तुलसीपुरमा हिरा डाँगी स्मृति कप आजदेखी सुरु हुदै , भारतीय क्लब समेत सहभागी

डेली न्युजराप्ती       २० फाल्गुन २०८० ०९:२६ मा प्रकाशित     88 No Comments

फागुन २० , तुलसीपुर । तुलसीपुरमा तेस्रो हिरा डाँगी स्मृती कप आमन्त्रित फुटबल प्रतियोगिता आजदेखी सुरु हुने भएको छ ।

हिरा डाँगी फाउन्डेसन तुलसीपुर – ५ को आयोजनामा तुलसीपुरको अरनिको मैदानमा सुरु हुने प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

उद्घाटन मध्याह्न साढे १२ बजे गरिने फाउन्डेसनका अध्यक्ष पोखर सिंह डाँगीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता ज्ञानज्योति तुलसीपुर र राइजिङ स्टार घोराही भिड्नेछन् । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुर्‍याउने  उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रीति बहादुर गिरि जानकारी दिए ।  त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशनी गर्ने व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५  हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिने संयोजक गिरिले जानकारी दिए । २०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परी ज्यान गुमाएका फुटबल खेलाडी हिरा डाँगीको सम्झनामा स्मृति कप हुँदै आएको छ ।

फागुन २६ गते सम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । जसमध्ये साविक विजेता ज्ञानज्योति इनोभेटिभ फुटबल क्लब तुलसीपुर, भारतको सहारा क्लब लखनउ , साविक उपविजेता टरिगाउँ युवा क्लब, युनाइटेड युथ क्लब तुलसीपुर, युएनबिसी युथ क्लब घोराही, सुर्खेत डिएफए, क्लब, फर्साटिकर रूपन्देही, लुम्बिनी प्रदेश फुटबल एकेडेमी, राइजिङ स्टार घोराही र एक विभागीय टिम एपीएफ लुम्बिनी प्रदेशको टिमको सहभागिता रहने आयोजक हिरा डाँगी फाउन्डेसनले जानकारी दिएको छ ।

यसैबीच आयोजक हिरा डाँगी फाउन्डेसनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगिताको प्रचार प्रसार, खेलमैदान मर्मत, आर्थिक व्यवस्थापन, आमन्त्रित टिमको आवास तथा भोजन व्यवस्थापन, आतिथ्य सत्कार , प्राथमिक उपचार लगायतका पक्षमा सबै तयारी पूरा भएको फाउन्डेसनका सचिव केशव चौधरी मिङ्माले जानकारी दिए । प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, संघ संस्था, पत्रकार लगायत सबैमा अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार