कृषक संग बैंक

डेली न्युजराप्ती       ६ माघ २०७८ १५:१४ मा प्रकाशित     673 No Comments


बि.स. १९९३ अघिसम्म नेपालमा औपचारिक बैकिङ प्रणालीको अभ्यास भएको थिएन र  धेरै मान्छेहरुले बस्तु बिनिमय प्रणाली मार्फत नै आवश्यकता पुर्ती गर्ने र रुपैयाँ पैसाको कारोबार गाउँघरका सिमित साहु महाजन बाटै गर्ने गर्दथे । जब नेपालमा ९० को दशकमा नेपाल बैंकको स्थापना भयो त्यसपछि आधुनिक बैकिङ प्रणालीको युग प्रारम्भ भयो । नेपाल बैंकले केही बर्ष केन्द्रिय बैंकको रुपमा पनि कार्य गर्यो र औपचारिक बैकिङ प्रणालीको जग बसाल्यो , तर पनि ग्रामीण अर्थतन्त्रले चलेको नेपालमा ग्रामीण स्तरसम्म बैकिङ प्रणालीको अभ्यास बसाल्न चुनौती थियो ।  कृषिप्रधान देश नेपालमा दुइ तिहाइ बढी मानिस कृषि पेशामा संलग्न रहेको र अर्थतन्त्रको मेरुदण्डको रुपमा कृषि नै रहेको हुनाले कृषक संग बैंक एउटा महत्त्वपूर्ण आवश्यकता बनेको थियो । यही परिदृश्यलाइ मध्यनजर गर्दै राज्यले आफ्नो बहुमत लगानीमा कृषि र ग्रामीण अर्थतन्त्र सम्म बैकिङ पहुँच पुर्याउने उद्देश्यले बि.स. २०२४ माघ ७ गते कृषि बिकास बैंकको स्थापना गर्यो ।
  आज भन्दा ठिक ५५ बर्ष अगाडी स्थापना भएको कृषि बिकास बैंक अहिले कृषकहरु र समग्र नेपालिहरुको घर आगनको बैंक बनेर सेवा दिइरहेको छ । किसानहरुलाइ सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने उद्देश्यले राज्यले नै स्थापना गरेको बैंक भएको हुनाले यस  बैंकले नाफा भन्दा पनि बढी सेवालाई प्राथमिकतामा राखेको छ । बैंकले अहिले सबै जिल्ला बाट आधुनिक र डिजिटल माध्यमबाट आफ्ना सेवाहरु प्रदान गरिरहेको हुनाले कृषक र ग्रामीण स्तरका जनताहरुलाइ आधुनिक बैकिङ प्रणालीको दायरामा ल्याउन उल्लेखनीय भुमिका निर्वाह गरेको प्रष्ट छ।कृषिलाई नछोड्ने र अरुलाइ जोड्ने नितिलाइ आत्मसात गर्दै बैंकले अहिले अरु क्षेत्रहरूमा पनि उल्लेख्य रुपमा सेवा बिस्तार गर्दै आएको छ । बैंकले आफ्नो कुल कर्जाको ४० प्रतिशत भन्दा बढी कृषि क्षेत्रमा लगानी गरेको छ यसबाट नै प्रष्ट हुन्छ कि कृषि बिकास बैंक साच्चिकै कृषकहरूको बैंक पनि हो ।
२०६२/६३ सालमा बैंकलाई कम्पनी मोडेलमा रुपान्तरण गरि राष्ट्र बैंकबाट क बर्गको इजाजत पनि दिइएको हुनाले बैंकले अहिले अरु बाणिज्य बैंकहरुकै स्तरमा आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले गैर कोषमा आधारित कारोबारलाई पनि प्रमुख रुपमा अगाडि सारेको देखिन्छ । बिशेष गरि राज्यले लिएको निती र कृषिसंग जोडिएको अर्थतन्त्रलाई मजबुत बनाउनु यस बैंकको मुख्य लक्ष्य रहेको छ । राज्यले विभिन्न अनुदानमा आधारित कृषि कर्जाहरु कृषि बिकास बैंक मार्फत नै किसानहरु सम्म पुर्याउन केही हदसम्म पहल गरेको देखिन्छ तथापि कतिपय अबस्थामा वास्तविक किसानहरूले यस्ता कर्जाहरु नपाएको गुनासा हरु सुनिन्छन तसर्थ यस्ता खालका कृषि कर्जाहरुलाइ वास्तविक किसानहरुको बिचमा पुर्याउन राज्यले बैंकसंग समन्वय गरेर प्रभावकारि नीति तर्जुमा गर्नु पर्दछ ।

ग्रामीण क्षेत्रका मानिसहरूको प्रमुख पेशा कृषि रहेको हुनाले कृषिलाई आधुनिक र ब्यवसायिक बनाइ कृषकहरुको जिबनमा आमूल परिवर्तन ल्याउन बैंकले बित्तीय सहायता मार्फत ग्रामीण जनता र जन जिबनलाइ सहयोग गरेको इतिहास छ ।  कृषि बिकास बैंक एक बाणिज्य बैंक भएतापनि किसानहरुको माग र आवश्यकतालाई दृष्टिगत गर्दै स-साना आकारका कर्जाहरु पनि प्रदान गरेको छ । जसका कारण सानो बित्तीय आवश्यकताको लागि किसानहरूले गाउँघरको चर्को ब्याजदरबाट ऋण लिनुपर्ने बाध्यता हटेको छ । पछिल्लो समय बैंकले किसान क्रेडिट कार्डको प्रयोगलाई व्यापक बनाउन पहल गरेको छ । यसले किसानहरुलाइ आधुनिक ढंगबाट बैंकसंग जोड्ने कार्य गरेको छ । एउटै कार्ड र एप बाट किसानहरुले मर्चेन्टको सहायतामा विभिन्न बैकिङ सुबिधा लिने अबसर मिलेको छ । कृषि बिकास बैंकले पछिल्लो समय डिजिटल बैंकलाई विशेष प्राथमिकतामा राखेको छ यसले ग्रामीण जनता र किसानहरुलाइ अझै आधुनिक बित्तीय पहुँचको दायरामा ल्याउन सहयोग गर्नेछ।यहि बार्षिक उत्सवको अबसरमा बैंकले QR टेलरको प्रयोगलाई पनि बजारमा ल्याएको छ।
दक्ष युवा जनशक्ति अनि परिपक्व ब्यवस्थापनको मजबुत संयोजन यस बैंकको सबल पक्ष रहेको छ । बाणिज्य बैंकहरुमा सबभन्दा बढी अधिकृत पुजि भएको यस बैंकको भौतिक संरचना र बिकासले बैंकलाई अझै उचाइमा पुर्याउन सहयोग गरेको छ । राज्यले साच्चिकै कृषि र कृषकहरुको बिचमा आधुनिक बैंकिङ पहुँच पुर्याउने हो भने कृषि बिकास बैंकलाई फरक ढंगले सन्चालन गर्नु पर्दछ । किसानहरुको बिचमा रहेको बैंकलाई अरु बैंकहरुले झै उच्च नाफा आर्जन गर्ने र चर्को शुल्क लिने प्रतिस्पर्धात्मक होडबाजी बाट बाहिर आउन बिना दबाब काम गर्न दिनु पर्दछ ।

समग्रमा कृषि बिकास बैंकलाई कृषकहरुको बैंकको रुपमा स्थापित गर्दै सबै नेपालीहरुको बिश्वासिलो बैंकको रुपमा अगाडि बढाउन सबै सरोकारवाला पक्षहरुले आ आफ्नो ठाउँबाट योगदान पुर्याउन आवश्यक देखिन्छ । बैंकले ५५ बर्षको इतिहासमा थुप्रै लोकप्रिय कार्यक्रम हरु गर्दै किसानहरूको मन जितेको छ । डिजिटल बैंकिङ प्रणालीलाई व्यापक रुपमा प्रयोग गर्दै आफ्ना ग्राहकलाई छिटोछरितो सेवा दिइरहेको छ । कृषि बिकास बैंक र किसानहरको आपसी सम्बन्ध र समझदारीलाई दिगो बनाउन बैंकले आफ्ना सबै २८१ वटा शाखाहरुबाट आधुनिक बैकिङ सेवा बिस्तार गरिरहेको छ ।  बैंकले आगामी दिनहरूमा उत्कृष्ट सेवा प्रदान गर्दै बाणिज्य बैंकहरुको सुचिमा अग्रस्थानमा आउन थप सफलता मिलोस र सबै सरोकारवालाहरुको हित गर्दै बैंक प्रगति पथमा लम्की रहोस ५५औ बार्षिक उत्सवको अबसरमा हार्दिक सुभकामना ब्यक्त गर्दछु ।
लेखक: तेज बहादुर डागी (कृषि बिकास बैंक, शाखा जाजरकोट)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार