एकपटक विप्लवलाई हेरौं भन्ने जनताको चाहना छ : विषम

डेली न्युजराप्ती       २५ बैशाख २०८१ २२:१७ मा प्रकाशित     207 No Comments

हेमन्त प्रकाश वली ।

बैशाख २५ , लमही । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोष सी (विषम)ले एकपटक विप्लवलाई हेरौं भन्ने जनताको चाहना भएको ठोकुवा गर्नुभएको छ ।

आज मंगलबार लमहिको सिदार्थ होटलको सभाहलमा आयोजित प्रथम लुम्बिनी प्रदेश स्तरीय राजनीतिक- वैचारिक प्रशिक्षण एवम अभियान उद्घाटन कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता विषमले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

राजनीतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै नेता विषमले भने – ‘ नेपालमा विधमान संसदीय दलाल पुजीवादी व्यवस्था असफल सिद्ध भइसकेको छ । हामिले पहिल्यै भनेका थियौं कि यो व्यवस्थाले नेपाली जनता र राष्ट्रको प्रतिनिधित्व गर्न सक्दैन । यो व्यवस्था पटकपटक असफल सिद्ध भइसकेको छ । एकपटक विप्लवलाई हेरौं भन्ने जनताको चाहना छ , यहीँ व्यवस्थामा फस्नलाई होइन कि यो व्यवस्था भत्काएर समाजवादी व्यवस्थामा जानका लागि हामिले केन्द्रीय समितिको बैठकबाट नयाँ निर्णय सहित आएका छौँ ।’

हामिले ०८४ को निर्वाचनलाई संघर्षको मोर्चा बनाएर प्रयोग गर्ने निर्णय गरेका छौँ , नेता विषमले थप भने ‘ नेकपाले ०८४ को निर्वाचन प्रयोग गर्ने भनेपछी राजनीतिक वृत तरंगित भइरहेको छ । पुरानो नेतृत्वबाट धोका खाएको हुनाले अहिलेको नेतृत्वले दाँयाबाया गर्दा शरीर जिरिङ्ग हुने कुरा स्वभाविक हो तर आशंकालाई मुख्य बनाउनु हुँदैन । नेतृत्वले ल्याएको चिजलाई सकारात्मक कोणबाट हेर्नुपर्दछ । नकारात्मक कोणबाट मात्रै हेर्दा निराशा , कुण्ठा र आक्रोश पैदा हुन्छ । ढुक्क हुनुहोस , पार्टी नेतृत्वले धोका दिदैन । हामी समाजवादका लागि फराकिलो मोर्चा निर्माण गर्न चाहेका छौँ । अमेरिकी साम्राज्यवाद हामीसंग लड्न सिधै आइपुगेको छ तसर्थ साम्राज्यवादसंग लड्न हामिले पनि सोहि अनुरुपको बाटो तय गर्नुपर्ने हुन्छ ।’

हामीले नयाँ नयाँ रुपका संसोधनवाद देखेका छौँ , उनले भने– ‘यतिबेला बाङ्गोटिंगो बाटो हिड्नुपर्ने भएको छ । हामिले पार्टीले तय गरेको नयाँ बाटोमा उडान भरेका छौँ । हामी सहि ठाउँमा छौँ , गलत ठाउमा छैनौं । क्रान्तिको निम्ति कसैले औला ठड्याउने ठाउँ छैन । ढलिसकेको क्रान्तीलाई यहाँसम्म ल्याएका छौँ । विश्वमा ढलेका क्रान्ती उठेका छैनन् , नेपालमा हामिले उठाएका छौँ । प्रचण्डप्रती अगाध विश्वास थियो , किरणलाई पनि विश्वास गर्यौ । उहाँहरुकै नेतृत्वमा कम्युनिस्ट पार्टी पुनर्गठन गर्ने प्रयत्न गर्यौ तर सफल हुन नसकेपछि हामिले नयाँ विचार , दृष्टिकोण र लक्ष्यसहित अगाडि बढ्यौं ।’

विप्लवको नेतृत्वमा नयाँ विचारको विकास गरेका छौँ । एकीकृत जनक्रान्तीको विचार विकास गरेर आएका छौँ । दर्शन , राजनीति र अर्थशास्त्रमा नयाँ विकास गरेर सफल हुँदै आएका छौँ , नेता विषमले प्रष्ट पारे ।’

सामन्तवाद रुप फेरेर दलाल पुजीवादमा बदलिएको छ , नेता विषमले भने ‘देशको राजनीति दलाल पुजीवादको कब्जामा छ । समृद्धिको बाधक दलाल पुजीवाद बनेको छ । दलाल पुजीवादको विकल्प नेपाली बिशेषताको समाजवाद हो । नेपालमा अमेरिकी साम्राज्यवाद आँफै लड्न आएको छ । अहिले नेपाली जनताको मुख्य दुश्मन अमेरिकी साम्राज्यवाद हो । दुश्मन बदलियो भने मित्र शक्ति बदलिन्छ । अहिले हामिले चार मित्र शक्ति , चार मित्र वर्ग र ६ मित्र समुदायको अवधारणा सहित जनताको एकीकृत बलद्वारा दलाल पुजीवादलाई परास्त गर्नेगरी योजना बनाएका छौँ ।’

माओवादी धाराका बिचमा एकता गर्ने हाम्रो पार्टीको प्रस्ताव छ , उनले फेरि भने – ‘ संसदवादका लागि एकता गर्ने भनेका होइनौं एकता क्रान्तीका लागि हुनुपर्छ । कम्युनिस्ट जनमत सुरक्षीत गर्नका लागि कम्युनिस्टहरुको बृहत् एकताका लागि पनि पहल गर्नुपर्छ । नेपालबाट कम्युनिस्ट जनमतलाई निस्तेज पार्ने अमेरिकी षड्यन्त्रलाई सफल हुन दिनुहुँदैन । हामिले प्रचण्डको डिफेन्स गरेका होइनौं , जनयुद्धको डिफेन्स गरेका हौं । साम्राज्यवादले जनयुद्धलाई अपराधिकरण गर्न प्रचण्डलाई अपराधी करार गर्न खोजेपछी डिफेन्स गरेका हौं , त्यो हामी सधै गर्छौं ।’

जनयुद्ध सिनेमाको पहिलो सिन हो भने एकीकृत जनक्रान्ती सिनेमाको पछिल्लो सिन भएको नेता विषमको भनाई थियो ।

नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रीय समितिको पाँचौ पुर्ण बैठकले ०८४ को संसदीय निर्वाचनलाई प्रयोग गर्ने , माओवादी धाराका बिचमा एकता गर्ने , पार्टीलाई प्रदेश संरचनामा लैजाने लगाएतका निर्णयहरु गरेपछी यतिबेला ७ वटै प्रदेशमा प्रदेशका बैठक एवम प्रशिक्षण कार्यक्रमहरु चलिरहेका छन् ।

सोही सन्दर्भमा नेकपा लुम्बिनी प्रदेशले मंगलबार लमहिमा प्रदेश अन्तर्गतका करिव ३०० बढि जिल्ला स्तरीय नेताकार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो ।

यस्तै मंगलबार आयोजना गरिएको राजनीतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा नेकपाले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका इन्चार्ज सेक्रेटरीहरुलाई पार्टीको झण्डा हस्तान्तरण गर्दै पार्टीको ६ महिने आवधिक योजना अन्तर्गतको  ‘पार्टी संगठन सुदृढ एवम जनसम्बन्ध विस्तार अभियान’को समेत उद्घाटन गरेको छ ।

पार्टीका स्थायी कमिटी सदस्य विषम सीले सबै जिल्लाका इन्चार्ज सेक्रेटरीहरुलाई पार्टीको झण्डा हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका हुन् ।

६ महिने अभियानलाई ३/३ महिनामा बिभाजन गरिएको पार्टीले जनाएको छ ।

यस्तै नेकपा लुम्बिनी प्रदेशले पार्टीको नीति अनुसार प्रदेश संरचना अनुरुप प्रदेशको प्रथम बैठक समेत सम्पन्न गरेको छ ।

लुम्बिनी प्रदेशको इन्चार्ज पार्टीका स्थायी कमिटी सदस्य विषम सीले गर्ने भएका छन् ।

प्रदेशको प्रथम बैठकले प्रदेशका १२ वटै जिल्लामा जिल्ला इन्चार्ज र सेक्रेटरीहरुको समेत जिम्मेवारी ठोस गरेको जानकारी दिएको हो ।

नेकपा लुम्बिनी प्रदेश इन्चार्ज विषम सीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पिबिएम एवम केन्द्रीय स्कुलिङ बिभाग प्रमुख भेषराज सी , पार्टीका पिबिएम एवम न्याय बिभाग प्रमुख शितल सी , पार्टीका केन्द्रीय सल्लाहकार सन्तोषी सी , पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी , सहिद परिवार संगठनका केन्द्रीय सचिव जया सी , सहिद परिवार एवम मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य मालती सी , केन्द्रीय समिती एवम केन्द्रीय प्रतिनिधि  समितिका दर्जन बढी नेताकार्यकर्ताको आतिथ्य रहेको थियो ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य विषम सी , पार्टीका पिबिएमहरु  आदर्श सी , शितल सी , विनोद सी , भेषराज सी लगाएतले प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए ।

नेकपाका पिबिएम वसन्त सी (प्रज्वलन)ले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पार्टीका पिबिएम सन्जिव सीले  व्यक्त गरेका हुन् ।

प्रशिक्षण कार्यक्रममा बेलाबेलामा सामना परिवार लुम्बिनीले आफ्नो सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए ।

प्रशिक्षणमा पार्टीका पिबिएम रक्तिम सीले पार्टी केन्द्रीय समितीको पाँचौ बैठकको सर्कुलर / परिपत्र एवम पार्टीको लुम्बिनी प्रदेशको प्रथम बैठकको सर्कुलर एवम परिपत्र वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार