चितवन । मंगलबार बिहानै त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् । प्रहरीका अनुसार बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको छ ।
चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।
‘जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न सकिएको छैन,’ डिएसपी भण्डारीले भने । जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो ।
गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.