एसियाली क्रिकेटमा अम्पायरका दुई खराब निर्णय,भुर्तेल आउट थिएनन् तर भारतका जैसवाल आउट थिए!

डेली न्युजराप्ती       १६ आश्विन २०८० १५:३८ मा प्रकाशित     185 No Comments

काठमाडौं । एसियन गेम्सअन्तर्गत भारतविरुद्धको खेलमा नेपाल खराब अम्पायरिङको शिकार बनेको छ । दुवै इनिङमा अम्पायरका दुई विवादित निर्णय नेपालको निम्ति घातक बने ।

नेपालविरुद्ध भारतीय ओपनर यशस्वी जैसवालले विस्फोटक इनिङ खेल्दै ४९ बलमा शतक हानेका थिए । अन्य ब्याट्सम्यानहरुले नेपाली बलरहरुमाथि खुलेर खेल्न नसक्दा उनी एक्लैले भारतको इनिङलाई तुफानी गतिमा अघि बढाउन सफल भए । तर, उनको इनिङ शतकसम्म नपुग्न सक्थ्यो, यदि अम्पायरले सही निर्णय दिएको भए ।

१०औं ओभरको तेस्रो बलमा जैसवालमाथि एलबीडब्लु आउटको कडा अपिल भएको थियो । दीपेन्द्रसिंह ऐरीले फ्याँकेको बललाई स्वीप गर्न खोज्दा जैसवाल बिट भएका थिए । ब्याट र बलको सम्पर्क हुन सकेको थिएन भने दुई खुट्टाबीचमा लागेको बलले स्टम्पको दिशा लिएको थियो । नांगो आँखाले नै यो स्पष्ट एलबीडब्लु थियो । तर, अम्पायरले दिएनन् । भारतीय कमेन्टेन्टर आकाश चाेपडाले समेत यदि म्याचमा रिभ्यु सिस्टम भएकाे भए जैसवाल पेभेलियन फर्किने बताएका थिए ।

यतिबेला जैसवाल ३२ बलमा ७२ रन बनाएर खेलिरहेका थिए भने भारत ९.३ ओभरमा १०२ रनको अवस्थामा थियो । अर्को इन्डमा रुतुराज गाइक्वाड रन बनाउन संघर्ष गरिरहेका थिए । यदि जैसवाल आउट भएको भए सम्भवतः खेलको दिशा बदलिन सक्थ्यो । भारतको रनगतिमा रोकावट आउने पक्का थियो । अम्पायरबाट जीवनदान पाएका जैसवालले थप २८ रन जोड्न सफल भए । उनी १६.२ ओभरमा आउट हुँदासम्म भारतले स्कोरबोर्डमा १५० रन जोडिसकेको थियो ।

यस्तै दोस्रो इनिङमा पनि भारतलाई अम्पायरको फेभर मिल्यो । नेपालका ओपनर कुशल भुर्तेल ८.५ ओभरमा साइ किशोरको बलमा आउट भए । उनले अनलाइडमा आएको बललाई प्याडल गर्दा अवेश खानको हातमा पुग्यो । खानले डाइ गरेर क्याच लिए । नांगो आँखाले हेर्दा यो क्याच नै देखिन्थ्यो । तर, स्लो मोसनबाट हेर्दा देखियो कि अभेसले क्याच लिएर डाइभ गर्ने क्रममा बल मैदानमा घस्रेको थियो । अनफिल्ड अम्पायरले थर्ड अम्पायरमा रिफर नगरिकन सीधै आउट दिएका थिए ।

यो विकेट नेपालका निम्ति एकदमै महत्वपूर्ण थियो । नेपाल १ विकेटमा ६२ रन बनाएर खेलिरहेको थियो । क्रिजमा भुर्तेलको साथमा थिए कुशल मल्ल । उनीहरुबीच ३३ रनको साझेदारी भइसकेको थियो । दुवै आक्रामक ब्याटिङका लागि चिनिन्छन् । केही बल डट खेलेका भुर्तेल रन गति बढाउने प्रयासमा थिए । यो जोडीको पार्टनरसीप अलिकति अगाडि बढेको भए भारतलाई अप्ठेरोमा पार्न सक्थे । तर, क्रिजमा सेट भएका भुर्तेल आउट भएपछि नेपालले लगालग विकेट गुमाउन पुग्यो ।

विश्व क्रिकेटमा प्रभूत्व जमाएको भारतले जुनसुकै स्तरको खेलमा पनि अम्पायरिङ निर्णय प्रभावित गर्ने गरेको आरोप लाग्दै आएको छ ।

नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार