चाड दशैं नभएर दशा बन्न पुग्यो र भन्ने गरियो—‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई।’
अहिले दशैंभित्र सामन्तवादी संस्कृति मात्र नभएर पुँजीवादी–उपभोक्तावादी संस्कृति समेत मिसिएर प्रतिक्रियावादी संस्कृतिका रूपमा विकास भइरहेको छ। सामन्ती संस्कृतिमा धर्म र ईश्वरका नाउँमा अन्धविश्वास, रुढि, शोषण र विभेद कायम गरिएको हुन्छ भने पुँजीवादी संस्कृतिमा पुँजीका लागि मानिसलाई बँधुवा जनावर जस्तै बनाइएको हुन्छ। पुँजीवादी उपभोक्तावादले मानिसलाई विवेकशील प्राणीबाट वस्तुको उपभोग गर्ने उपभोक्ता मात्र बनाइदिएको छ। दशैंमा एकातिर शक्तिपूजा र बलिका नाउँमा घर र मन्दिरमा लाखौं पशुपंक्षीहरूको काटमार गरिन्छ भने अर्कातिर भोजभतेर, गरगहना र कपडाको प्रदर्शन अनि खर्चको रवाफले यसको प्रतिक्रियावादी सांस्कृतिक चरित्रलाई देखाउँछ।
रूपान्तरण र चुनौती
माक्र्सवादले कुनै पनि वस्तुलाई द्वन्द्वात्मक रूपमा हेर्दछ। कुनै पनि चाडपर्व र संस्कृतिलाई पूरै निषेध गर्ने वा जस्ताको तस्तै अवलम्बन गर्नु मार्क्सवादसम्मत हुन सक्तैन। मार्क्सवादले त अन्धविश्वास, रुढि, विभेद र अवैज्ञानिक पक्षको मात्र विरोध गर्दछ। विगतको संस्कृतिका सकारात्मक तथा उन्नत पक्षहरूलाई आत्मसात गरेर नै मानव सभ्यता अघि बढ्दै आएको हो। यसैले हाम्रा संस्कृति र चाडपर्वभित्र रहेका अन्धविश्वास, रुढि, विज्ञानविरोधी र विभेदजन्य कुराहरूलाई परित्याग गर्दै सकारात्मक कुराहरूलाई विकास गर्दै अघि बढ्नु नै माक्र्सवाद सम्मत हुन जान्छ। लेनिनका शब्दमा—‘माक्र्सवादले क्रान्तिकारी सर्वहारावर्गको विचारधाराका रूपमा आफ्नो विश्व ऐतिहासिक महत्व के कारणले हासिल गर्यो भने त्यसले पुँजीवादी युगका सबैभन्दा मूल्यवान उपलब्धिलाई पटक्कै परित्याग गरेन, बरु उल्टो यसले ती सबैलाई आत्मसात गर्यो र नयाँ रूपमा ढाल्यो जुन मानव चिन्तन र संस्कृतिका दुई हजारभन्दा बढी बर्षहरूको विकासमा मूल्यवान थिए।’ दशैंका सन्दर्भमा पनि यसलाई शासकवर्गको चाड भन्दै पूरै निधेष गर्नु भनेको त्यसभित्र निहित कतिपय सकारात्मक पक्षहरू पनि निषेध गर्नु हो। सांस्कृतिक रूपान्तरणको विषय राजनीतिक रूपान्तरण जस्तो सहज र हठात् नभएर केही अप्ठेरो र बढि समय लिने विषय हो। माओका भनाइमा—‘प्रशासनिक आदेशद्वारा धर्मलाई न उन्मूलन गर्न सकिन्छ न त मानिसहरूलाई धर्ममाथि विश्वास नगर्नका लागि करकाप नै गर्न सकिन्छ। हामी मानिसहरूलाई प्रत्ययवादलाई त्याग्न वाध्य वा माक्र्सवाद अँगाल्न बाध्य गराउन सक्दैनौं।’ दशैं पनि धर्मले जेलिएको चाड भएकाले माओका कुरा यसमा पनि लागू हुन्छ।
दशैंलाई धार्मिक चाडबाट अलग गरी सामाजिक–सांस्कृतिक चाडका रूपमा अघि सार्ने वित्तिकै यसभित्रका विभेद, अन्धविश्वास र रुढिलाई धेरै हदसम्म हटाइ जनताको चाडका रूपमा स्थापित गर्न सकिन्छ। यसमा मिसिन आएको पुँजीवादी–उपभोक्तावादी संस्कृतिको ऐंजेरुलाई पनि सँगसँगै हटाउनुपर्ने हुन्छ। यसका लागि—
१) राज्यले दशैं शब्दको अघि जोड्दै आएका ‘विजया दशमी’, ‘बडा दशैं’, ‘महान् चाड’, ‘राष्ट्रिय चाड’ जस्ता विशेषणलाई हटाई दशैं मात्र प्रयोगमा ल्याउनुपर्छ । उल्लिखित पदावलीले दशैंलाई अन्य भाषा–भाषीका चाडपर्वभन्दा महान् र विशिष्ट देखाउँदै आएको छ। बहुभाषिक र बहुसाँस्कृतिक देश भएकाले कुनै एउटा समुदायको चाडलाई मात्र राज्यले प्रबद्र्धन गर्नु हुँदैन। यसले सांस्कृतिक विभेदलाई बढावा दिन्छ।
२) राज्यले दशैंका सन्दर्भमा दिने गरेको बिदा घटाउनु पर्छ र दशैं खर्च वापत सरकारी कर्मचारीहरूलाई दिने गरेको एक महिनाको तलवसुविधा हटाउनु पर्छ। ठूलो जनसङ्ख्यालाई अलग राखेर सरकारी कर्मचारीलाई मात्रै दशैं मनाउन खर्च दिने परिपाटी विभेदकारी देखिन्छ। बरु चाडपर्व खर्च भनेर सबै नागरिकको खातामा निश्चित रकम राखिदिनुपर्छ जसबाट आ–आफ्नो चाड मनाउन अनुकूल समयमा रकम झिक्न सकून्।
३) सरकार आफैंले खाद्य संस्थान मार्फत् दशैंका लागि भनेर तिब्बत, मुस्ताङ, हुम्ला जस्ता ठाउँबाट भेडा–च्याङ्ग्रा ल्याउने परिपाटी अन्त गरिनुपर्छ। जनताले आवश्यकताअनुसार जहिलेसुकै भेडा–च्याङ्ग्रालगायत वस्तु किनेर ल्याउन सक्ने वातावरण बनाइनुपर्छ।
४) सरकारी तवरबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री आदिका हातबाट टिका लगाइदिने परिपाटी अन्त गरिनुपर्छ।
५) जनस्तरमा दशैंलाई सामाजिक–सांस्कृतिक चाडका रूपमा विकास गरिनुपर्छ। यसका लागि पारिवारिक मिलन, आफन्तजनसँगको भेटघाट, शुभकामना आदान–प्रदान, संयुक्त खानपान, नयाँ कार्यको थालनी आदि गरेर दशैं मनाउन सकिन्छ। परिवारका मान्यजनबाट चामलको नभएर चन्दन वा अबिरको टीका र फूल लगाउन सकिन्छ। टीका दान–दक्षिणरहित गरिनुपर्छ।
६) समुदायस्तरबाटै मन्दिरमा बलि दिने प्रथाको अन्त गराउने प्रयास गरिनुपर्छ (कतिपय मन्दिरमा बलि निषेध गरिन थालिएको पनि छ।)
निष्कर्ष
भर्खर कृषिकर्म गर्न थालेको मानिसले त्यसबाट उत्साहित हुँदै आपसमा खुसीयाली साट्दै मनोरञ्जन गर्न सुरुवात गरिएको दशैंलाई शासनसत्ताले आफ्नो हित अनुकूल बनाउँदै लैजाने सन्दर्भमा धार्मिक चाडका रूपमा विकास गरेको हो। यसैले शासक वर्गीय संस्कृतिका रूपमा विकास भएको दशैंलाई जनसंस्कृतिका रूपमा विकास गर्न यसको धार्मिक सन्दर्भलाई हटाउँदै सामाजिक चाडमा विकास गरिनुपर्छ।
यसैले दशैंले बोकेका सामन्तवादी र पुँजीवादी विकृतिलाई त्याग्दै र यसका सकारात्मक सामाजिक पक्षहरूलाई समेट्दै दशैंलाई नयाँ स्वरूपमा मनाउनु नै विज्ञानसम्मत हुन जान्छ। परिवार र आफन्तजनसँगको भेटघाट, सामाजिक सद्भाव, शुभकामना आदान प्रदान, सामाजिक–सामुदयिक कार्यक्रहरूको थालनी, नकारात्मक प्रवृत्तिहरू त्याग्ने प्रतिज्ञा, अशक्त र कमजोरहरूप्रति सहयोग जस्ता कार्यहरू गरेर दशैं पर्व मनाउन सकिन्छ। यसबाट दशैं हिन्दूहरूको मात्र होइन सबै जात–जातिहरूको, धनीहरूको मात्र होइन सर्वसाधरणको अनि शासक र धार्मिक पण्डाहरूको स्वार्थ पूर्ति गर्न होइन जनताका सामाजिक आवश्यकता पूर्तिको अनि जटिल र बोझिलो नभएर सरल र सहज संस्कृतिको रूपमा कायम रहन्छ।
आज नेपालमा दुईतिहाई निकट मत पाएको कम्युनिस्ट पार्टीले सरकार चलाइरहेको अवस्थामा पनि संस्कार, संस्कृति र चाडपर्वहरूका सन्दर्भमा राज्यले कुनै नयाँ नीति ल्याउन नसक्नु विडम्बना हो। संस्कार, संस्कृति र चाडपर्वहरू समाजबाटै निर्माण र विकास हुने भए तापनि त्यस सम्बन्धमा जनउत्तरदायी राज्यको स्पष्ट नीति आवश्यक हुन्छ। संस्कृति र पर्वका नाउँमा गरिने कतिपय विभेदकारी, जीवन विरोधी र जनघातक प्रथा–प्रचलनहरूलाई भने राज्यले नै नीति वा कानुन बनाएर रोक्नुपर्ने हुन्छ भने उन्नत, वैज्ञानिक र जनपक्षीय संस्कृतिको संरक्षण र विकासलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ। चन्द्र शमसेरले कानुनै बनाएर दासप्रथा र सतीप्रथा जस्ता आपराधिक संस्कारको अन्त्य नगरेका भए संस्कार र संस्कृतिका नाउँमा अरू धेरै बर्ष रहन्थ्यो र हजारौं महिलाहरू जिउँदै जल्नुपर्ने अवस्था हुन्थ्यो।
राज्यले नै अन्धविश्वास, रुढि र विभेदलाई प्रश्रय दिने धर्म, संस्कृति वा चाडपर्वलाई संरक्षण र विकास गर्दै आइरहेको सन्दर्भमा कम्युनिस्ट सरकारले समेत त्यसैलाई निरन्तरता दिनु अर्को विडम्बना हो। राज्यले कुनै एउटा चाडपर्व र संस्कृतिको पक्षपोषण नगर्ने हो भने जनस्तरमा विकास भएका सबै चाडपर्व र संस्कृतिले समान रूपले विकास वा रूपान्तरण गर्ने अवसर पाउँछन्। समाज र समुदायले आवश्यकता र औचित्य देखेसम्म ती कायम रहन्छन् अन्यथा रूपान्तरण वा विलोप हुँदै जान्छन्। दशैंका सन्दर्भमा पनि राज्यले कुनै पनि संरक्षण र प्रबद्र्धन नगर्ने हो भने जनस्तरबाटै यसको रूपान्तरण भई सामाजिक चाडका रूपमा विकास हुन सक्दछ।
प्रमुख सन्दर्भ
कृष्ण गौतम— मधुपर्क, २०६८ असोज
राजेन्द्र महर्जन— कान्तिपुर दैनिक, २०७०ः६ः३१
निनु चापागाई— सांस्कृतिक रूपान्तरण, २०६७
रामधारीसिंह दिनकर— संस्कृतिकी चार अध्याय, २००८ ईं
सुधिकान्त भारद्वाज— वैदिक साहित्यका आलोचनात्मक इतिहास,१९८९ ई.
भि.आइ.लेनिन— सङ्कलित रचनाहरू (विभिन्न भागहरू)
माओत्सेतुङ— चुनिएका रचनाहरू (भाग १–३)
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.