जब दाङका सिडियो सुवेदी विप्लवको धान स्याहार्न पुगे (तस्वीर सहित)

डेली न्युजराप्ती       २२ कार्तिक २०८० १७:११ मा प्रकाशित     595 No Comments

कार्तिक २२ , दाङ । यतिबेला नेत्रविक्रम विप्लव सीले देशव्यापी चलाएको उत्पादनको नितिले चौतर्फी चर्चा बटुलिरहेको छ ।

केहीदिन अघि मात्रै पुर्वप्रधानमन्त्री माधव नेपालले संसदमा बोल्दा विप्लवको उत्पादनको नितिको प्रशंसा गरेदेखी झन यो चर्चा देशव्यापी छ ।

विप्लवले धान फलाउनु , रोप्नु , श्रम गर्नु कुनै नौलो विषय त होइन तर यसमा विप्लवले पार्टीका नेताकार्यकर्तालाई जोडेका छन् , महिनामा एक दिन श्रमदिन मनाउने भनेका छन भने पार्टीका नेता , कार्यकर्ता सबै आत्मनिर्भर बन्नुपर्ने , चन्दा उठाएर पार्टी चलाउन नहुने र देशलाइ आत्मनिर्भर बनाउन अनिवार्य कृषिमा जोडिनुपर्ने नीति पार्टीको नवौं महाधिवेशनबाट पारित नै गराएर लागेका छन् ।

उत्पादनसंग विप्लवले समाजवादको सपना देखिरहेका छन् ।

विप्लव नेतृत्वको नेकपाले देशको भुगोल , हावापानी , माटो अनुकुल ७७ वटै जिल्लामा कृषि गरिरहेको छ ।

तराईका फाँटमा विप्लवका कार्यकर्ताले धानका बाला झुलाईरहेका छन भने पहाड र हिमाली क्षेत्रमा पनि त्यहाँ हावापानी , माटो अनुकुलको खेतिपातीलाई जोड दिइरहेको नेकपाले जनाएको छ ।

नेकपाका अनुसार बर्दियामा मात्रै पार्टीले यो वर्ष ३०० क्विन्टल धान फलाएको छ भने दाङ लगाएतका तराईका क्षेत्रमा बिघौबिघा क्षेत्रमा गरेको धान खेतीबाट हजारौं क्विन्टल धान उत्पादन हुने पार्टीको अनुमान गरेको छ ।

भर्खरै जाजरकोट केन्द्र्विन्दु भएर गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि नेकपाका महासचिव विप्लवले पार्टीको उत्पादनबाट २५ क्विन्टल चामल राहतको घोषणा गरेका छन् । यो घोषणाले पनि विप्लव नेतृत्वको नेकपाको चर्चा चारैतिर फैलिएको छ ।

सामान्यतया भुकम्प पिडितका लागि नेपालका सबै पार्टीले उद्दार , राहातको घोषणा गरिरहेका छन् तर नेकपाले घोषणा गरेको २५ क्विन्टल राहात चामल उसको आफ्नो उत्पादन हो । नेकपाले लिएको आत्मनिर्भर नितिको उपज हो । 

यसैबीच यी थुप्रै चर्चाहरुको बिचमा दाङमा पनि नेकपाको आत्मनिर्भर उत्पादन नितिको चौतर्फी प्रशंसा भईरहेको छ ।

दाङमा नेकपाको उत्पादन नितिले चर्चा मात्रै पाएन जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी नेकपा पुर्वी दाङको धान उत्पादन केन्द्रमा प्रत्यक्ष पुगी श्रम समेत गरेका छन् ।

बुधबार नेकपा पुर्वी दाङद्वारा घोराही -१६ करौटी डाँडामा सञ्चालित सी बहुउद्देशिय कृषि फर्ममा करिव ३ बिघा जमिनमा लगाएको धान भित्र्याउने कार्यमा प्रमुख जिल्ला अधिकारी सहित नेकपाका केन्द्रीय सदस्य एवम पार्टीकि पुर्व दाङ जिल्ला इन्चार्ज सम्झना सी , पार्टीका जिल्ला सचिव जनक सी , जवस/मोर्चाका नेताकार्यकर्ताको जनसहभागीता रहेको थियो ।

खेतमा धान काट्दै प्रजिअ रामबन्दु सुवेदीले पार्टीले उत्पादन गरेको धान खेतमै आएर धान काट्न पाउँदा आफूलाई निकै महत्त्वपूर्ण अवसर मिलेको बताएका छन् । उनले उत्पादन नै समृद्धिको अभियान भएको बताउँदै अब राजनीति दलहरूले हरेक ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए ।

`कुनैपनि कुरा भनेर होइन गरेर देखाउनु पर्छ भन्ने विषय यहाँ लागू भएको छ´ प्रजिअ सुवेदीले भने ` यो धान खेतमै आएर वास्तवमा यहाँहरुसँग जोडिन पाउँदा आफूलाई खुशी महसुस गरेको छु ।´  समाजको परिवर्तन गर्ने नेतृत्व राजनीति दल नै भएको  र संसारमा जहाँपनि त्यही हुने हुँदा राजनीति दलले उत्पादनको कार्यदिशा सही चयन गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य  तथा पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झना सीले  उत्पादनसम्बन्धी जानकारी दिँदै  पार्टीले लिएको आत्मनिर्भर नेताकार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टीको केन्द्रीय योजना अन्तर्गत उत्पादनलाई अगाडि बढाएको बताइन् । उनले पार्टी पूर्वी दाङले ६ विघा जग्गा लिजमा लिएर सी बहुउद्देश्य कृषि तथा पशुपंछी फर्म दर्ता गरेर ३ विघा जग्गामा धान खेती र करिब २ विघा जग्गामा तोरी खेती सञ्चालन गरिरहेको जानकारी दिइन् ।

` एउटा राजनीति कार्यकर्ता भनेको मागेर खाने, ठगेर खाने  र काम नगरेर खाने झोलेको रुपमा जुन उपमा दिने अवस्था सिर्जना भएको छ´ नेता सम्झनाले भनिन् `र, त्यो खालको वास्तविकता पनि सतहमा देखिराखेको छ । त्यसोभएको कारण त्यसलाई चिर्नको लागि र साथै देशमा थुप्रै उर्भरा जमिन हुँदाहुँदै पनि  नेपाली युवाहरू आज दिनदिनै बिदेशी रहेका छन् । र, नेपालमा उत्पादन गरेर खाने संस्कारको सिर्जना गर्नुपर्छ । आफ्नै देशलाई माया गर्ने र आफ्नो देशमै आत्मनिर्भर बनेर एउटा समाज विकास र देश विकासमा युवाहरूलाई सहभागी गर्नुपर्छ भन्ने उद्देश्यसहित उत्पादनमा जोडिएका छौं ।´

नेता सम्झनाको अनुसार रोजगार भनेको सरकारले मात्र दिने होइन् । मागेर पाउने कुरा होइन। रोजगार भनेको हामीले आफै सिर्जना गर्न सक्छौं । र, हामी आफैले सिर्जना गरेको रोजगारले राष्ट्रलाई पनि योगदान पुग्छ र देशलाई पनि योगदान पुग्छ । त्यसोभएको कारण हामी सबैले काम गरेर खानुपर्छ । काम गर्नुपर्छ । एक घर एक उत्पादन, एक व्यक्ति एक उत्पादन भन्ने हाम्रो पार्टीको नीति छ । यही अन्तर्गत हामीले यो ६ विघा जमिनमा उत्पादन सुरु गरेका छौं ।’

उत्पादन भएको धानलाई काट्न पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, उत्पादन प्रमुख महान सी, युवा संगठन  नेपाल पूर्वी दाङका अध्यक्ष पदम सी, लगायत पार्टी निकट जनवर्गीय संगठनहरुको  सहभागिता रहेको थियो ।

तस्वीरहरु:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार