दाङ— क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्नो केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न गर्दै समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गरेको छ।
महासचिव कमरेड सीपी गजुरेलको अध्यक्षतामा २०८२ चैत १७ देखि १९ गतेसम्म घोराहीमा सम्पन्न बैठकका निर्णयहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
बैठकको सुरुवात विभिन्न ऐतिहासिक जनआन्दोलन, महान जनयुद्ध तथा राष्ट्रिय मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो। साथै बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरूप्रति सम्मान व्यक्त गरिएको थियो।
महासचिवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल गर्दै बैठकले अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरेको छ। प्रतिवेदनमा अमेरिकी नेतृत्वको साम्राज्यवादले विश्वमा आफ्नो प्रभुत्व कायम राख्न सैन्य तथा आर्थिक हस्तक्षेप तीव्र बनाएको निष्कर्ष निकालिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि आक्रामक नीति अगाडि बढाइएको आरोप लगाइएको छ।
दक्षिण अमेरिकी देश भेनेजुएलामाथि गरिएको हस्तक्षेपको विरोध गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरोमाथि लगाइएका आरोपको खण्डन गरिएको छ। साथै इजरायल–अमेरिका गठबन्धनद्वारा इरानमाथि गरिएको आक्रमणको कडा विरोध गर्दै युद्ध तत्काल अन्त्य गर्न माग गरिएको छ।
त्यस्तै, दक्षिण एसियाली क्षेत्रमा पाकिस्तान र अफगानिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै संवादमार्फत समाधान खोज्न आग्रह गरिएको छ।
खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति विस्तार भएको भन्दै विभिन्न देशमा स्थापना गरिएका सैन्य अड्डाहरू हटाउन पनि पार्टीले माग गरेको छ।
राष्ट्रिय सन्दर्भमा, पार्टीले पछिल्लो संघीय निर्वाचनप्रति असन्तुष्टि जनाउँदै वर्तमान सरकार विदेशी प्रभावमा सञ्चालन भएको आरोप लगाएको छ। निर्वाचनपछि बनेको सरकारले विपक्षी दलका नेता, मजदुर, विद्यार्थी तथा कर्मचारी संगठनमाथि दमन गरेको दाबी गरिएको छ।
पार्टीले आफ्नो निर्वाचन बहिष्कार कार्यक्रम सामान्यतः सफल भएको उल्लेख गर्दै आगामी दिनमा संगठन सुदृढीकरण, जनपरिचालन र वैचारिक स्पष्टतामा जोड दिने निर्णय गरेको छ।
यससँगै बैठकले आगामी कार्यक्रमहरू समेत तय गरेको छ। जसअन्तर्गत देशभर जनसंघर्ष विस्तार गर्ने, विभिन्न वर्ग, क्षेत्र र समुदायलाई समेट्दै संयुक्त आन्दोलन निर्माण गर्ने तथा विद्रोहको तयारीलाई तीव्र बनाउने नीति लिइएको छ।
पार्टीले जनताको बीचमा आधारित आन्दोलनमार्फत वर्तमान व्यवस्थाको विकल्प निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।
त्यस्तै, समाजवादउन्मुख आर्थिक–राजनीतिक कार्यक्रम अघि सार्दै उत्पादन, रोजगारी र राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्राथमिकतामा राख्ने निर्णय गरिएको छ।
पार्टीले विभिन्न देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग सहकार्य गर्दै संयुक्त मोर्चा निर्माण गर्ने पनि उल्लेख गरेको छ।
बैठकले ११ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। पार्टीका प्रवक्ता सुदर्शनद्वारा हस्ताक्षरित विज्ञप्तिमा ती निर्णयहरू कार्यान्वयनका लागि संगठनलाई सक्रिय बनाइने उल्लेख गरिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.