सुदर्शन जेलबाट कसरी छुटे ? ‘सुदर्शनले जेल रिहापछि पार्टीविरुद्ध एकघण्टा भाषण गरे’

डेली न्युजराप्ती       १७ कार्तिक २०७९ १७:१४ मा प्रकाशित     149 No Comments

विचार : विप्लव ।

सहमति गर्दाको प्रसँग पनि निकै रमाइलो छ । वास्तवमा हामी जुन अवस्था र मनस्थितिमा थियौं वार्ता सम्झौताप्रति त्यति मन खुलेको थिएन । केपी वलीको सरकार र संसदीय व्यवस्था नै असफल र सङ्कटमा परेपछि वार्ताको संभावना बन्न पुग्यो । वार्ता सम्बन्धसूत्रका लागि हामीले दीपकलाई खटाएका थियौं । वार्ता हुँदै जाँदा सहमति हुने संभावना बढ्यो र कमरेड प्रकाण्ड र दीपकको टोली बनाइयो । वार्ताका लागि दीपकले सुरुमा सात बुँदे सरकारी प्रस्ताव ल्याएका थिए ।ती पार्टीलाई आत्मसमर्पण गराउने खालका थिए । हामीले तिनलाई ठाडै इन्कार गर्दै आठबुँदे प्रस्ताव पठायौं, जो सिधा क्रान्तिका पक्षमा थिए । लामै छलफलपछि उनीहरु दुईवटा विषयमा अडिए । एउटा हातहतियारको विषय र दोस्रो संविधान र लोकतन्त्रबारे । यसमा पनि निकै बहस भएपछि गृहमन्त्री बादलले दीपकलाई सोधेका थिए “के पार्टी नेतृत्व साँच्चै वार्ताका लागि इमान्दार छ ?” दीपकले जवाफ दिएका थिए “सय प्रतिशत विश्वास गर्नुस् नेतृत्व तयार छ !” अन्तिमसम्म सबै मिल्यो तर एउटा दुई नम्बर बुँदामा शान्तिपूर्ण रुपले राजनैतिक गतिविधि गर्नेछौं भन्नेमा ‘वैधानिक’ भन्ने शब्द राख्न खुब जोड गरेका थिए । यो शब्दमा दीपक सहमत पनि भइसकेका थिए तर मैले टुङ्गो नलगाउन भनें र प्रकाण्डलाई काठमाडौँ पठाएर त्यो शब्द हटाउन भनें । यदि वैधानिक भन्ने शब्द जबरजस्त राख्न खोजिन्छ भने त्यहाँ गलत मनसाय छ, बरु वार्ता नै स्थगित गरेर फर्किनुस् भनें । पछि त्यो पनि हटाउन मञ्जुरी गरेपछि सहमतिमा हस्ताक्षर गरियो ।वार्ताको विषयमा सुदर्शनले अहिले जे भन्न खोज्छन् त्यो निर्लज्जताको पराकाष्ठा छ । उनले जेलबाट कार्यालयलाई लेखेका पत्र अहिले पनि सुरक्षित छन् । गृहसचिव प्रेम राई, एमाले नेता विष्णु पौडेललगायत भेटपछि सुदर्शन वार्ताप्रति पुरै लम्पसार परेका थिए । उनलाई पार्टीले वार्ताबारे चासो नै दिएको छैन कि या जसलाई जिम्मा दिएको छ उनी नै इमान्दार छैनन् कि भन्दै सिधा मलाई नै पहल लिन आग्रह गरेका थिए । जेलमा पुगेका सरकारी मान्छेहरुले आफुलाई वार्ता टोलीको संयोजक बन्न प्रस्ताव गरेको समेत उल्लेख गरेका थिए । मैले जेलमा परेको मान्छे वार्ताको प्रमुख हुन नसक्ने खबर पठाएको थिएँ । ३ बुँदे सहमतिपछि उनी छुट्न केही ढिला हुँदा जल्केको गाईले दाम्लो चुडाल्न खोजेजस्तो गर्दै थिए । भेट्ने–नभेट्ने मान्छे भेटदै गएका थिए । पार्टीले छुटाउन पहल नै गरेन जस्तो सोचिरहेका थिए । अन्य नेताहरुले कार्यकर्ता छुटेपछि छुटौंला भन्ने प्रतिक्रिया दिने, तर उनी जे गरेर पनि छुट्नु पर्छ भन्नेमा पुगेका थिए ।वार्ता टोलीले बाहेक मैले नै प्रचण्ड, माधवहरुसँग कुरा गरेर उनलाई छोडाउन विशेष जोड गरें । एकराज भण्डारीसहित वकिल साथीहरुले मुटुको विरामी भएकाले छुटाइपाउँ भनेर रिटमा बहस गर्नुभयो । सबैको जोडबल र केपी वलीको पनि सकारात्मक सोच भएकाले उनी छुटे तर बाहिर आएर मुटुका विरामी भएका भनिएका मान्छेले ट्रकमा उभिएर एक घण्टा भाषण पो गरे ! त्यो पनि पार्टीकै विरुद्धमा ! उनले त रिहाइका लागि पार्टी पंक्तिलाई धन्यवाद दिनुको सट्टा आफुलाई पार्टी भित्रैबाट गिरफ्तार गराएको भन्न पुगे । जब कि पार्टीले धेरै पटक विश्वास नगर्न भनेका व्यक्तिलाई काखी च्यापेकै कारण उनकै संलग्नतामा गिरफ्तार परेका थिए । पछि त केसम्म भन्न भ्याए भने मलाई पार्टीले छुटाएको होइन आफैँ छुटेको हुँ ! यो जस्तो सिल्लीपन अरु के हुन्छ ! कि त सुदर्शनले भन्नुपर्याे मैले जेलभित्रबाट नै घुमाउरो पाराले क्रान्ति र पार्टी छोड्ने बचन राज्यलाई दिइसकेको थिएँ, पार्टी फुटाएर क्रान्तिलाई धोका दिने र दुश्मनलाई सेवा गर्ने विश्वास दिलाएको थिएँ । क्रान्ति र नेतृत्वलाई बदनाम गर्ने जिम्मा लिएको थिएँ ! होइन भने पार्टीको पहलभन्दा बाहिरबाट एनसेलमा जिम्मा लिने सुदर्शन छु्ट्ने तर हामीले भाग लिएका होइनौं भन्ने कार्यकर्ता आजसम्म नछुट्ने कसरी हुन्छ ?!
(जनक्रान्ति अंक ५ बाट)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार