त्रीसिद्देश्वरी राप्ती यातायात प्रालीको दादागिरी: हाइवेमा टिकट काउन्टर र गाडी पार्किङ

डेली न्युजराप्ती       २२ कार्तिक २०८० १४:४५ मा प्रकाशित     533 No Comments

हेमन्त प्रकाश वली ।

कार्तिक २२ , तुलसीपुर । तुलसीपुरको त्रीसिद्देश्वरी राप्ती यातायात प्रालीले दादागिरी शैलीमा बजारको मुख्य चोकमा टिकट काउन्टर र गाडी पार्किङ गर्दै आएको छ ।

समबन्धित निकायले पटकपटक ध्यानाकर्षण गराउदा समेत प्रालिले हाइवेमा टिकट काउन्टर र गाडी पार्किङलाई हटाएको छैन ।

तुलसीपुरको तुलसी बोर्डिङ चोक , सल्यान रोड अन्तर्गत खानेपानी चोक लगाएतका मुख्य चोकहरुमा प्रालिले कर्मचारी नै खटाएर टिकट काउन्टर र गाडी पार्किङ गरिरहेको छ ।

प्रालिले तुलसीपुरको तुलसी बोर्डिङ चोकमा खटाएका एक जना कर्मचारीले डेलिन्युजराप्तीसंग प्रालीले लगातार तीन वर्षदेखि टिकट काटिरहेको बताएका छन् ।

यता नजिकै तुलसीपुरमा अत्याधुनिक बसपार्क संचालन भईरहेको बेला मुख्य राजमार्गमा गाडी पार्किङ र टिकट बिक्रि गरिनुले तुलसीपुरको बजार व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ ।

साँघुरा बाटाघाटाले गर्दा तुलसीपुरमा बजार व्यवस्थापन गर्न चुनौती भईरहेको बेला त्यसैमा मुख्य चोकहरुमा गाडी पार्किङ र टिकट काउन्टर राख्नुले ट्राफिक व्यवस्थापन गर्न झन मुस्किल भईरहेको स्थानीयले बताएका छन् ।

यसै विषयमा डेलि न्युजराप्तीसंग फोन संवाद गर्दै ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख महेन्द्र चन्दले भने– ‘ म आएदेखी नै नगरपालिकासंग कोर्डिनेसन गरेर हटाउन भनेको हो । हप्तादिन अघि पनि मैले नगरपालिकालाई हटाउन कोर्डिनेसन गरेको हुँ । म आफैले पटकपटक हटाउन अनुरोध गरेको तर मानेनन् । त्यहाको मात्रै कुरा होइन खानेपानी चोकमा झन जोखिम देखिन्छ । बसपार्कभन्दा बाहिरका काउन्टर हटाउन मैले पटकपटक नगरपालिका , तुलसीपुर -५ वडा कार्यालयसंग कोर्डिनेसन गर्दापनी हटेको छैन।’

प्रमुख चन्दले आफुले एक्लै हाइवेमा राखेका टिकट काउन्टर र गाडी पार्किङ हटाउन नसक्ने समेत बताएका छन् ।

यता सोही विषयमा डेलिन्युजराप्तीसंगको  फोन संवादमा कुरा गर्दै तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव वलीले बसपार्क भन्दा बाहिर राखिएका टिकट काउन्टर र गाडी पार्किङ गैरकानुनी कार्य भएकाले स्थानीय सरकारले उक्त कार्य रोक्न अनुरोध गरेको बताए । उनले यातायात समितीसंग दुई पटकसम्म वार्ता बसिसकेको र तिहार लगत्तै सबै काउन्टर र गाडी पार्किङ हटाइने बताए ।

प्रवक्ता वलीले ट्राफिक प्रहरीलाइ पनि सक्रियताका साथ काम गर्न अनुरोध गरेका छन् ।

हाइवेमा टिकट काउन्टर र गाडी पार्किङको विषयमा डेलिन्युजराप्तीसंग कुरा गर्दै त्रीसिद्देश्वरी राप्ती यातायात प्रालीका कल्याणकारी सचिव प्रकाश भट्टले ट्याक्सी लगाएतका सबै समितीले गाडी पार्किङ र काउन्टर हटाए आफ्नो समितीपनि हटाउन तयार रहेको बताए ।

उनले यात्रुको सहजताका लागि एउटा कुर्सीमा बसेर टिकट काटेको समेत बताए । उपमहानगरपालिका र ट्राफिकले बाजर व्यवस्थापन व्यवस्थित गर्नका लागि आफ्नो प्रालीको काउन्टर हटाए पनि हुने समेत भट्टले बताएका छन् ।

यता तुलसीपुरका स्थानीय बासिन्दाले तुलसीपुर उपमहानगरपालिका र ट्राफिक कार्यालयले बजार व्यवस्थापनको नाममा सोझासाझा निमुखा जनताले ठेलामा गरेको व्यापार , व्यवसायलाई जबर्जस्त रोजीरोटी खोस्ने गरेको तर हुनेखाने ठुला व्यापारी , यातायात प्रालीलाइ भने संरक्षण गरेको बताएका छन् ।

तुलसीपुरको तुलसीपुर बोर्डिङ चोक नजिक व्यवसाय गरिरहेका एक जना व्यापारीले भने – ‘ हामी जस्ता गरिव निमुखालाइ हो कानुन , नियम लाग्ने ठुलाबडालाई के को कानुन ? ठेलामा व्यापार गर्नेलाइ बिचल्ली पार्ने स्थानीय सरकारले बजारको मुख्य सडकमा ठुलाठुला बस पार्किङ र टिकट काउन्टर देख्दैन । गरिबले सडकमा व्यापार गर्दा दुर्घटनाको जोखिम हुने धनीले जे गर्दापनी जायज हुने रहेछ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार