आइसिसी टी–२० विश्वकप छनोट: दोस्रो जितको खोजीमा नेपाल , स्तब्ध पार्ने दाउमा मलेसिया 

डेली न्युजराप्ती       १४ कार्तिक २०८० ०७:४० मा प्रकाशित     56 No Comments

काठमाडौंमा जारी आइसिसी टी–२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपाल दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल दिउँसो साढे १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । 

नेपाल प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भयो । 

मलेसियासँग हेड टु हेड

हालसम्म नेपाल र मलेसियाले एकअर्काविरुद्ध ९ टी–२० खेल खेलेका छन् । जसमा नेपालले ८ र मलेसियाले एक खेल जितेको छ । पछिल्लो पाँच खेलमा नेपालले मलेसियालाई ४ खेलमा हराएको छ । 

यी दुई टिमले अन्तिमपटक गत वर्षको अप्रिलमा खेलेका थिए । जसमा नेपाल ८५ रनले विजयी भयो । नेपाल यसपटक पनि मलेसियाविरुद्ध सहज जित निकाल्ने योजनामा छ । मलेसिया भने नेपालसँग बदला लिने दाउमा छ ।  

मलेसियाविरुद्ध नेपालले सिंगापुरविरुद्धकै प्लेइङ–११ लाई निरन्तरता दिने सम्भावना छ । खुट्टाको चोटका कारण अलराउन्डर दीपेन्द्र सिंह ऐरीले मलेसियाविरुद्ध पनि खेल्ने छैनन् । उनी सिंगापुरसँग खेल्नुअघि अभ्यासका क्रममा घाइते भएका थिए । दीपेन्द्रले विश्वकप छनोट नै गुमाउने सम्भावना बढेको छ । उनको बायाँ खुट्टाको एंकलमा चोट लागेको छ । 

सिंगापुरविरुद्ध दीपेन्द्रको स्थानमा युवा अलराउन्डर विवेककुमार यादवले खेलेका थिए । विवेकले मलेसियाविरुद्ध पनि मौका पाउने सम्भावना उच्च छ । मलेसियाविरुद्ध जित निकाल्न सके नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ।

नेपालले समूह चरणमा बिहीबार ओमानसँग खेल्ने तालिका छ । यस्तै, समूह ‘ए’ कै ओमानले पहिलो खेलमा मलेसियालाई हराएको थियो । 

ऊ दोस्रो खेलमा मंगलबार सिंगापुरको सामना गर्दैछ । ओमान पनि नेपालसँगको भेट अगावै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने सोचमा छ । एसिया क्षेत्र छनोटबाट फाइनल पुग्ने दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

हालसम्म आउँदो विश्वकपका लागि १६ टिमले टिकट सुरक्षित गरिसकेका छन् । अब विश्वकप खेल्ने चार देशको टुंगो लाग्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार