ग्यासको सहज आपूर्तिको व्यवस्था गर्न नेकपा (माओवादी) दाङको सरकारसँग माग

डेली न्युजराप्ती       १९ श्रावण २०८३ १३:४१ मा प्रकाशित     213 No Comments

तुलसीपुर, साउन १८ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ जिल्ला समितिले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिसँगै खाना पकाउने ग्यासको चर्को अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
पार्टीका जिल्ला सचिव तिलक सीद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्लो समय बजारमा बढ्दो मूल्यवृद्धिको मार नेपाली नागरिकले खेपिरहेको उल्लेख गर्दै अहिले दाङसहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव देखिएको जनाइएको छ। ग्यास डिलरमा उपभोक्ताले घण्टौँ लाइनमा बस्दा पनि खाली सिलिन्डर बोकेर घर फर्किनुपर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमार्फत सरकारले आवश्यकताका आधारमा सहज र नियमित ग्यास आपूर्तिको व्यवस्था मिलाउन तथा सम्बन्धित निकायले वितरण प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ। साथै, ग्यास वितरणमा कालोबजारी, कृत्रिम अभाव, चुहावट तथा असमान वितरण हुन नदिन कडा निगरानी गर्न र दोषीमाथि कानुनी कारबाही अघि बढाउन समेत माग गरिएको छ।
पार्टीले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार र सरोकारवाला निकायलाई तत्काल प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार