होला त माओवादीहरुबिच एकता?

डेली न्युजराप्ती       १९ बैशाख २०८१ ०६:३० मा प्रकाशित     164 No Comments

          अनिल सी

विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैशाख ४ गतेदेखि ९ गतेसम्म केन्द्रीय समितिको बैठक सम्पन्न गरेको छ । पार्टीका महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा भूमिकामा नै सक्षम अग्रदस्ता निर्माण गर्ने लक्ष्यसहित प्रस्ताव पेश गरिएको दाबी गरिएको छ । सक्षम अग्रदस्ता निर्माणसम्बन्धि योजनाहरूको मूल विषय यहाँ प्रस्तुत गरिनेछ ।

(क) पार्टी एकता:

नेपालको जनयुद्धले पूर्णविजयको शिखर चढ्दै गर्दा साम्राज्यवाद पूर्णस्तरमा प्रवेश ग¥यो । अमेरिकी नेतृत्वको रेन्जर बटालियन, ब्यारेकको अमेरिकी सैन्य किल्ला बन्दी, बर्दियामा भारतीय सैन्य बलद्वारा घेराबन्दी र आक्रमण त्यसका उदाहरण थिए । नेपाल गृहयुद्धबाट राष्ट्रिय मुक्ति युद्धमा प्रवेश गर्दै थियो । गृहयुद्धबाट राष्ट्रिय मुक्ति युद्धमा प्रवेश गर्दैगर्दा पार्टी, सेना र संयुक्त मोर्चामा विकास आवश्यक थियो । त्यसो हुन सकेन । साम्राज्यवादको प्रवेश भएको वा औपचारिक रुपमा प्रवेश हुन बाँकी रहेको स्थितिमा माओवादीले प्रतिध्रुवीय विश्वशक्ति निर्माण गर्न सकेको थिएन । त्यसकारण अब लड्न सकिन्न भन्ने निष्कर्षमा नेतृत्व पुग्यो । त्यो निष्कर्षसहित जनयुद्धको विसर्जन गरियो ।नेकपाले त्यसको विरुद्ध विद्रोह ग¥यो । ख्रुश्चेवदेखि देङ मण्डलीसम्मको संशोधनवादले माक्र्सवादका आधारभूत प्रस्तावनामाथि प्रत्यक्ष आक्रमण गथ्र्यो । पछिल्लो संशोधनवादले सबै क्रान्तिकारी पात्रहरुलाई स्विकार गर्दछ तर कार्यनीतिक रुपले प्रतिध्रुविय व्यवहार गर्दछ । २०६९ देखि ३०८० सम्मको भीषण सङ्घर्षको क्रममा नेकपाले पूर्व माओवादी घटकहरु बिचको राजनीतिक र वैचारिक श्रेष्ठता सावित गरिसकेको छ । पार्टी भनेको विचार र सङ्गठन दुबै कम्युनिस्ट माओवादी कार्यकर्ता, सहिद–वेपत्ता परिवार र घाइतेहरुले समीक्षा गरिसकेका छन् । एकीकृत जनक्रान्ति नै सही विचार हो भन्ने निश्कर्षमा पुगेका क्रान्तिकारी विचार र नेतृत्वकाे निर्माण एकताको आधार हो । एकताका आ–आफ्नै अनुभवहरु छन् । २०४७ सालको नेकपा (मशाल), नेकपा (चौम), सर्वहारावादी श्रमिक सङ्गठन र नेकपा विद्रोही मसालबिच भएको पार्टी एकतापछि क्रान्तिकारी विचार र नेतृत्व स्थापना भएको थियो । सोही अवधिमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बिच पार्टी एकता भयो । नेतृत्वमा मनमोहन अधिकारी आए । तर अधिकारी मानार्थ नेतृत्वकर्ताको रूपमा थिए । पार्टी नेतृत्व सारतत्वमा मदन भण्डारीकै हातमा थियो । यद्यपि अधिकारी र भण्डारीमा वैचारिक अन्तर धेरै थिएन । त्यो अलग प्रसंग हो । माले– माक्र्सवादीबिचको पार्टी एकतामा औपचारिक नेता मनमोहन अधिकारी भएपनि सारतत्वमा अथवा कार्यकारी नेतृत्वमा मदन भण्डारी थिए । उता २०४७/०४८ सालको मालेमावादीहरु बिचको एकतामा प्रचण्ड नै औपचारिक र कार्यकारी नेता थिए ।

(ख) माओवादीबिच एकता कि कम्युनिस्टबिच:

एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुन्छ भन्ने शास्त्रीय मान्यता छ । त्यस दृष्टिले सबै कम्युनिस्टबिच सहकार्य र पार्टी एकता आवश्यक हुन जान्छ । पूर्व माओवादी वा जनयुद्धबाट आएका घटकहरुबिच संस्कृति, भावना, मनोविज्ञान समान छन् । तर विचार फरक–फरक छन् । जनता र तलका कार्यकर्ता विचार भन्दा संस्कृति वा भावनामा परिचालित हुन्छन् । जसको कारण विचारमा समानता हुनासाथ वा नेताहरू तयार हुनासाथ एकता सहज हुन्छ । तर एमाले, मसाल, एसलगायत र पूर्व माओवादीबिच संस्कृति तथा भावना र विचार सबैमा लामो दूरी हुन्छ । जसको कारण नेताले चाहँदैमा पार्टी एकता हुँदैन । पहिलोमा एकता गर्न सजिलो फुट्न गाह्रो हुन्छ भने दोस्रोमा एकता कठिन विभाजन सहन हुन्छ । यो जमिनी यथार्थ हो । कांग्रेस र कम्युनिस्ट नेताहरुबिच गठबन्धन गर्दापनि मतदाताहरुले मत साट्न तयार नहुने चुनावी यथार्थमा त्यही जमिनी यथार्थले भूमिका खेलिरहेको हुन्छ ।

ग) सङ्गठन:

आज माओवादीहरुबिच एकता, कम्युनिस्टबिच एकता, देश भक्तहरुबिच एकता र जनएकता राष्ट्रिय सुरक्षाको लागि पनि अनिवार्य र निर्विकल्प भएको छ । नेताहरू विभाजित हुँदा जनता पनि विभाजित र निराश हुन्छ । २०३६/०३७, २०४६ र २०६२/०६३ सालका जन–आन्दोलनले मात्र होइन २०६९ सालपछि माओवादी नेताहरुबिचको विभाजनले त्यसको पुष्टि गरेका छन् ।जुझारु र बलियो कम्युनिस्ट पार्टी निर्माणको लागि विचार र नेतृत्वको जगमा ध्रुविकरण आवश्यक हुन्छ । क्रान्तिकारी ध्रुविकरणले संशोधनवाद र सबैखाले गैरसर्वहारा प्रवृतिको ढाड भाँचिन्छ । त्यसले एकताका लागि दबाब सृजना गर्दछ । क्रान्तिकारी प्रवृतिको मनोबल उच्च हुन्छ । पछिल्ला ध्रुविकरणले त्यसको झल्को दिएका छन् ।नेकपाको विचार, राजनीति र नेतृत्वको विजय वा श्रेष्ठतासावित भइसकेको छ । अव एकताको नाराद्वारा सङ्गठनात्मक श्रेष्ठतासावित गर्नु पर्दछ । समाजवादी मोर्चा र एकताको बहस चल्नासाथ इमान्दार नेता–कार्यकर्ता, जनयुद्ध दीक्षित–प्रशिक्षित जनता, देशभक्त शक्ति र क्रान्तिकारी पङ्ति उत्साहित भएको छ । तर उग्रदक्षिणपन्थी र साम्राज्यवाद परस्त प्रवृत्ति चिढिएको देखिन्छ । त्यसप्रकारको प्रवृति एकताको विरुद्ध देखिन्छ । त्यसले तोडफोडसम्मको हर्कद गर्न सक्छ । त्यसो भयो भनेपनि त्यसले क्रान्तिकारी प्रवृतिलाई नै प्रोत्साहित गर्नेछ ।सङ्गठनको प्रश्नमा लेनिनका अनुभव समृद्ध छन् । लेनिनले संशोधनवादी पार्टीहरुबिच पार्टी एकता गर्दा ‘जारका विरुद्ध बढ्ने’ एकमात्र शर्त राख्नु भएको थियो । आज नेपालमा अमेरिकी ‘साम्राज्यवादको विरुद्ध सङ्घर्ष’ एकमात्र शर्त हुन सक्छ । किनकी यो नाराले क्रान्तिकारी र देशभक्त शक्तिलाई एकातिर र दलाल शक्तिलाई अर्कोतिर ध्रुविकृत गर्न सक्छ ।

(घ) समाजवादी मोर्चा:

नेपालका पूर्व पञ्चहरू र राजावादी समूहले समेत समाजवादको वकालत गर्न थालेका छन् । त्यसले समाजवादको लोकप्रियतालाई नै पुष्टि गर्दछ । साम्राज्यवादका विरुद्ध लड्न र नेपाली विशेषताको समाजवाद स्थापना गर्न वा समाजवादको पक्षमा जनमत निर्माण गर्न समाजवादी मोर्चाको स्थापना गरिएको हो । यसले वामपंथीहरुबिचको दूरी घटाउने छ । साम्राज्यवादसँग दूरी बढाउने छ र कम्युनिस्ट जनमत बढाउने नै छ । साम्राज्यवादको चाकरी गर्ने प्रवृतिलाई कमजोर बनाउँदै लग्नेछ । कान्तिकारी नेतृत्वलाई स्थापित गर्नेछ । लेनिनले जार शासनविरुद्ध गैरकम्युनिस्ट दलहरुसँग संयुक्त मोर्चा गठन गर्दा सर्वहारा वर्गको नेतृत्व स्थापना गर्ने र बुर्जुवा नेतृत्वबाट देशको नेतृत्व खोस्ने प्रश्नसमेत उठाउनु भएको थियो ।

(ङ) संसदीय निर्वाचन:

निर्वाचनले रणनीतिको सेवा गर्ने परिस्थितिमा भाग लिने र नगर्ने परिस्थितिमा बहिष्कार गर्ने अनुभव लेनिनको रहेको छ । नेपालमा हामीले आफ्नै जीवनमा २०४८/०४९ मा चुनावमा भाग लियौं । २०५४ र २०६१/०६२ मा बहिस्कार गर्यौं । २०६४ मा भाग लियौं र २०६९/७० मा खारेज गर्यों । संसदीय निर्वाचनको सन्दर्भमा हाम्रो आफ्नै इतिहास र अनुभव समृद्ध छ । हामीले उचित ढङ्गले बुझ्न र लागू गर्न सक्छौं ।साम्राज्यवादलाई हामीले भूमण्डलीकृत चरित्र भएको पुँजीवाद भनेका छौं । भूमन्डलीकृत भनेको विश्वभरि भनेको होइन कि सर्वव्यापी भनेको हो । जो जनता भएका सबै ठाउँमा पुगेको छ । निर्वाचनमा कम्युनिस्ट र देशभक्त शक्तिहरुलाई पराजित गर्ने र एमसीसी पक्षधर शक्तिलाई जिताउने खेलमा साम्राज्यवाद आउनेछ । कम्युनिस्टलाई जिताउ, देश भक्तहरुलाई जिताउ, जनताको सेवा गर्न सरकारी संरचना र बजेट पूरा गर भन्नुपर्ने भएको छ । “मियाँ कि जुती, मियाँ कि शरपर’ गर्न जानिएन भने साम्राज्यवादको विरुद्ध घेरा फराकिलो पारेर लड्न सकिने छैन । अर्कोतिर देश एमसीसीको कारण झडपतिर गयो भने चुनावको विषय गौण बन्न सक्छ ।(

च) पार्टी संरचना:

युद्धकालमा युद्धको अनुकूल हुनेगरी र शान्तिकालमा सरकारी गैरसरकारी संरचना र राजनीतिक दलहरुसँग सहकार्य गर्न अनुकूल हुनेगरी सङ्गठनात्मक संरचना निर्माण गर्नुपर्छ । पार्टीमा लामो समयदेखि यो विषयमा बहस चलिरहेको थियो । हामी अहिले ब्युरो र बहु–जिल्ला खारेज गर्ने, प्रदेश संरचनामा जाने निर्णयमा पुगेका छौं । नेताहरू जनताको तल्लो तहसम्म जानेगरी नीति र विधि निर्माण गरिएको छ । जसले पार्टीमा गति पैदा गर्ने अपेक्षा छ ।

निष्कर्षः हामीले दर्शन, राजनीति र आर्थिक प्रश्नमा नयाँ अन्वेषण र प्रयोग गर्दै आएका छौं । माक्र्सवाद पूर्वसन्चित ज्ञानको अविछिन्न उत्तराधिकार हो । यसको विकास न निषेध गरेर हुन्छ न त स्थिर रहेर नै हुन्छ । यो प्रतिस्थापनको प्रक्रियाबाट अघि बढ्छ । जगत गतिवान छ र परिवर्तनशील छ । गति र परिवर्तन भएको कारण विकासमा छ । भौतिक जगतकै अभिन्न अङ्ग भएको कारण समाज विज्ञानमा पनि भौतिक जगतको नियम आधारभूत रूपले लागू हुन्छ । हाम्रो पार्टीका निर्णयहरुलाई त्यसरी नै बुझ्न आवश्यक छ ।

२०८१/०१/१४

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार