आज असार १५ :राष्ट्रिय धान दिवस मनाइँदै

डेली न्युजराप्ती       १६ असार २०८१ ०७:३४ मा प्रकाशित     42 No Comments

असार महिना ‘मानो रोपेर मुरी फलाउने’ दिन। अर्थात आज असार १५, धान दिवस
‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्‍याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।

आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।

जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरुको भनाइ छ ।

नेपालीहरु दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ ।  सरकारले भने धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ ।

विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् । एशियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एशियामै पर्छन् ।

त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार