ग्लोबल करियर काउन्सिलले +२ का ५० विद्यार्थीलाई निःशुल्क अध्ययन स्थल उपलब्ध गराउँदै

डेली न्युजराप्ती       २८ चैत्र २०८२ १२:०५ मा प्रकाशित     316 No Comments

तुलसीपुर । प्लसटु परीक्षा नजिकिँदै जाँदा शान्त र व्यवस्थित अध्ययन वातावरणको खोजीमा रहेका विद्यार्थीहरूका लागि ग्लोबल करियर काउन्सिलले निःशुल्क अध्ययन स्थल उपलब्ध गराउने घोषणा गरेको छ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ल्याइएको यस पहलले विद्यार्थीहरूलाई परीक्षा तयारीमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काउन्सिलका अनुसार प्लसटु दिन लागेका विद्यार्थीहरूका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म अध्ययन गर्न मिल्ने सुरक्षित, शान्त र उपयुक्त स्थानको व्यवस्था गरिएको छ। यो सुविधा परीक्षा अवधिभर लागू रहनेछ।
पहिलो चरणमा ५० जना विद्यार्थीका लागि मात्र यो अवसर उपलब्ध गराइने काउन्सिलले जनाएको छ। सीमित सिट भएकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क गरी आफ्नो स्थान सुनिश्चित गर्न आग्रह गरिएको छ।
काउन्सिलका प्रतिनिधिका अनुसार धेरै विद्यार्थीहरू घरको वातावरण, भीडभाड, बिजुली तथा अन्य कारणले प्रभावकारी रूपमा अध्ययन गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै यो पहल गरिएको हो।

“विद्यार्थीहरूको भविष्य निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो व्यवस्था गरिएको हो,” काउन्सिलले जनाएको छ।

यसैबीच, ग्लोबल करियर काउन्सिलले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि परामर्श सेवा पनि प्रदान गर्दै आएको छ। काउन्सिलमार्फत जापान, अष्ट्रेलिया, यु.के., क्यानडा तथा न्युजिल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श, विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया तथा भिसा सम्बन्धी सेवा उपलब्ध गराइँदै आएको जानकारी दिइएको छ।
स्थानीय अभिभावक तथा विद्यार्थीहरूले यस कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन्। परीक्षा तयारीका लागि अनुकूल वातावरण उपलब्ध हुनु ठूलो सहयोग हुने उनीहरूको भनाइ छ।
शिक्षा क्षेत्रमा समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै ग्लोबल करियर काउन्सिलले थालेको यो पहलले धेरै विद्यार्थीलाई आत्मविश्वासका साथ परीक्षाको तयारी गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार