आईसीसी एकदिवसीय क्रिकेट विश्वकप : भारत र अष्ट्रेलिया भिड्दै

डेली न्युजराप्ती       ३ मंसिर २०८० १०:५० मा प्रकाशित     140 No Comments

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । उक्त फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो । यस्तै अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको थियो ।फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अष्ट्रेलियाले त्यसपछि लगातार ७ खेल जितेर सेमिफाइनलमा पुगेको थियो ।लिगमा तेस्रो भएको अष्ट्रेलियाले दोस्रो भएको दक्षिण अफ्रिकालाई पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो ।विश्वकप क्रिकेटको सर्वाधिक सफल अष्ट्रेलियाले कीर्तिमानी पाँच पटक उपाधि जितेको छ भने भारतले दुई पटक उपाधि जितेको छ ।यसअघि सन् २००३ मा यी दुई टोली फाइनलमा भिड्दा अष्ट्रेलियाले जित हात पारेको थियो । त्यसबेला अष्ट्रेलिया अपराजित रहँदै फाइनल पुगेको थियो । यस पटक त्यसको ठीक विपरीत भारत अपराजित रहँदै फाइनल पुगेको छ । भारतलाई घरेलु मैदानमा त्यस हारको बदला लिने मौका समेत छ । तर अष्ट्रेलियाको लागि पनि फाइनलमा भारतविरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिने अवसर छ । भारतले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै सबै खेल जितेको थियो । तर अष्ट्रेलियाले खराब सुरुवात गरेपनि त्यसपछिका खेलमा आफ्नो वास्तविक खेल प्रदर्शन गर्दै फाइनलसम्म पुगेको छ । त्यसैले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान छ ।अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो भने भारतले १९८३ र २०११ मा उपाधि जितेको थियो ।यसअघि ७ पटक फाइनल खेलिसकेको अष्ट्रेलिया १९७५ मा वेष्ट इन्डिज र १९९६ मा श्रीलंकासँग भने फाइनलमा पराजित भएको थियो । भारत भने फाइनलमा २००३ मा अष्ट्रेलियासँगै पराजित भएको थियो । भारत र अष्ट्रेलियाबीच अहिलेसम्म कुल १५० वटा एकदिवसीय खेल भएको छ । जसमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ भने भारतले ५७ वटा जितेको छ । बाँकी १० खेलमा नतिजा आएको थिएन । यस्तै भारत र अष्ट्रेलियाबीच विश्वकपमा १३ खेल भएकोमा अष्ट्रेलियाले ८ खेल जित्दा भारतले ५ खेल मात्र जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार