जेठ ७ , तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टीले तुलसीपुरमा समाजवादका लागि टोलटोलमा अभियान चलाउने निर्णय गरेको छ ।
सोमबार तुलसीपुर स्थित पार्टी कार्यालयमा बसेको तेस्रो आवधिक योजनाको पार्टीको तुलसीपुर नगर कमिटीको प्रथम पुर्ण बैठकले उक्त निर्णय गरेको हो।
पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा बसेको बैठकले तुलसीपुरका प्रत्येक टोलटोलमा समाजवादका लागि राजनीतिक अभियानहरु सञ्चालन गर्ने निर्णय गरेको नेकपाका तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी भुवन सीले जानकारी दिनुभएको छ ।
यस्तै बैठकले पार्टीका सबै तहका समितीहरु गठन / पुनर्गठन गर्ने , समाजवादका लागि अन्तरक्रियाहरु सञ्चालन गर्ने , संगठन सुदृढ एवम जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने लगाएतका निर्णयहरु गरेको जनाइएको छ ।
बैठकले तुलसीपुरमा देखिएका विकृती , विसंगती , व्यथिती , सामाजिक विभेद , भ्रष्टाचार , विभिन्न प्रकारका अनियमितता विरुद्ध संघर्ष चर्काउने निर्णय गरेको नेकपाले जनाएको छ ।
बैठकमा बोल्दै बैठकका प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य नेता सविनले भने – ‘ नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला भइसक्यो । यतिबेला संसदवादी व्यवस्था र संसदवादी दलहरुलाई जनताले बिश्वास गर्ने अवस्था छैन् । हाम्रो पार्टीका महासचिव विप्लव नै अबको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने नेताका रुपमा जनताले सुझाव दिइरहेका छन् । विप्लव नै जुझारु , सक्षम , इमानदार , नैतिकवान नेताका रुपमा स्थापित हुनुहुन्छ । सबै नेताहरु गन्हाएका छन् , सबैलाई केही न केही भ्रष्टाचारका चार्ज लाईरहेका छन् , यो कुरा जनताले बुझेका छन् । त्यो मात्रै होइन राजनीतिक दृष्टिकोणका हिसाबले पनि नेकपाको विकल्प छैन् । माओवादी धाराका बिचमा एकता गर्ने हो तर नीति र नेतृत्व हाम्रो हुनुपर्छ । अबको समाजवादी आन्दोलनको नेतृत्व विप्लवले गर्नुपर्दछ ।’
हामी प्रचण्डको लाईनमा आएका होइनौं , उनले थप भने, ‘ अहिले बजारका केही बकम्फुसे संसदवादीहरुले हामीलाई प्रचण्डको लाईनमा आए भनेर प्रचारबाजि गरेको देखियो , यो कुरा सत्य होइन बरु प्रचण्ड हाम्रो लाइनमा आएका हुन् , समाजवादी लाइनमा आएका हुन् । हामी समाजवादको पक्षमा छौँ , त्यो लाइन छोडेका पनि छैनौं । अहिले हामिले बैठकवाट माओवादी धाराका बिचमा एकता गर्ने र ०८४ को निर्वाचनमा भाग लिने भनेका छौँ , यो सुन्दा केही मान्छेहरु अत्तालिएका छन् । हाम्रो यो निष्कर्ष अहिलेको परिस्थितिको बोध गरेर गरेको हो । साम्राज्यवाद नेपालको कम्युनिस्ट जनमतलाई निस्तेज गर्ने षड्यन्त्र सहित आईरहेको छ , त्यस्को प्रतिरोध गर्न हामि सबै मोर्चाबाट लड्न जरुरी छ । चुनावलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा प्रयोग गर्ने हो ।’
अमेरिकाले संसारभरी युद्ध मच्चारहेको छ , उनले थपे, ‘ अहिले अमेरिकाले संसारभरी नरसंहार मच्चाएको छ । रुस-युक्रेनको लडाइ होस वा इजरायल – प्यालेस्टाइनबिचको लडाई होस ती सबै युद्धहरुमा अमेरिकाको हात छ । अमेरिकाले प्रजातन्त्रको नाममा नरसंहार मच्चाइरहेको छ ,ब्यो कुरा सबै जनतालाई बुझाउन आवश्यक छ । विश्व शान्तीका लागि समाजवाद स्थापनाको नारा सहित अब नेकपा जनतामा जानुपर्छ । अमेरिकाको विरुद्ध अब संसारभरीका कम्युनिस्ट , समाजवादीहरु एकजुट हुन अनिवार्य छ ।’
संसदीय सत्ता टिकेन , यो कुरा छर्लङ्ग भइसक्यो , नेता सविनले भने – ‘ संसदीय सत्ताको लामो अभ्यास भइसक्यो तर यो पटकपटक असफल साबित भइसक्यो । अब यो व्यवस्थाको विकल्प दिनुपर्छ । संसदीय सत्ताको विकल्पमा अहिले हामिले नेपाली बिशेषताको समाजवादी सत्ता प्रस्ताव गरेका छौँ , यो प्रस्तावमा सबै राजनीतिक दलहरु यसमा सहभागी भएर बहस गरौं भन्ने हाम्रो कुरा छ । यो सत्ताका कारण नेपाली जनताले अनेकौं दुख भोगिसके , जनताका लागि राजनीति गरेको हो भने समाजवादमा जाऔं ।’
नेता सविनले पार्टीको केन्द्रीय समितीको बैठकले गरेका निर्णय अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति गहिरो बोध गरि गरेकाले आम पार्टी कार्यकर्तालाई गहिरो जिम्मेवारी बोधका साथ जातासंग जोडिन आग्रह गरेका थिए ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय सल्लाहकार सदस्य सुन्दर सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य विकाश सी , युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जिवनी सी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी तुलसीपुरका सेक्रेटरी भुवन सीको सञ्चालन तथा अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सल्लाहकार कमिटीका सदस्य सुन्दर सी , नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यहरु एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज विकाश सी , शान्तिनगर गाउँकमिटीका इन्चार्ज जनक सी , दंगिशरण गाउँकमिटीका इन्चार्ज जिवनी सी , नेकपा घोराहीका सेक्रेटरी महान सी लगाएतको आतिथ्य रहेको थियो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.