राष्ट्रवादी नेता विप्लव विरुद्ध काला कोटधारीले पुर्जी जारी गर्नु गम्भीर षडयन्त्र: सचिव निर्मल

डेली न्युजराप्ती       २० मंसिर २०८० १७:०७ मा प्रकाशित     134 No Comments

हेमन्त प्रकाश ओली ।

मंसिर २० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य निर्मल सीले राष्ट्रवादी नेता विप्लव विरुद्ध काला कोटधारीले पुर्जी जारी गर्नु गम्भीर षडयन्त्र भएको बताएका छन् ।

नेकपाका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी लगाएतका नेताहरु विरुद्ध जारी गरिएको पक्राउ पुर्जीको बिरोधमा न्यायाधीशको पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

नेता निर्मल सीले भने, “नेकपाका महासचिव विप्लवको नेतृत्वमा नेपालमा राष्ट्रघात , जनघात र भ्रष्टाचारका विरुद्धमा क्रान्ती चलिरहेको छ । हामिले एनसेल विरुद्ध संघर्ष गरेका कारण अहिले एनसेलको ठगी धन्दा छताछुल्ल भएको छ । विप्लव यो देशको एकमात्र राष्ट्रवादी नेता हुन् । विप्लवका विरुद्ध काला कोटधारीले पक्राउ पुर्जी जारी गर्नु गम्भीर षड्यन्त्र हो ।”

नेता निर्मलले विप्लवको नेतृत्वमा मुलुकमा समाजवादी आन्दोलन चलिरहेकाले प्रतिगामी तत्वहरुको षड्यन्त्र पनि अहिलेको पुर्जी भएको ठोकुवा गरेका थिए ।

न्यायाधीशको पुत्ला दहनपछिको कोणसभाको सहजीकरण नेकपा तुलसीपुरका इन्चार्ज भुवन सीले गरेका थिए ।

आज बुधबार नेकपा पश्चिम दाङले तुलसीपुरको बाहिनी चोकमा पक्राउ पुर्जीको बिरोधमा न्यायाधीशको पुत्ला दहन गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीले पार्टीका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गर्ने काठमाडौं जिल्ला अदालतका न्यायधीस विरुद्ध आज देशभर पुत्ला जलाउदैछ ।

नेकपाले राजधानी काठमाडौं सहित देशभरका जिल्लामा ३ बुँदे सहमति विरुद्ध आदेश दिएको भन्दै पूर्व घोषित आन्दोलनको कार्यक्रम अन्तरगत आज दिउसो ३ बजे न्यायधीसको पुत्ला जलाएको नेकपा स्रोतले जनाएको छ ।

नेकपाका महासचिव विप्लवले मंगलवार मात्र एक प्रेश विज्ञप्ति जारी गरी अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक,विध्वंसात्मक कार्य हुने गरी आदेश दिएको भन्दै पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन अपिल गर्दै तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

तीन दिने संघर्षका कार्यक्रम अन्तरगत आज देशभरका प्रमुख शहर तथा सबै जिल्लाहरुमा न्यायधीसको पुत्ला जलाएको हो । नेकपाले मंगलबार साँझ देशभर पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस प्रदर्शन गरिसकेको छ ।

यस्तै नेकपाले घोषणा गरेको संघर्षको कार्यक्रम अन्तरगत भोलि मंसिर २१ गते दिउसो २ बजे देशव्यापी जनप्रदर्शन गर्ने तयारी पनि गरेको छ ।

जिल्ला अदालत काठमाडौंले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गर्दै गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार