नेकपाका नेता अनिलले गरे गम्भीर खुलासा,अमेरिकाले चीनविरुद्ध कसको सरकार बनाउदैछ?

डेली न्युजराप्ती       २५ पुष २०८० २२:३४ मा प्रकाशित     102 No Comments

शाहस भट्ट

काठमाडौं– काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचार विभाग इञ्चार्ज अनिल सीले अमेरिकाले गगन थापा, सिके राउत र रवि लामिछानेसहितको संयुक्त सरकार बनाएर चाइनाविरुद्ध प्रयोग गर्न लागेको खुलासा गरेका छन् ।बुधबार काठमाडौँको अनामनगरस्थित सम्वाद डबलीमा आयोजित जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटीको कविता संग्रह ‘विद्रोहको गीत’ विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो खुलासा गरेका हुन् ।

विमोचन कार्यक्रमका प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न र कृतिको समिक्षा गर्न सम्वाद डबली पुगेका नेता अनिल सीले अहिले नेपालका पुराना अमेरिकी एजेन्टहरुको विश्वास नगरेर नयाँ एजेन्टहरु खडा गरेको बताए । ‘देउवा प्रचण्ड लगायतका नेताहरुले एमसीसी पास गरेपनि यिनीहरुबाट प्रभावकारी कार्यान्वयन हुने नदेखेपछि रवी, सिके र गगन थापाहरुलाई मिलाएर एउटै पार्टी बनाउने अनि एमसीसीका माध्यामबाट चाइनालाई घेराबन्दी गर्ने रणनीतिका साथ अहिले अमेरिका लागिरहेको छ।’, उनले भने, ‘अबको ४ वर्षभित्र चीन विश्वको अर्थतन्त्रमा पहिलो हुने घोषणा गरिसकेको छ, चाइनाको यो रफ्तारलाई रोक्न भारत र नेपाललाई आधार बनाएर अमेरिका घेराबन्दी गर्न चाहन्छ र नेपालमा एमसीसीमार्फत आफ्नो सैन्य क्याम्प खडा गर्न चाहन्छ ।’

उनले यसबाट चाइना अमेरिकाको टकरावले नेपाल विदेशी शक्ति केन्द्रको चपेटामा पर्ने र देशको सार्वभौमिकता, अखण्डता, राष्ट्रियतामाथि नै खतरा हुने भएकाले, यसको प्रतिरोध देशभित्रका राष्ट्रवादी देशभक्त लोकतन्त्रवादी कम्युनिस्टहरु मिलेर लड्नुपर्ने आजको आवश्यकता भएको औल्याए । ‘विश्वमा जतिसुकै उदारवादी संशाेधनवादी कम्युनिस्ट भएपनि साम्राज्यवादले कम्युनिस्ट नाम भएका जतिलाई विश्वास गर्दैन र विश्वबाट नै नामेट पार्न चाहन्छ ।’, उनले भने, ‘त्यसैले नेकपाले सबै पार्टीभित्रका दलालहहरुलाई पहिचान गरि यो पार्टी त्यो पार्टी नभनी साम्राज्यवाद विरुद्धको सबैखाले मोर्चा खुल्ला गरेको छ। पछिल्लो समय बनेको समाजवादी मोर्चा त्यसको थालनी हो ।’

जनयुद्धको उपलब्धी र कमजोरीतर्फ इंगित गर्दै उनले जनयुद्दको समिक्षा अब नयाँ ढंगले गर्नुपर्नेसमेत बताए । ‘श्रम र पुँजीको अन्तरविरोध रहेसम्म जनताहरु लडिरहन्छन्, जबसम्म उनीहरुको आशाको प्रतिनिधित्व हुन्छ । माओवादीहरुले जनयुद्ध त जिते तर राष्ट्रिय मुक्ति युद्धको नेतृत्व गर्ने बेला विचारमा विकास गर्न नसकेर चुकेको हो ।’

देशको प्रधान सत्रु बाह्य शक्ति भएको बेला आन्तरिक कलहले देशको राष्ट्रियता धरापमा पर्ने उनको जिकिर थियो । आफ्नो पार्टीले देशभक्त लोकतन्त्रवादी कम्युनिस्टहरुको संयुक्त मोर्चा बनाएर साम्राज्यवादविरुद्ध लड्न संयुक्त मोर्चा आह्वान गरेको बताए । चीनका च्याङ्ग काइसेक र माओकोबीचमा लडाई चलिराख्दा जापानी साम्राज्यवादको विरुद्ध एक भएर लड्न केहि हदसम्म चुकेरै भएपनि सम्झौता भएको थियो त्यहाँबाट पाठ सिक्दै देशको सार्वभौमिकता जोगाउन आफ्नो पार्टीले यस्तो नीति लिएको भन्दै यो एकीकृत जनक्रान्तिले संश्लेषण गरेको स्प्रिड भएको बताए ।

नेकपाका पोलिट ब्युरो सदस्य माइला सीको अध्यक्षतामा सुरु भएको कृति विमोचन कार्यक्रममा साहित्य राजनीतिक क्षेत्रका समालोचक साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो । सामना परिवारका कमाण्डर तथा नेकपाका केन्द्रीय सदस्य आरोह सीले सञ्चालन गरेको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य इश्वरचन्द्र ज्ञवाली लगायतका दिग्गज श्रस्टा तथा साहित्यकारहरुले सुझाव तथा कविता संग्रहमाथि टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार