बारम्बार विद्युत अवरुद्ध हुने समस्याप्रति नेकपा (माओवादी) तुलसीपुरको ध्यानाकर्षण

डेली न्युजराप्ती       ४ असार २०८३ १३:१७ मा प्रकाशित     303 No Comments

तुलसीपुर, असार ३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तुलसीपुर नगर समितिले तुलसीपुर नगर क्षेत्रमा देखिएको विद्युत आपूर्तिसम्बन्धी समस्याप्रति नेपाल विद्युत प्राधिकरण, तुलसीपुर वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ।

नगर समितिका सचिव रुद्र सीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमार्फत नगर क्षेत्रका विभिन्न स्थानमा पटक–पटक विद्युत अवरुद्ध हुने, केही मिनेटमै लाइन काटिने तथा कम भोल्टेजका कारण उपभोक्ताहरूले सास्ती खेप्नुपरेको उल्लेख गरिएको छ।
पत्रमा विद्युत सेवाको अवस्थाका कारण सर्वसाधारण नागरिक र व्यवसायीहरू प्रभावित भइरहेको जनाउँदै समस्या तत्काल समाधान गर्न माग गरिएको छ। साथै, विद्युत प्राधिकरणले देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्याको शीघ्र समाधान गरी नियमित र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
नेकपा (माओवादी) तुलसीपुर नगर समितिले समस्या समाधानमा ढिलाइ भए आम नागरिकको असन्तुष्टि थप बढ्न सक्ने भन्दै सम्बन्धित निकायलाई गम्भीर बन्न आग्रह गरेको छ। साथै, उक्त ध्यानाकर्षण पत्र सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै नागरिकलाई समेत जानकारी गराइएको जनाएको छ।

यस्तै ध्यानाकर्षण पत्र बुझ्दै नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख ई.सुरेश कुमार महतोले पार्टीले गराएको ध्यानाकर्षणलाई गम्भीरतापुर्वक लिएको र आगामी दिनमा समस्यालाई तत्काल समाधान गरेर अघि बढ्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार