सही विचार कहाँबाट आउँछ ?

डेली न्युजराप्ती       १ असार २०७९ ०७:०७ मा प्रकाशित     251 No Comments


‘सामाजिक अस्तित्व नै त्यस्तो कुरा हो, जसले विचार निर्धारण गर्छ’
बिचार:माओत्सेतुङ

सही विचार कहाँबाट आउँछ ? के ती माथि आकाशबाट वर्षन्छन् ? अहँ, त्यसो हुँदैन । के ती दिमागमा जन्मजात रुपमा जमेर बसेका हुन्छन् ? अहँ, त्यसो पनि होइन । ती हाम्रा सामाजिक अभ्यासबाट पैदा हुन्छन्, मात्र त्यसबाट । ती हाम्रा तीन प्रकारका सामाजिक अभ्यासबाट पैदा हुन्छन्– उत्पादनको सङ्घर्र्ष, वर्गसङ्घर्ष र वैज्ञानिक परीक्षण ।मान्छेको सामाजिक अस्तित्व नै त्यस्तो कुरा हो, जसले उसको विचार निर्धारण गर्छ । जब जनसमुदायले अगुवा वर्गको सही विचार हात पार्छ तब त्यो विचार भौतिक शक्तिमा रुपान्तरण हुन्छ, जसले समाज र सिङ्गै विश्वलाई बदलिदिन्छ । सामाजिक अभ्यासका क्रममा मान्छे थरिथरि सङ्घर्षमा सहभागी हुन्छ र त्यसै क्रममा हात पार्ने सफलता र असफलता दुवैबाट मान्छेले अथाह अनुभवहरु आर्जन गर्छ । बाह्य वस्तुगत संसारका अनगिन्ती घटनाहरु हेर्ने, सुन्ने, सुँघ्ने, चाख्ने र छुनेजस्ता पाँचवटा ज्ञानेन्द्रियहरुमार्फत् मान्छेको दिमागमा प्रतिबिम्बित हुन्छन् । सुरुमा ज्ञान मानसिक क्रियाव्यापारको रुपमा रहन्छ, त्यसले त्यतिखेर विचारको रुपमा फड्को मार्छ जब पर्याप्त अनुपातमा मानसिक ज्ञान सञ्चय हुन्छ । यो ज्ञानको एउटा प्रक्रिया हो । ज्ञानको समग्र प्रक्रियामा यो पहिलो चरण हो, जसले वस्तुगत यथार्थबाट आत्मगत चेतना हुँदै अस्तित्वबाट विचारतर्फ डोर्याउँछ । यस चरणमा मान्छेको चेतना र विचार (जसमा सिद्धान्त, नीति, योजना अथवा मापन समावेश छन्)ले बाह्य वस्तुगत संसारलाई ठीकसँग प्रतिबिम्बन गर्न सक्छ कि सक्दैन भन्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन । र, अहिले नै यी ठीक या बेठीक के छन् भनेर ठोकुवा गर्न पनि गाह्रो छ । त्यसपछि आउँछ ज्ञानको प्रक्रियामा दोस्रो चरण, जसले चेतनाबाट पदार्थतर्फ, विचारबाट अस्तित्वतर्फ डोर्याउँछ, त्यही क्रममा प्रथम चरणमा प्राप्त गरिएका ज्ञान सामाजिक अभ्यासमा लागु हुन्छ । त्यतिखेर हाम्रा सिद्धान्त, नीति, योजना र मापन सफलताका नजिक पुग्छन् । आम रुपमा भन्नुपर्दा सफलतालाई सही र असफलतालाई गलत हो जो भनिन्छ, त्यो वास्तवमा प्रकृतिविरुद्धको मान्छेको सङ्घर्षको हकमा मात्र लागु हुन्छ । सामाजिक सङ्घर्षमा अग्रदस्ताको रुपमा रहेको शक्तिको पराजय उसको विचार गलत भएकाले मात्र हुँदैन ! बरु सङ्घर्षमा सहभागी शक्तिहरुबीचको शक्तिसन्तुलनमा उनीहरु प्रतिक्रियात्मक शक्तिभन्दा शक्तिशाली नहुनाको कारणले गर्दा हुन्छ । त्यसकारण उनीहरु अस्थायी रुपमा पराजय हुन्छन् तर ढिलोचाँडो उनीहरुले अवश्य जित्नेछन् ।मान्छेको ज्ञानले अभ्यासका क्रममा छलाङ मार्छ । यो छलाङ अघिल्लो छलाङभन्दा महत्वपूर्ण हुन्छ । त्यसको एक मात्र कारण के हो भने त्यसले बाह्य वस्तुगत संसारको प्रतिबिम्बन गर्ने क्रममा विचार, सिद्धान्त, नीति, योजना र मापनजस्ता ज्ञानमा मारिएको पहिलो छलाङ सही छ या गलत छ भन्ने कुरा प्रमाणित गर्छ । सत्यलाई जाँच्ने योभन्दा अर्को तरिका नै छैन ।यसभन्दा अर्को तरिकाले मान्छेको ज्ञानले अभ्यासका क्रममा छलाङ मार्छ । यो छलाङ अघिल्लो छलाङभन्दा महत्वपूर्ण हुन्छ । त्यसको एक मात्र कारण के हो भने त्यसले बाह्य वस्तुगत संसारको प्रतिबिम्बन गर्ने क्रममा विचार, सिद्धान्त, नीति, योजना र मापनजस्ता ज्ञानमा मारिएको पहिलो छलाङ सही छ या गलत छ भन्ने कुरा प्रमाणित गर्छ । सत्यलाई जाँच्ने योभन्दा अर्को तरिका नै छैन । अझ सर्वहारावर्गले संसारलाई चिन्नुको एउटा र एक मात्र उद्देश्य संसारलाई बदल्नु हो । यद्यपि सही ज्ञान पदार्थबाट चेतना र पुनः पदार्थमै फर्कने प्रक्रिया एक होइन, पटकपटक दोहोरिएपछि मात्र पैदा हुन्छ, जुन अभ्यासबाट ज्ञान र पुनः अभ्यासमै फर्कने गर्छ । ज्ञानसम्बन्धी माक्र्सवादको सिद्धान्त, ज्ञानसम्बन्धी द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त यही हो । हाम्राबीचमा यस्ता थुप्रै कामरेडहरु हुनुहुन्छ, जसले आजका दिनसम्म ज्ञानको यो सिद्धान्त बुझ्न सकेका छैनन् । जब हामी उनीहरुलाई उनीहरुको विचार, धारणा, नीति, विधि, योजना तथा निष्कर्ष, शानदार भाषण र लामा लेखहरुको स्रोत के हो भनेर सोध्छौं तब प्रश्नबाटै अचम्मित हुन्छन् र उनीहरु जवाफ दिनै सक्दैनन् । न त उनीहरु पदार्थ चेतनामा र चेतना पदार्थमा रुपान्तरण हुन्छ भन्ने नै बुझ्छन्, जबकि यसप्रकारका छलाङहरु हाम्रा दैनिक जीवनका गतिविधिहरुका अभिव्यक्ति नै हुन् । त्यसैले हामीले हाम्रा कामरेडहरुलाई ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तका बारेमा सिकाउनु आवश्यक छ, जसले गर्दा उनीहरुले आफ्नो चिन्तनलाई सही दिशानिर्देश गर्न सकून्, अनुसन्धान, अध्ययन र आफ्ना अनुभवहरुको संश्लेषण गर्न सक्षम होऊन्, समस्याहरुलाई पार लगाउन सकून्, कमभन्दा कम गल्ती गरुन्, आफ्नो काम ठीक ढङ्गले गर्न सकून्, चीनलाई महान् तथा शक्तिशाली समाजवादी मुलुक बनाउन कठोर सङ्घर्ष गर्न सकून् र हाम्रो महान् अन्तर्राष्ट्रियतावादी जिम्मेवारी पूरा गर्न संसारभरिका बहुसङ्ख्यक शोषित–उत्पीडित जनतालाई सहयोग गर्न सकून् ।दर्शनबारे पाँच कृति (रचनाकाल मे १९६३) । अनुवाद :भोगिराम चाम्लिङ

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार