छोरी के तिमी सुरक्षीत छौ?

डेली न्युजराप्ती       ७ श्रावण २०७८ २३:०० मा प्रकाशित     609 No Comments

अमर खड्का। जन्मनु पहिले,
तिम्रो बा आमाबाटै
तिमी सुरक्षित थिएनौ
सुरक्षित हुन यहाँ गर्भमा
छोरा हुनुपर्छ
तिमी छोरी हौ ।

जन्मिसके पछि ,
भुलाउने चाहानामा
खेलाउने बहानामा
चुम्बन गरे
नछुने ठाउमा छोए
हेर्न नहुने कुरा हेरे
गर्न नहुने काम गरे
खै के के गरे ? गरे
सुरक्षित नहुने गरि गरे ।

जब स्कुल जाने भयौ
कयौं पटक, तिम्रा सरहरुले
टाइ नमिलेको भनि
छाती चिमोटिदिए
हिसाब मिलेन भनेर
ढाड सुमसुम्याइदिए
गृहकार्य छुटेको दिन
गाला मुसारेरै छुट दिए
झगडा गरेको दिन
मुर्गा बनाइ पछाडि उभिएर हेरे
पटक÷पटक आँखाले बलात्कार गरे
छोरी के तिमी , स्कुलमा सुरक्षित छौ?

तिमीले प्रेमको लामो–लामो सास फेर्दा
तिम्रो प्रेमिले रोमाञ्चित मानेर
जब,तिमी उभिएकै जमिनमा पल्टायो
के तिमी प्रेमिसंग सुरक्षित छौ?

तिम्रो ठिक अगाडि उभिरहेको काकाले
तिमिलाई नै हेरेर
कयौं पटक थुक निल्दैछ्न होला
तिम्रो पछाडिको हजुर बा
तिमिलाई हेर्न चस्मा मिलाउदै छन होला
उ …त्यो परको केटो
तिमिलाई माल भन्दै छ
तिमी कहाँ सुरक्षीत छौ ?

तिमी नर्स भएर अरुलाइ हर्ष दिदै
जब रातदिन, दिनरात
भोक प्यास नभनी
बिरामीको सेबक बनेर
अहोरात्र खटी रहँदा
कयौ ब्वाँसाहरु
लुछ्न आउँछ्न
चिथोर्न आउँछ्न
कोपर्न आउँछ्न
गिद्दे नजर लगाउछ्न होला
विष बमन गछ्र्न
के तिमी त्यहाँ सुरक्षित थियौ ?

अब तिमी सुरक्षित हुन
गणतन्त्रको कात्रो ओडेर
समृद्धिको घाटमा
दन्किनु पर्छ
ता की
उड्दै उड्दै गएको धुवाको
खबरले प्रत्येक छोरीले आगो
ओकल्न सकुन

सुरक्षित बन्न सकुन ।(लेखक:- अमर खड्का अनेरास्ववियु(क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष हुनुहुन्छ)।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार