सर्वपक्षीय सरकारको माग राख्दै दाङमा मसाल जुलुस प्रदर्शन

डेली न्युजराप्ती       १६ कार्तिक २०८२ १९:४२ मा प्रकाशित     305 No Comments

तुलसीपुर – नेपाल कम्युनिस्ट पार्टी दाङले देशमा देखिएको गम्भीर राजनीतिक अस्थिरताको अन्त्य र सर्वपक्षीय सरकार गठनको माग गर्दै आज दाङमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

पार्टीले दाङका सबै पालिकाहरुमा मसाल जुलुस प्रदर्शन गरेको जानकारी दिएको छ । २५ स्थानमा मसाल जुलुस प्रदर्शन गरेको जनाइएको छ ।

प्रदर्शनकारीहरुले सर्वपक्षीय अन्तरिम सरकार गठन गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद , अग्राधिकार सहितको समाजवादी संघीयता लागु गर , भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर , युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर , नेकपा जिन्दावाद लगाएतका नारा लगाएका थिए ।

तुलसीपुरको बसपार्कमा आयोजना गरिएको मसाल जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य रुद्र सीले सर्वपक्षीय सरकार गठनको माग गरे ।
उनले भने – ‘जेन-जी , आन्दोलनरत शक्ति , उत्पीडित जाती , क्षेत्र , समुदाय , महिला , दलित सहित सबैलाई समेटेर सर्वपक्षीय सरकार गठन गर्नुपर्दछ । भ्रष्टहरुले लुटेको धन राष्ट्रियकरण गर्नुपर्दछ ।’

नेता रुद्रले मुलुकमा साम्राज्यवाद हस्तक्षेप तिब्र बढेकाले त्यसका विरुद्ध एकतावद्ध भएर लड्न अपिल गरेका थिए।

विप्लव नेकपाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै र देशलाई सही निकास दिन सर्वपक्षीय सहमति आवश्यक रहेको भन्दै देशव्यापी यो विरोध प्रदर्शन गरेको हो।

पार्टीले मुलुकमा देखिएको संकटको समाधानका लागि सर्वपक्षीय सरकारको गठन अपरिहार्य रहेको भन्दै कार्तिक १३ गतेबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियोे ।

नेकपाले कार्तिक २० गते काठमाडौँमा शक्ति प्रदर्शनसहित बृहत जनसभाको आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार