शंकर पोखरेलको सन्देश : “जनादेश रास्वपालाई, हामी निराश हुँदैनौँ”

डेली न्युजराप्ती       २४ फाल्गुन २०८२ १२:४६ मा प्रकाशित     109 No Comments

दाङ। आम निर्वाचन २०८२ को परिणामसँगै देशको राजनीतिक परिदृश्यमा परिवर्तनको संकेत देखिएको छ। निर्वाचन परिणामपछि दाङ २ प्रतिनिधि सभाका उम्मेदवार तथा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनादेशलाई सम्मान गर्दै नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले ठूलो विश्वास दिएको बताएका छन्।

उनले जनताले “नयाँबाट केही हुन्छ कि” भन्ने आशा र विश्वासका साथ मत दिएको उल्लेख गर्दै पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी हुने सबै प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

पोखरेलले आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूले निकै मेहनत गरेको स्मरण गरेका छन्। चुनावी अभियानमा साथ र सहयोग गर्ने शुभेच्छुक, आफन्तजन तथा मतदाताप्रति उनले हृदयदेखि नै आभार व्यक्त गरेका छन्।
तर यसपटक देखिएको ‘परिवर्तन’ को लहरका कारण आफ्नो प्रयास अपेक्षित रूपमा सफल हुन नसकेको उनले स्वीकार गरेका छन्।

त्यसैगरी, आफू उम्मेदवार रहेको प्रतिनिधिसभा–२ निर्वाचन क्षेत्रबाट विपिन आचार्य निर्वाचित भएकोमा उनले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

अन्त्यमा उनले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक रहेको उल्लेख गर्दै निराश नहुन आग्रह गरेका छन्।

“जिन्दगी हो—हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ” भन्ने भावझैँ सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन उनले सबैमा आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार