सबै तालमेल मिलेको छ,अब नेपालमा समाजवाद आउँछ : प्रधानमन्त्री प्रचण्ड

डेली न्युजराप्ती       २१ चैत्र २०८० ०६:२६ मा प्रकाशित     53 No Comments

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सडक, सदन र सरकारको तालमेल राम्रोसँग मिलेको बताएका छन् । मङ्गलबार समाजवादी मोर्चा, नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै प्रचण्डले सडक, सदन र सरकारको तालमेल मिलेको अब नेपालमा छिट्टै समाजवाद आउने बताएका हुन् ।

उनले समाजवाद ल्याउन सडक, सदन र सरकार यी तीनै चिजको अनकुल हुनुपर्ने र अन्य आधारसमेत तयार भएपछि समाजवाद आउने बताए । उनले भने, ‘समाजवादको लागि आधार तयार पार्न सुशासन, सामाजिक न्याय र समृद्धि यी तीन चिज र त्यसलाई स्थापित गर्न सबै मोर्चाबाट दबाब सिर्जना गर्नुपर्छ । मैले सरकारको तर्फबाट त्यो भुमिका निभाइरहेको छु । तपाईंहरु अन्य मोर्चाका घटकहरुले पनि त्यही अनुसार अघि बड्नुस् ।’

प्रचण्डले मोर्चामा सहभागी ४ दलहरु मध्य ३ पार्टी सदन र सरकारमा रहेको र विप्लवले नेतृत्व गरेको नेकपाले सडकको नेतृत्व गरेकाले समाजवादका लागि सबै कुराको तालमेल मिलेको जिकिर गरे ‘नेकपाले सडकको नेतृत्व गरिरहेको छ, हामी सरकार र सदनमा छौं ।’, उनले भने, ‘यसबाट सडकको खबरदारीले हामीलाई सरकार र सदनमा मात्र लिप्त भैराख्न छुट दिदैन । त्यसो भएपछि नेपाली विशेषताको समाजवाद प्रप्तिको आन्दोलन धोकामा टुङ्गिदैन ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले काङ्ग्रेससँगको गठबन्धन तोडेर नयाँ समिकरणमा जानु पनि यही अभियानको आधार तयार पार्नु भएको दाबी गरे । ‘पूर्व गठबन्धनको साथ लिएर जादा त्यो सम्भव नभएर गठबन्धन त्यागें । नयाँ समिकरण बनाए ।’, उनले भने, ‘अहिलेको मेरो कदम पदको लागि हुँदै होइन । समजवादको आधार तयार पार्न यो कदम चालेको हो । यसबाट जनता सन्तुष्ट छन् । केही पश्चगामीहरु बाहेक अरुलाई उत्साह नै छ ।’

नेपालमा अहिले समाजवादका लागि अनकुल परिस्थितिको निर्माण भएको बताउदै उनले नेपालका सबै देशभक्त वामपन्थी समाजवादीहरु एकैठाउँमा उभिन सके समाजवाद सम्भव भएको जिकिर समेत गरे । उनले थपे, ‘समाजवाद जनताले जन्माउने हो । समाजवाद सडकबाट जन्मिन्छ । जनता सडकमा हुन्छन्, सरकार सदन र सडकको तालमेल मिलेको छ अब नेपालमा समाजवाद आउँछ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार