काठमाडौं, असार १७ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले संगठन अधिवेशन समितिका सदस्य तथा गण्डकी प्रदेशमा कार्यरत काजी सी (काजी गुरुङ) लाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।
पार्टीका प्रवक्ता प्रकाण्ड सीद्वारा जारी विज्ञप्तिअनुसार काजी गुरुङमाथि पार्टी विचार, नेतृत्व, कार्यदिशा र अनुशासनविरुद्ध गतिविधि गरेको, पार्टीको नाममा आर्थिक अपचलन गरेको, पोखराको लिचीबारी जग्गा प्रकरणमा अनुचित आर्थिक लेनदेनमा संलग्न भएको तथा पार्टीको नाममा मुद्दा हेर्ने भन्दै आर्थिक असुली गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा पार्टी प्रदेश कार्यालयको जिन्सी सम्पत्ति हिनामिना गरेको, सांगठनिक रूपमा अराजकतावादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको, पार्टीविरुद्ध गोयबल्स शैलीमा दुष्प्रचार गरेको तथा पार्टीबाट निष्कासित व्यक्तिहरूसँग मिलेर सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोप पनि उल्लेख गरिएको छ।
यी गतिविधिका आधारमा गण्डकी प्रदेश समितिको सिफारिसपछि काजी गुरुङलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको पार्टीले जनाएको छ।
साथै, पार्टीले आफूलाई राष्ट्रिय स्वाधीनता, जनअधिकार र समाजवादी व्यवस्थाका पक्षमा निरन्तर संघर्षरत राजनीतिक शक्ति भएको उल्लेख गर्दै पार्टीविरुद्ध फैलाइने अफवाह र दुष्प्रचारप्रति सचेत रहन नेता–कार्यकर्ता तथा आम जनसमुदायलाई आग्रह गरेको छ।

सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.