मङ्गलसेन फौजी मोर्चाः सम्झना र सेरोफेरो

डेली न्युजराप्ती       ४ फाल्गुन २०८० ०८:०० मा प्रकाशित     103 No Comments

“प्रतिक्रियावादी राज्यसत्तालाई ध्वङ्स गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौ, बिद्रोह जनताको अधिकार हो“ भन्ने मुख्य उद्घोषसहित नेपाली धर्तीमा २०५२ फाल्गुन १ गतेबाट शुरु गरिएको जनयुद्ध आफ्नो घोषित उद्देश्य र आदर्शमा नपुग्दै पराजित हुनपुगेको छ । जनयुद्धका सामाजिक, सांस्कृतिक र नैतिक मूल्यहरु इतिहासका बिस्मृतिमा हराएका छन ।जनता, जनमुक्ति सेना र नेताकार्यकर्ताहरुका त्याग,तपस्या, बीरता, बलिदान र उर्जाहरु निर्धारित गन्तव्यमा नपुग्दै थकित भएको,पूर्ण नभएको,सहि सदुपयोग हुन नसकेको वा बिचलित भएको जस्तो प्रतित भएको छ । प्रकारान्तरले यसलाई नेपाली जनक्रान्तिको अस्थायी हारको संज्ञा पनि दिन सकिन्छ ।निश्चय नै जनयुद्ध के थियो ? यसको वस्तुगत धरातल के– कस्तो थियो ? त्यो बेलाको आर्थिक सामाजिक पक्ष, नेतृत्वको मनोगत अवस्था र अन्तर्रास्ट्रिय परिस्थिति एवम् भूराजनीतिक अवस्थितिले जनयुद्धको प्रक्रियामा के कस्तो प्रभाव पा¥यो ? यसबारे अझै सहि ,पर्याप्त र सम्यक ढंगले अध्ययन हुन बाकी नै छ । यसको समग्र समिक्षा हुँदै जानेछ ।

झण्डै एकदशक लामो युद्धरुपी त्यो महाभारतमा जनताका हजारौं छोराछोरीले निस्वार्थ रूपमा आफुलाई समर्पित गरेका थिए । तमाम योद्धाहरु घाइते भएका थिए । जेल हिरासतमा गोर्खे लौरो खाएका थिए र कैयौं मानिसहरू बेपत्ता पारिएका थिए । सानाठूला सयौं फौजी र गैरफौजी कारबाही भएका थिए । त्यस्तै र त्यसमध्येको एउटा बिशिष्ट संघर्षको मोर्चा थियो –अछामको सदरमुकाम मङ्गलसेन फौजी मोर्चा । २०५८ साल फाल्गुन ४ गते अर्थात आजभन्दा करिब २२ बर्षअघि जनमुक्ति सेना र तत्कालीन शाहीसेना लगायत सुरक्षा निकायबीच घमासान युद्ध भएको थियो । गोलाबारी चलेको थियो र अन्ततः रातभरिको भिडन्तपछि जिल्ला सदरमुकाम मङ्गलसेन र साफेबगरमाथी जनमुक्ति सेनाको प्रत्यक्ष नियन्त्रण कायम भएको थियो । लडाईको मङ्गलसेन मोर्चालाई पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङले आफ्नो पुस्तकयात्रा जिन्दगी जनमुक्ति सेनाको कमान्डर देखि उपराष्ट्रपतिसम्ममा मोबाइल र मोर्चाबद्ध युद्धको राम्रो उदाहरण भनी अर्थयाएका छन । उनले उल्लेख गरेअनुसार मङ्गलसेन कारबाहीमा क्याप्टेन सहित तत्कालीन शाही सेनाका ५२ र प्रहरीका ९५ गरि १ सय ४७ जनाको मृत्यु भएको थियो । ७२ जना घाइते भएका थिए । सरकारी कार्यालयहरु सबै ध्वस्त भए । करोडौंको हातहतियार, युद्धसामग्री,करोडौं नगद र जिन्सी कब्जा भयो भने जनमुक्ति सेनातर्फ सेनाको ब्यारेकमा १२जना, साफेबगर, सिडियो र डिएसपी कार्यालय लगाएत सबै गरेर प्लाटुन कमान्डर अर्जुन लगाएत ३५ जनाको सहादत र कम्पनी कमान्डर शरदलगायत २२ जना घाइते भएको बताइएको छ ।

रोल्पा, रुकुम, कालिकोट,गोर्खा, सिन्धुली लगायतका जिल्लाहरुमा जनयुद्धका प्रारम्भिक दिनहरुमा प्रतिरोधात्मक कारबाही र तयारीका कामहरू भएपनि अछाममा भने जनयुद्धको प्रभाव ०५४÷०५५ साल पछि नै परेको हो । शुरुमा माओवादी भनेपछि अनेक भ्रम र बुझाईहरु थिए । कतिपय मान्छेहरू माओवादी भन्ने बित्तिकै डर, त्रास र भयका नजरले हेर्थे भने अलिकति राजनीति चेत र सचेतना भएकाहरुले माओवादी राजनीतिक उद्देश्यसहित गरिब , मजदुर र जनताका लागि लडिरहेको पार्टी हो र १जना माओवादीले ८ देखि १०जनासम्म शाही सेनासङ्ग लड्न सक्ने सामर्थ्य राख्छ भनि प्रचार गरेको पाइन्थ्यो । माओवादी भनेको गरिब, मजदुर, पीडित जनताका लागि लड्ने, जातभात नमान्ने,महिला– पुरुषको समानताको कुरा गर्ने र धनी गरिबको भेद मेटाउने पार्टी हो भन्ने लागेपछि मलाई माओवादी पार्टी र उसको बिचारप्रति शुरुमै सकारात्मक धारणा पलाएको थियो । बरु माओवादी कस्ता हुँदारहेछ्न, के, किन र कसरी लड्दा रहेछ्न ? लडाइँमा उनीहरुको क्षती नभैदिए हुन्थ्यो, उनीहरुहरुसङ्ग कहिँकतै चिनजान र भेटघाट भए हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।

मुलुकमा पञ्चायतको अन्त्य, प्रजातन्त्रको पुनर्स्थापना र २०४७को संविधान निर्माण भएपछि काङ्ग्रेस, एमाले र राप्रपा लगायतका पार्टीहरुबीच खुल्ला चुनावी प्रतिस्पर्धाको स्थिति बन्यो । २०४९को आमनिर्वाचनपछि कम्युनिस्ट र काङ्ग्रेसको रुपमा समाज जबर्जस्त ध्रुवीकरण हुँदै गैरहेको थियो । खुला राजनीतिक परिस्थिति बनेसङ्गै एमाले नेता मनमोहन अधिकारी र मदन भण्डारीको व्यक्तित्व जनतामा झागिदै थियो । कम्युनिस्टहरु गरिब र उत्पीडित जनताको लागि काम गर्ने शक्ति हुन भन्ने बित्तिकै मलाई काङ्ग्रेस भन्दा कम्युनिस्ट प्यारो लाग्थ्यो र त्यतिबेला हाम्रो गाउँका केही बुढापाका बाहेक अधिकांस युवाहरू एमाले समर्थक भएका थियौं । पछि जब मदन भण्डारीको निधन भयो, एमाले स्थानीय निर्वाचन र सरकारको नेतृत्व गर्ने ठाँउमा आइपुग्यो तर पनि कम्युनिस्टबारे जे सुनिएको र बुझिएको थियोे, त्यस्तो केही नभएको बरु काङ्ग्रेस र एमालेमा खासै अन्तर नदेखिएपछि मानिसहरू कहिले एमाले प्रवेश गर्ने ,कहिले तिनै मान्छेहरू काङ्ग्रेस प्रवेश गर्ने, विस्तारै दलहरूप्रति अबिश्वास र बितृष्णा बढ्दै गएको पाइन्थ्यो । गाउँमा एमाले कम्युनिस्ट पार्टी हो, एमालेलाई भोट हाल्न पर्यो भन्यो कि बुढापाकाहरु सबै उस्तै हुन, सबै आफ्नै लागि गर्ने हुन,जुन जोगी आएपनि कानै चिरेको भनेर कुरा काट्न थालेको पाइन्थ्यो ।

दलिय प्रतिस्पर्धा र चुनावले समाजलाई बिभाजित गरेको थियो । दाजुभाइहरुबीच मेलापात,सुखदुःख, ऐचोपैंचोमा समेत काङ्ग्रेस र एमालेमा बाडेर हेर्ने चलन शुरु भएको थियो । २०५५ सालमा हाम्रो गाउँका गाबिस अध्यक्ष र पूर्व पञ्चहरुबाट माओबादीले भरुवा बन्दुक कब्जा गरेपछि समाजमा माओवादीको प्रत्येक्ष उपस्थिति भैसकेको प्रस्टै देख्न सकिन्थ्यो । यसैबीच कालिकोटमा राज्यद्वारा गरिएको किलोशेरा टु अप्रेसन र दमनको कारण गाउँमा बस्न नसकेर अछाम आइपुगेका कतिपय हाम्रा नातेदारहरुसङ्गको भेटघाट र कुराकानीले पनि माओवादी आन्दोलन र जनतासङ्गको उनिहरुको व्यबहारबारे बुझ्न मलाई थप सहजता महसुस भएको थियो । २०५७ सालमा कालिकोटको कोटबाडा प्रहरी चौकी माथि भएको छापामार कारबाहीको समाचारले हामी विद्यार्थीहरुलाई लडाई आफैले जितेको जस्तो गरि उत्साहित बनाएको थियो । सायद २०५६ मा नै हुनुपर्छ,बिनायक प्रहरी चौकी माथी छापामार कारबाही भएको थियो । त्यसको अन्तिम सेल्टर पनि हाम्रो गाउँ कुईका नै थियो । सोही सालको माघ२९ गते राति जनवादी कलाकारद्वारा भैरहेको सांस्कृतिक कार्यक्रमको क्रममा जिल्लाको डुङ्गालामा प्रहरीद्वारा अन्धाधुन्ध गोली चलाइएको थियो र स्थानीय ६ जना सहित ८ जनाको हत्या गरिएको थियो । उक्त घटना हुनु एकदिनअघि कर्णाली जनहातेमालो अभियानको टोली हाम्रै गाँउबाट बिदाइ भएको थियो । हामीले आवश्यक सहयोग गरेका थियौं । घटनामा महेश र मिलन लगायतका साथीहरूको हत्या हुन गएको खबरले निकै दुखी बनाएको थियो । यो संगै राज्यको प्रहरी दमन बढ्दै गएको थियो । गाउँमा दङ्गा प्रहरीको ज्यादती थपिदै गएपछि युवाहरू भारत पलायन हुने, तारिखे हुने,लुकेर बस्ने अवस्था बन्दै गयो । यी तमाम घटनाक्रमले कि त गाउँ छोडेर भाग्नु पथ्र्याे, कि त बिद्रोहमा सहभागी हुनुपथ्र्यो । मलाई पूर्णकालिन भएर आन्दोलनमा योगदान गर्नु नै सहि हुन्छ, जनयुद्ध हाम्रै लागि हो र हामीले नै लड्नुपर्छ भन्ने सोच र मनोबिज्ञान तर्फ प्रेरित गर्यो ।

१९ जेष्ठ २०५८मा दरबार हत्यकाण्ड भयो । राजा वीरेन्द्र र उनको स–परिवारको कत्लेआम गरियो । दरबार हत्याकाण्डसम्म आइपुग्दा माओवादी जनयुद्ध र छापामार संघर्षले निकै उचाइ प्राप्त गरिसकेको थियो । स्थानीय प्रहरी चौकी हुँदै डोल्पा सदरमुकाम दुनै कब्जासम्मका फौजी कारबाही सफल भैसकेका थिए । जनमुक्ति सेनाको औपचारिक घोषण भैसकेको थियो । त्यो बेला भारतीय वामपन्थी पत्रकार आनन्दस्वरुप बर्माद्वारा प्रकाशित म्यागेजिन तीसरी दुनियाँको रोल्पा से डोल्पा तक आबरण सहितको अंक खुब चर्चामा थियो । छापामार र माओवादी सम्बद्ध नेताकार्यकर्ताहरुको झोलामा जनादेशसङ्गै एकप्रति उक्त पत्रीकासमेत भेटिन्थ्यो ।अन्तर्राष्ट्रिय रुपमा शोभियत संघको विघटन र नब्बेको दशकपछि एक ध्रुवीय विश्व व्यवस्थाको रूपमा चर्चा गरिएको अमेरिकी साम्राज्यवाद बिरुद्ध अलकायदा र त्यसका नेता विन लादेनद्वारा टु विन टावर माथि प्लेन ठोक्काएर हमला गरिएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेण्टागन र विश्व व्यापार केन्द्रमाथि गरिएको सन २००१, ११ सेप्टेम्बरको हवाई हमलापछि जुम्ल्याहा भवन सलाइको काटी जस्तै जलेको थियो । यसलाई ११ सेप्टेम्बरको घटनाका नामले बुझ्ने गरिन्छ । उक्त घटनापछि अमेरिकाले अफगानिस्तान र इराक लगाएतका देशहरू माथि सैन्य आक्रमण ग¥यो र नेपालको माओवादी जनयुद्धलाई समेत अन्तर्राष्ट्रिय आतंकवादको सुचीमा राखेको थियो ।

२०५७ सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले अन्तरिम सरकार, गोलमेच सम्मेलन संविधानसभाको निर्वाचनको नारा अगाडि सारेको थियो भने अर्काेतिर दरबार हत्याकाण्ड पछि नेपालमा परम्परागत राजतन्त्र समाप्त भैसकेको र अप्रत्यक्ष रूपमा गणतन्त्र आइसकेकोले यसलाई संस्थागत गर्न वामपन्थी, कम्युनिस्ट र अग्रगमनकारी शक्तिहरुबीच बृहत राजनीतिक सहमति निर्माण गर्ने प्रयत्न गर्नुपर्ने भन्दै वार्ताको घोषण गरियो । कृष्ण बहादुर महरा, अग्नि साप्कोटा र टोपबहादुर रायमाझी सम्मीलित तीन सदस्यीय वार्ता टोली सार्वजनिक गरिएको थियो । उता राज्यले पनि चिरञ्जीवी वाग्ले लगाएतको टोली बनाएर बार्ता र सम्बादको नाटक गरिरहेको थियो । नाटक यसकारणले कि राज्यसत्ताको कार्यकारिणी अधिकार दलहरूसङ्ग थिएन ,दरबारसङ्ग थियो । ठीक यहिबेला (सायद २०५८ असोज ५ गते हुनुपर्छ) राज्य र बिद्रोहीबीच युद्धबिराम जारी थियो । काठमाडौमा खुल्लासभा गर्ने निर्णय भयो । सभामा सहभागी हुन हामी अछामका नेताकार्यकर्ताहरुको एक टोली पैदलै हिडेर सुर्खेतको बड्डीचौर पुगेका थियौं । अछामबाट तीन दिन लगाएर हाम्रो टोली सुर्खेत पुगेसङ्गै काठमाडौको सभा स्थगित भएको खबर प्राप्त भयो । भुमिगत माओवादीलाई काठमाडौमा जनपरिचालन सहित खुल्ला रूपमा सभा गर्न दिने हो भने माओवादी जनयुद्ध अब गाउँबाट शहर र किसान मजदुरबाट शहरिया मध्यमबर्गसम्म पनि फैलिन सक्छ भन्ने राज्यलाई डर थियो । त्यसैले शान्तिपुर्ण रूपमा गर्न लागिएको सभालाई सुरक्षाको कारण देखाउदै सरकारले कार्यक्रम गर्न नदिने नीति लिएको थियो ।त्योबेला अझै अछाममा पार्टीको संगठन सबैतिर बिस्तार भैसकेको थिएन । कमरेड राप्ती धनगढी जेलमा हुनुहुन्थ्यो । टङ्क बोगटीलाईकैलालीमा मारिसकेको थियो । कमरेड शरदसिंह लगायतको टिम मात्रै थियो अछाममा । संगठनको बिस्तार र आन्दोलनको आबश्यकता पुर्ती गर्ने उद्देश्यले हुनुपर्छ, अछाम, कालिकोट र बाजुरा एउटै जिल्ला समितिको संरचनामा थियो र सेक्रेटरी रणवीर हुनुहुन्थ्यो । त्यो बेला काठमाडौ सुर्खेतसम्म बस सेवा सञ्चालनमा भएपनि अछामबाट सुर्खेतसम्म हिडेरै आवतजावत गर्नुपथ्र्यो ।काठमाडौमा हुने भनिएको खुल्ला सभा स्थगित भएको जानकारीसङ्गै भर्खरै जेलबाट रिहा भएका इश्वरी दाहाल(असारे काका)ले हाम्रो टोलीलाई बार्ता प्रक्रिया लगायतका बिषयमा पार्टी धारणा सहितको मन्तव्य राखेका थिए । पछि सुर्खेतको लेकगाउ हुँदै हामी जिल्ला फर्किएका थियौं । वार्ता प्रक्रियासङ्गै राज्यको दमन पनि जारी नै थियो । एकातिर वार्ता र अर्कोतिर दमन, हत्या र राज्यको श्वेत आतंक यथावत थियो । यसप्रकारको सरकारी रबैयालाई माओवादीले राज्यको दुइधारे तरबार भनी टिप्पणी गरिसकेको थियो । त्यतिञ्जेलसम्म राज्य र बिद्रोही दुबैतिरबाट गरि करिब १८ सय नागरिकको ज्यान गैसकेको थियो । माओवादी छापामार र प्रहरीबीच लडाइ भएपनि शाहीसेनासङ्ग लडाइ भैसकेको थिएन । माओवादीले मागे अनुसार गणतन्त्रको स्थापना र संविधानसभाको चुनाव भैदिएको भए संभवत त्यो भन्दा बढी बलिदान हुने थिएन कि ? हामी धेरैको अपेक्षा थियो ।

तर समय अगाडि बढ्दै गयो । वार्ता पनि चलिरहेकै छ, धरपककड पनि जारी छ । २०५८मङ्सिर७ गते अछामको जोगीबर्साले– कोषेडीमा पार्टीका उपलब्ध कार्यकर्ताहरुको प्रशिक्षण भएको थियो । सायद हाम्रो कार्यक्रममा इन्चार्ज शरदसिंह हुनुहुन्थ्यो । प्रशिक्षणपछि पार्टी केन्द्रको पम्पलेट , केही नारा र पर्चाहरु सहित हाम्रो टोली ८ गते नजिकैको प्रहरी चौकी बिनायक वरपर मशाल जुलुस गर्ने भनेर जान भनियो । बिनायकमा त्यो बेला दङ्गा प्रहरीसहित ७८ जनाको टोली थियो रे । रातिको हिडाइले हामी समयमै निर्धारित स्थानमा पुग्न सकेनौं र अब ९ गते मात्रै मशाल जुलुस गर्नेकुरा भयो । बिहान उठेर रेडेयो सुन्ने बित्तिकै माओवादी छापामारहरूले दाङको घोराही सहित.. कब्जा गरेर भारी मात्रामा युद्धसामग्री लुटेर लगेको समाचार रेडियोबाट सुन्यौं । यो नै माओवादी र शाही सेनाको पहिलो लडाइ थियो । दाङ कारबाही हुनुभन्दा एक हप्ताअघि भेरी कर्णाली उपक्षेत्रबाट एक प्लाटुन स्तरको टिम हामीले दैलेखको राकमबाट बिदाई गरेका थियौं ।त्यो टोलीमा अरु को– को थिए, अहिले याद रहेन तर प्लाटुन कमिसारको रूपमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र शाही प्रज्वल हुनुहुन्थ्यो । उहाँलाई त्यो बेला बिशाल भनेर चिन्थ्यौ । पछि थाहा पाएअनुसार , दाङ कारबाहीमा उक्त प्लाटुन पनि सहभागी भएको रहेछ ।दाङ कारबाही पछि मङ्सिर ११ गते सरकारले संकटकाल घोषणा ग¥यो । देशभर सर्वसाधारण नागरिकको हत्याको शृङ्खला शुरु भयो । रेडियो खोल्यो कि सयौं माओवादी आतंककारीहरुकोको हताहत भएको,हतियार बरामद गरेको, महत्त्वपूर्ण दस्तावेज प्राप्त गरेको समाचार नआएको दिन नै हुन्थेन ।

माओवादीका लागि युद्ध र बार्ता संघर्षका भिन्न रुप मात्रै थिए । युद्ध रक्तपातपुर्ण राजनीति हो र राजनीति रक्तपातबिहिन युद्ध यी दुईबीच पारस्परिक र द्वन्द्धात्मक सम्बन्ध हुन्छ भन्ने माओको भनाइलाई माओवादीले राम्ररी बुझेको थियो । युद्ध पनि राजनीती कै जारी र भिन्न रुप हो भन्ने जर्मन सैन्य रणनीतिकार क्वाजवीजको भनाइलाई उसले आत्मसात गरेको थियो । वार्ताको नाममा माओवादीविरुद्ध सरकार षड्यन्त्रपुर्ण ढङ्गले आइरहेको बुझाइसहित माओवादीले पनि युद्धको तयारी समेत जारी राखेको थियो । माओवादीलाई दबाब दिन र हतोत्साहित गर्न एकथरी मानिसहरू छापामारहरुले प्रहरीसङ्ग लडे पनि सेनासङ्ग लड्न नसक्ने,सेनासङ्ग जमिन मुनी लुकाइराखेको हतियार पनि देख्न सक्ने प्रबिधि रहेको,सेनालाई भारत, अमेरिका र चीनको सैन्य सहयोग प्राप्त हुने र हेलिकप्टरद्वारा सेना लड्ने हल्ला गरिरहेका थिए । जनतासङ्ग पुलिसङ्गमा प्रत्यक्ष रूपमा प्रहरी रहेकोले पुलिस भन्दा पनि आर्मी सङ्गको लडाइ छिटो हुने , एक दुई –धक्का दिने बित्तिकै छापामार संघर्स गरिरहेको जनमुक्ति सेना रणनैतिक सन्तुलनको स्थितिमा पुग्ने र सन्तुलनको चरण धेरै लामोसम्म नजाने बरु छिट्टै प्रत्याक्रमणको दिशामा अगाडि बढ्न सकिने माओवादी अनुमान थियो ।

वार्ता सङ्गै युद्धको तयारीमा जुटेको सरकारले जनयुद्धको आधार क्षेत्र मानिएको रोल्पा, रुकुम लगायतका जिल्लाहरुलाई मध्यनजर गर्दै राप्तीको दाङमा हातहतियार र आबश्यक जनशक्ति केन्द्रित गरिरहेको थाहा पाइसकेपछि जनमुक्ति सेनाले शाहीसेना माथि शुरुमै आक्रमण गर्ने, बिजय हासिल गर्ने, सेनासङ्ग पनि सजिलै लड्न र जित्न सकिन्छ भन्ने मनोबिज्ञानलाई माथि उठाउने र युद्धमा पहलकदमी लिने योजना निश्चित गरेको थियो । त्यस अनुसार नै दाङ कारबाही भयो र त्यसलगत्तै संकट्काल शुरु भयो । अब सत्तामा संसदबादी पार्टी र फौजमा प्रहरीको सट्टा राजा र सेना अगाडि आउने भए।शक्तिसन्तुलन र प्रधानअन्तरबिरोधको पनि प्रधान पहलुमा फेरबदल आयो । दाङ मोर्चापछि सरकार र राज्य समर्थित सञ्चार माध्यमहरुले एकातिर दाङबाट जनमुक्ति सेनाले भारी मात्रामा युद्दसामग्री कब्जा गरेर लिएको प्रचार गरेका थिए भने अर्कोतिर त्यसलगत्तै दाङबाट लिइएका हतियार सरकारी सुरक्षाकर्मीहरुले विभिन्न ठाँउबाट बरामद गरिसकेको भनेर राज्यको असफलता लुकाउने प्रयास गरेका थिए।यो बिचमा देशभर सानातिना भिडन्त,प्रहरीदमन जारी नै थियो ।

यसैक्रममा पार्टीले एउटा ठुलो धक्का दिएर रणनीतिक सन्तुलन कायम गर्ने फौजी ट्याक्टीस अनुसार अछामको सदरमुकाम मङ्गलसेन र शसस्त्र प्रहरी बल क्याम्प साफेबगरमाथी एकैदिन मोर्चा कस्ने योजना बनाएको रहेछ । लडाइको१ महिना पहिले देखि नै सदरमुकाम मङ्गलसेन आवतजावतमा निगरानी राख्ने, गाउँबाट को गयो ? को आयो ? रेकर्ड राख्ने ,स्थानीय मिलिसियाहरुलाई संभावित नाकाहरुमा सेन्ट्री गर्न लगाउने लगायत गोपनियता र सुरक्षा प्रबन्धसङ्ग सम्बन्धित कामहरु हुन थालिसकेका थिए । पार्टीको आन्तरिक पङ्तिलाई फाल्गुन१ गते जनयुद् दिवसको रूपमा कालिकोटमा भव्य कार्यक्रम गर्ने भएकाले जनमुक्ति सेनाको फोर्स लगायत उच्च तहका नेताहरूको केन्दिकरण हुन गैरहेको बताइएको थियो । जनयुद्ध दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरि मनाउने चलन त्यसअघि पनि थियो तर यसपालि अलि भिन्न र उच्च नेतृत्वको उपस्थितिमा मनाइने गरि तयारी भैरहेको हो कि जस्तो लागिरहन्थ्यो । कालिकोट र अछामको सिमाक्षेत्र मानिने भानाकोटमा म लगाएत जनमुक्ति सेनाका सेक्सन कमान्डर दिनेश सहितको टोली मेश व्यवस्थापनका लागि झण्डै आधा महिनादेखी खटिएका थियौं । दिनेश जी बाजुराको हुनुहुन्थ्यो । सारै सरल, इमानदार र कर्तव्यनिष्ठ स्वभावको । हगुल्टे भिडन्तमा उहाँले नै पहिलोपटक शाहीसेनाबाट एम सिक्सटिन खोसेर ल्याएको भन्ने थियो ।

मङ्गलसेन फौजी कारबाहीसम्म आउँदा अछाम, कालिकोट, दैलेख जस्ता पहाडी र दुर्गम जिल्लाका गाउँहरुमा ग्रामीण सडक बिस्तार भएको थिएन । स्थानीय बजार र पसलहरुमा खाद्यान्न लगायत अत्यावश्यक लत्ताकपडाको अभाव हुन्थ्यो, पाइदैन थियो । पार्टीका ग्यादरिङ्हरुमा मकै र कोदोको ढिडो पकाएर कार्यक्रम चलाइथ्यो । कालिकोटको मालकोटमा थपिदै गएको जनमुक्ति सेनाको लागि चाहिने खाद्यान्न दैलेखको डुङ्गेश्वरबाट स्थानीय ब्यापारी मार्फत खच्चरद्वारा ढुवानी गर्ने र भानाकोट, खुलालु र चिल्तडाबाट जनतासहित हामी आफैले बोकेर खाद्यान्न सप्लाइ गरेका थियौं । यसरी तयारीका कामहरू निरन्तर भैरहेकै थिए । यहि बिचमा जनमुक्ति सेनाका पश्चिमाञ्चल सैन्य इन्चार्ज अनन्त, केहि उच्च तहका अन्य कमान्डरहरु र कमरेड प्रकाण्ड लगायतका नेताहरु भानाकोटबाट पुल्लेतोला,बाटुलासैन हुँदै रामारोशनतर्फ राति– राति यात्रा गरिरहनु भएको थियो र हामीहरुले उहाँहरुको सेल्टर व्यवस्थापन , खानपिन र रुट गाइडरको काम गरेका थियौ । एकातिर जनमुक्ति सेना कालिकोटतर्फ प्रस्थान गरिरहेको थियो भने नेताहरू र कमान्डरहरु अछामतर्फ मोडिएपछि पक्कै पनि केही ठुलो तयारी हुँदैछ भन्ने कुरा सम्भावित अनुमान हुने भौहाल्यो । उहाँहरु लडाइ अघि त्यहाँको भुगोल,संभावना, चुनौती लगायतका बिषयको अध्ययन र रेक्किको काम गरिरहनु भएको रहेछ ।

मलाई लाग्यो अब फाल्गुन १ गते नजिकिदै छ, हामीलाई पनि माल्कोट बोलाइन्छ होला,झोलाझुम्टो सबै तयारी राखेर बसौं तर समय आइपुग्दा समेत न हामीलाई बोलाइयो न त कुनै ठूलो कार्यक्रम नै भयो । सदाझैं सामान्य रचनात्मक क्रियाकलाप गर्दै सबैतिर जनयुद्धको बर्षगाठ मनायौ । फाल्गुन २ गते आयो, हामीलाई जिल्लाको रामारोशन रातभरी हिडेर पुग्ने निर्देशन आयो । खबर प्राप्त गर्ने बित्तिकै म लगायत स्थानीय साथीहरूको टिम भानाकोटबाट बेलुकाको खाना खाएर जोगिबर्साले ,झाता हुँदै पातल आइपुग्यौ । रातभरीको चिसो, ,अनिद्रा , हिउँसङ्गको लुकामारी र भौतिक थकावट त थियो नै । ३ गते बिहान १० बजेसम्म मात्र हाम्रो टोली पातल पुगेको थियो । जहाँ जनमुक्ति सेनाका हजारौं योद्धाहरु राति नै माल्कोटबाट रामारोशनको पातल पुगिसकेका थिए । पातल गाउँ माओवादी नेता खगेन्द्र रोकाय पृथ्वीको गाउँ थियो । पातलमा एउटै ढाचा र संरचनाका सयौं घरहरू छन । गाउँ निकै मिलेको र सुन्दर लाग्छ,त्यो रोकाय परिवारबाट मात्रै १३ जना सहिद भएको गाउँ हो । किन हो कुन्नी ,अहिलेपनि कहिलेकाहीँ रामारोशन जादा पातल गाउँ, त्यहाँका जनताको आत्मीय सत्कार र मङ्गलसेन मोर्चाको अन्तिम ग्यादरिङ्गको भिडभाड स्मृतिमा आइरहन्छ, मन हलुङ्गो हुन्छ । जिम्मेवारी थपिएको अनुभुति भैरहन्छ ।

फाल्गुन ३ गते दिनभरी हतियारको सरसफाई, गोलिकठ्ठाको व्यवस्थापन,घाइतेहरुको सप्लाईका लागि चाहिने बाँसका स्टेचर निर्माण लगायतका सारा कामहरू धमाधम भैरहेका थिए । बेलुका ४ बजे रामारोशनको पातल गाउँबाट जनमुक्ति सेनाको टोली आफ्नो यात्रातर्फ अगाडि बढ्यो । जनता, सहिद परिवार र स्थानीयहरुले एकएक पोका सातु दिदै टोलीको बिदाई गरिरहेका थिए । रामारोशनको पातल गाउँको शिरैबाट बग्ने कैलाश खोला मङ्गलसेनतर्फ बगिरहेको थियो । जनमुक्ति सेनाको टोली कैलाशको तिरैतिर अगाडि बढ्यो । राती१२ बजेसम्म कालागाउ र मलातीकोटको बीच भागमा पर्ने खोलामा हाम्रो टोली आइपुग्यो । त्यो राति सबै टिम त्यतै बस्यौं । खोलामा सलल पानी बगिरहेको थियो । मौसम अत्यन्त चिसो थियो । खोला किनार वरपर उत्तिसका अग्ला अग्ला रुखबिरुवाले छपक्क छोपिएको जस्तो लाग्थ्यो । थकान, भोक , अनिद्रा र चिसोले जतिसुकै हैरानी गरेपनि त्यसको कुनै प्रवाह नै थिएन । अब भोलि बेलुकाको लडाइ के होला ? कस्तो होला ?लडाइँ जितिएला कि हारिएला ? हामीमध्ये को –को बाचेर आउछौ होला ? लडाइपछि हामी कसरी सुरक्षित र ब्यवस्थित हुन्छौं होला ? आफैले बोकेका स्टेचरमा क– कसलाई बोक्नु पर्ने हो ? यी र यस्ता अनेक अनुत्तरित प्रश्नहरु मनमा खेलिरहे छ । युद्ध कति निर्मम हुन्छ है ! घाइते हुँदा आफ्नै लागि चाहिने स्ट्रेचर र सहिद हुँदा चाहिने साबेल,कोदालो र कफन समेत आफैले बोकेर हिड्नुपर्ने ! त्यो दिन न कुनै हाँसो थियो न त कुनै डर, खाली परिकल्पना, जिम्मेवारीबोध र गम्भिरताबाहेक अरु कुनै सोच्नै सकिन ।

४ गते बेलुका करिब ४ बजिरहेको थियो । जनमुक्ति सेनाको बटालियन फर्मेशनबद्ध अगाडि बढ्यो । त्यही दिन नै साँफेबगरमा रहेको सशस्त्र बलको क्याम्प रेड गर्ने उद्देश्यले अर्को टोली साफेबगरतर्फ मोडियो । सैन्य टोलीको बीचबीचमा घाइतेहरूको सप्लाई गर्ने, मृतकको दासंस्कार गर्ने र अन्य कामका लागि जनता र कार्यकर्ताको स्वास्थ्य टोली बनाइएको थियो । हामी त्यसैमध्येको एउटा टोलीमा थियौं । प्रस्थान गर्नुअघि हामीलाई आफ्नै साथि हो वा अरु कोही हो ? भनेर छुट्याउन लडाईमा प्रयोग हुने कोर्ड भाषा सुनाइएको थियो।हाम्रोमा बझाङका तत्कालीन सेक्रेटरी सुर्यप्रकाश पुन ञसुन्दरझले कागजमा कोरेर ल्याएको कोर्डभाषा सम्प्रेषण गरेका थिए । अग्लो कदको, हठी स्वभाव र निडर देखिने सुन्दरलाई पछि बझाङका जिल्ला इन्चार्ज बिनयसहित उहाँहरु दुबै जनालाई सैन्स्यु गाउँमा सेनाले नियन्त्रणमा लिइसकेपपछि हत्या गरेको रैछ । जब म अभियानको दौरानमा ०५९ असारमा बझाङ गए । उहाँलाई मारेको ठाउँ र घटना विवरणहरु स्थानीय साथिहरू मार्फत थाहा पाए । मन निकै चिसो भयो ।

राति ११ बजेपछि घमासान लडाइ शुरु भयो । दुबै तर्फ गोलाबारी चल्यो । करिब १ घण्टापछि आर्मी क्याम्प नियन्त्रणमा आइसकेको र डिएसपी कार्यालयमा लडाइ जारीरहेको थाहा भयो । लडाइमा घाइतेहरुलाई स्वास्थ्यकर्मी कहाँ पु¥याउने र आबश्यक उद्दारका काममा लाग्यौं । जब बिहान ४ बज्यो आकाशमा चारओटा हेलिकप्टर घुम्न थाले । चारैतिर बमबार्ड भैरहेको थियो । बिहान ७ बजेपछि जनमुक्ति सेनाको फौज फेरि कैलाशको तिरैतिर रामारोशन फर्क्यो । खोलैखोला यात्रा जारी थियो । भोक, निद्रा र थकाबाट पराजित भैसकेका थिए । लडाइँको बिजयपछि निकै उत्साह थपिएको थियो । हामी रामारोशन नपुग्दै शाहीसेनाले नेटाकोटमा फोर्स झारिसकेको थियो । लडाइँको अघिल्लो दिन प्रयोग भएका पातलका सेल्टरमा खानतलासी गर्ने,हत्या गर्ने र गाई भैसीलाई समेत गोली हानेको खबर आइरहेको थियो । रामारोशनका जनताले आफ्ना घर –गोठ छोडिसकेका थिए । जनमुक्ति सेना लडाइबाट फिर्ता भएपछि खानका लागि तयार गरिएका सबै खाद्यान्न,मालबस्तु शाहीसेनाले नस्ट गरिसकेको थियो । बाजुराको कोल्टीमा दुईदर्जन भढी युवायुवतीलाई एकै ठाँउमा कत्लेआम गरिएको थियो । कोटबाडाको बिमानस्थल निर्माणमा खटिएका रामेछापका ३० जना ज्यामीहरुलाई लाइन लगाएर एरपोर्टमै हत्या गरियो । लालु, कुमालगाँउ , माल्कोटका घरहरूमा अन्धाधुन्ध हत्या र आगजनी गरिएको थियो । अछामको बेल्खेतमा पैदल यात्रा गरिरहेका ४जनालाई गोली हानेर चौरमा सुताइएको थियो । उनीहरुलाई केही दिनपछि कमरेड अजित लगायत हामी केही साथिहरू र जनता मिलेर सव व्यवस्थापन गरेका थियौं । यसरी राज्यले जताततै, जो पायो त्यसैलाई माओवादी आतंककारी देख्न थालेको थियो ।

लडाईपछि साँच्चिकै शक्तिसन्तुलन कायम भएको थियो । सरकारी सेनाले जतिसुकै साधन, श्रोत र प्राविधि प्रयोग गरेर पनि जनमुक्ति सेनालाई जहाँ पायो त्यहीँ लखेटिहाल्न÷ पिछा गर्न संभव थिएन । जनसेना फलानो ठाँउमा छ भन्ने थाहा पाएर पनि उसले आक्रमण गरिहाल्न गार्हो थियो । त्यतिन्जेल छापामार ढङ्गले लडिरहेको जनसेन मङ्गलसेन मोर्चापछि भने मोर्चाबद्ध ढङ्गले प्रतिरोध गर्न सक्ने ठाउँमा आइपुगेको थियो । संकटकाल लागु हुनुभन्दा पहिले माओवादीले प्रहरीसङ्ग लड्न सकेपनि आर्मीसङ्ग लड्नै सक्तैन भन्न्ने राज्य र एकहदसम्म अन्तर्राष्ट्रिय बिज्ञहरुको बुझाइ थियो । दाङ कारबाहीमा जेनतेन लडाइ जितेपनि अब भने शाहीसेनासङ्ग माओवादी असफल हुन्छ, टिक्न सक्तैन भन्ने अनुमानका बीच भएको मङ्गलसेन मोर्चापछि भने उनीहरुको बिश्लेषणले फेल खाएको थियो ।

सम्भवत मङ्गलसेन लडाइको लगत्तै वा भोलिपल्ट हुनुपर्छ,अमेरिकी बिदेशमन्त्री कोलेन पावेलले नेपाल भ्रमण गरेका थिए । अब माओवादी नियन्त्रण गर्नेकुरा संसदवादी पार्टी, सुरक्षानिकाय र राजा ज्ञानेन्द्रको काबु बाहिर जाँदै थियो । त्यसपछि माओवादीलाई कसरी कमजोर बनाउने ? एनजीओ÷ आइएनजिओ मार्फत कसरी महिला, दलित, जनजाति, थारु लगायतका बस्तीमा विभिन्न स्वरोजगारमुलक कार्यक्रम दिएर राजनीतिक आन्दोलनबाट बिमुख बनाउने भन्ने कुरामा युरोपियनहरु र पश्चिमाहरु लागे । वैदेशिक रोजगारका नयाँ नयाँ गन्तव्यहरु खोज्ने र रातारात मेनपावर कम्पनीहरु मार्फत युवायुवतीहरुलाई बिदेश पठाउने योजनाहरु बनाउन थालियो ।

मङ्गलसेन फौजी मोर्चापछि नै देशका अधिकांस गाउँहरुमा राज्यको उपस्थिति खाली हुँदैगएको थियो । आधारइलाका, जनसत्ता रजनअदालतहरु अब घुम्ती ढङ्गले होइन स्थायी संरचनामा बदलिदै थिए । जनस्तरमा समेत अब जनमुक्ति सेन शाही सेनासङ्ग पनि लडाइमा बिजयी हुनसक्छ भन्ने मानक स्थापित भयो । एउटा बैकल्पिक सत्ताको अभ्यास जारी भयो । नयाँ मुल्यमान्यता,संरचना,संस्कार– सस्कृति, सञ्चारप्रबिधि र पहलकदमी अगाडि आए । गाउँमा सामाजिक विभेद, अन्धबिश्वास र रुढीबाद कमजोर हुँदै गयो । अन्तरजातीय बिबाह,सामाजिक सहअस्तित्व र सहकार्यको नयाँ भास्य सिर्जना हुँदै थियो ।(२०८० फाल्गुन३, बुढानिलकण्ठ )

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार