हेमन्तप्रकाश वली ।
साउन ६,दाङ। नेपालका दुई प्रमुख वाम दल नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच फेरि सहकार्यको चर्चा सुरु भएको छ। पछिल्लो समय सत्ता समीकरण परिवर्तन र राजनीतिक अस्थिरताका बीच दुवै दलका शीर्ष नेताहरूबीच संवाद र सहकार्यको सम्भावनाबारे सार्वजनिक अभिव्यक्तिहरू आउन थालेका छन्।
यसअघि २०७५ सालमा एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको नेकपाले करिब दुई तिहाइ जनमतको सरकार गठन गरेको थियो। तर नेतृत्व विवाद, शक्ति बाँडफाँट, राजनीतिक अविश्वास र आन्तरिक द्वन्द्वका कारण उक्त एकता लामो समय टिक्न सकेन। अन्ततः सर्वोच्च अदालतको फैसलापछि नेकपा विभाजित भई दुवै दल आफ्नै पुरानै अस्तित्वमा फर्किएका थिए।
त्यसयता एमाले र तत्कालीन माओवादी केन्द्र (हालको नेकपा) एकअर्काका प्रमुख राजनीतिक प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत हुँदै आएका थिए। दुवै दलका शीर्ष नेताहरूले सार्वजनिक रूपमा एकअर्कामाथि तीखा आरोप–प्रत्यारोपसमेत लगाएका थिए। तर पछिल्लो राजनीतिक घटनाक्रमसँगै फेरि सहकार्यको सम्भावनाले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
विश्लेषकहरूका अनुसार यस्तो सहकार्यले नेपालको राजनीतिमा वैचारिक प्रतिबद्धताभन्दा सत्ता केन्द्रित समीकरण हाबी हुने प्रवृत्तिलाई बल पुर्याउने चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूका अनुसार यदि दलहरूबीच नीति, विचार, कार्यक्रम, लक्ष्य र दीर्घकालीन राजनीतिक दृष्टिकोणमा स्पष्ट समानता छैन भने केवल सत्ता प्राप्ति वा सत्ता जोगाउने उद्देश्यले हुने गठबन्धनले जनविश्वास कमजोर बनाउन सक्छ।
यस विषयमा आलोचकहरूले प्रश्न उठाएका छन्—यदि हिजो असम्भव भनिएको सहकार्य आज फेरि सम्भव हुन्छ भने विगतका आरोप–प्रत्यारोप र वैचारिक मतभेदको अर्थ के थियो? उनीहरूको तर्क छ कि बारम्बार बदलिने राजनीतिक समीकरणले दलहरूको वैचारिक विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ।
यद्यपि एमाले र नेकपाका नेताहरूले भने राष्ट्रिय आवश्यकता, राजनीतिक स्थिरता र समसामयिक परिस्थितिअनुसार सहकार्य हुन सक्ने तर्क गर्दै आएका छन्।
नेपालको राजनीतिक इतिहासमा सत्ता समीकरण बारम्बार परिवर्तन हुने क्रम नयाँ होइन। तर पछिल्ला घटनाक्रमले फेरि एकपटक दलहरूको वैचारिक राजनीति र सत्ता राजनीतिबीचको सम्बन्धबारे सार्वजनिक बहसलाई तीव्र बनाएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.