विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने, सरोकारवालाले निर्णयको स्वागत गरे!

डेली न्युजराप्ती       २७ चैत्र २०८० ०७:४२ मा प्रकाशित     66 No Comments

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले यो विषय उठान गरिरहेकै विषय भएकाले सबै विद्यालयले अनिवार्य लागू गर्नुपर्ने बताए । उनले भने,‘कतिपय विद्यालयले पुस्तक वितरण पनि आफैँ गर्ने, आफूले भनेकै ठाउँमै गएर किन्नुपर्ने नियम बनाएका छन् । त्यो बाध्यताको अन्त्य हुनुपर्छ ।’ 

उनले एक त अभिभावकले शुल्ककै मार खेपिरहेकै बेला भनेकै ठाउँमा किताब, पोसाकलगायतका सामान किन्न लगाउनु गलत कार्य रहेको बताए । उनले भने, ‘गरिबका छोराछोरीले जसोतसो रकम जुटाएर पढ्न आएका हुन्छन् । यहीँबाट नै किन्नुपर्छ भन्ने नियम व्यापारिक प्रायोजनले गरिएको कामजस्तो देखियो जुन खराब हो । महानगरपालिकाको काम स्वागतयोग्य छ ।’

शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यालयमा कमिसनको चक्कर अन्त्य हुनुपर्ने तर्क गर्छन् । उनले भने, ‘पोसाक, पाठ्यपुस्तक र शैक्षिक सामग्री सामानमा दुवै निजी तथा सरकारी विद्यालयमा कमिसनको चक्कर बेठीक छन् । किताब विद्यालयले बेच्ने होइन नि पसलेले बेच्ने हो । यो नियमको सबैले पालना गर्नुपर्छ ।’ 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले विद्यालयले आफैँ पाठ्यपुस्तक र पोसाक बिक्री गर्न नपाउने नियम पहिलादेखि नै भएको र सबैले पालना गरिरहेको बताए । उनले भने, ‘यस्तो कार्य विद्यालयले गर्न पाउँदैनन् । पहिलादेखिको निर्णय हो । प्याब्सनअन्तर्गतका विद्यालयले त्यो बिक्री पनि गर्दैनन् ।  हाम्रो त स्पष्ट मान्यता छ ।’  

त्यसैगरी, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष गुणराज मुक्तान भन्छन्, ‘यो एकदमै राम्रो निर्णय हो । विद्यालयले अभिभावकलाई ग्राहक बनाउने होइन । विद्यालयले त ज्ञान बाँड्ने हो, ज्ञान प्रदान गर्ने ठाउँमा व्यापार गर्न थालेको देखिन्छ । यो नियन्त्रणका लागि यो गरिएको कदम राम्रो छ । अभिभावकले आफ्ना बच्चाका लागि विद्यालयबाट नै किन्नुपर्ने नभई खुला बजारबाट जहाँ सस्तो र सुलभ रुपमा पाइन्छ त्यहीँ किन्न पाउनुपर्छ ।’

सबै विद्यालयले शैक्षिक सत्र २०८१ का लागि पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरद्वारा सूचीकृत भएका थप पाठ्य सामग्री मात्र प्रयोग गर्नुपर्ने, अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा पाठ्यक्रम विकास केन्द्रद्वारा अनुवाद गरी प्रकाशन गरिएका वा पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक नै प्रयोग गर्नुपर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले प्रधानाध्यापकले स्वीकृत पाठ्यसामग्री प्रयोग नगरेमा तथा पोसाक, शैक्षिक सामग्रीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार